टोकियो / नेपाली साझा समाज जापानको आयोजना तथा गुम्बाकेनको ओइजुमि माची (ओइजुमि नगर कार्यालय)को सहआयोजनामा आगामी सेप्टेम्बर २८ र २९ तारिख २ दिने ‘नेपाली फेस्टिबल २०१९, गुम्बा जापान’ आयोजना हुने भएको छ।
नेपाली कला संस्कृतिको प्रचार प्रसार गरी नेपालको पर्यटन प्रवर्धन गर्ने तथा नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पराउने उद्देश्यले यस फेस्टिभल आयोजना गर्न लागिएको नेपाली साझा समाजले जानकारी दिनु भयो ।
लामो समय जापान बस्दा धेरै जापानी साथीभाइहरु भए । तर कति जापानी साथीहरुलाई नेपाल र नेपालीको बारेमा कुनै जानकारी नभएका पाए । ती र तस्ता साथीहरुलाई नेपाल, नेपाली भाषा, कला संस्कृतिको बारेमा जानकारी गराउने नेपाली साझा समाज जापानका अध्यक्ष बुद्धि बहादुर शेरचनले जानकारी दिनु भयो ।
दुई दिनसम्म सञ्चालन हुने फेस्टिभलमा नेपाली पर्यटनसँग सम्बन्धित विभिन्न जानकारी प्रदान गरिनुका सार्थ नेपाली खाना, संस्कृति, भेषभूषा, गर गहना, बाजागाजा, र केही पुराना परम्पराहरुलाई प्रदर्शन गरिने छ । नेपाली तथा जापानी कलाकारहरुको सांगीतिक तथा साँस्कृतिक कार्यक्रम समेत प्रदर्शन हुने छ ।
जापानका ठूला शहरहरुमा विभिन्न नेपाली कार्यक्रमहरु आयोजना हुने गरे पनि गुम्बा केनमा भने यो पहिलो कार्यक्रम हो । यो कार्यक्रम जापानको सरकारी कार्यालय ९स्थानीय निकाय० सहआयोजक भई आयोजना भएको पहिलो कार्यक्रम पनि हो ।यस कार्यक्रमले जापानी तथा जापानमा रहेका अन्य देशका नागरिकहरुलाई नेपालको बारेमा जानकारी गराउन सहयोग गर्ने छ ।
कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि जापानमा रहेका विभिन्न संघसंस्था, उद्योगी व्यापारी तथा सम्पूर्णलाई सल्लाह, सुझाब, सहयोग र सहभागिताको आह्वान गरिएको छ ।

















