जापानमा एकै वर्ष ८३२ जनाको भिषा रद्द

176

-श्याम क्षेत्री

टोकियो / जापानले बिदेशी नागरिकमाथि कडाई गर्ने क्रममा एकै वर्ष ८ सय ३२ जनाको भिषा रद्द गरिदिएको छ । यसरी भिषा रद्द गरेर आफ्नो देश फर्काईएकामा आधा बढी विद्यार्थीहरु पर्दा ६२ जना नेपाली यस्तो कारवाहीको शिकार बनेका छन् ।

जापानी समाचार संस्था एनएचके टेलिभिजनका अनुसार जापानको अध्यागमन विभागले सन् २०१८ मा ८३२ जना बिदेशीको भिषा रद्ध गरेको तथ्याङ्क मंगलबार सार्वजनिक गरेको छ ।

अध्यागमन विभागले प्रदान गरेको स्टाटस ‘अनुमति’ भन्दा फरक क्रियाकलापहरु गरेको भन्दै गत बर्ष ८३२ जनाको भिषा रद्ध गरिएको जापानको कानुन मन्त्रालयलाई उद्धृत गर्दै यहाँको माईनिचि सिनबुनले समाचार लेखेको छ ।

मन्त्रालयका अनुसार जापानले नियम बिपरित काम तथा रोक लगाईएका अन्य क्रियाकलाप गर्नेलाई भिषा रद्द गरेर उनिहरुको देश फर्काउने निति सन् २००५ बाट अवलम्बन गरेको थियो ।

अध्यागमन ब्यूरोले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार भिषा रद्द भएर फर्काईएकामा विद्यार्थीहरुको संख्या ४ सय १२ रहेको छ । सन् २०१७ मा यस्तो संख्या केवल २ सय ४० रहेको थियो ।

यसैगरि प्राविधिक प्रशिक्षणमा आएका मध्ये १५३ जना समेत फर्काईएका छन् । अघिल्लो बर्ष यो संख्या १४५ रहेको थियो ।

जापानी महिला वा पुरुषसँग विवाह गरेर बस्दै आएका मध्येपनि ८० जना बिदेशीहरु उनिहरुकै देश फर्काईएका छन् । यसरी फर्काईएका मध्ये अधिकाशंले जापानमा बस्नकै लागि नक्कली विवाह गरेको पाईएको जापानी अधिकारीहरुलाई उदृत गर्दै समाचार संस्था जापानटाईम्सले उल्लेख गरेको छ ।

यसरी फर्काईएका मध्ये केहीको भने जापानी श्रीमती वा जापानी श्रीमानबाट सन्तान समेत भईसकेको जनाईएको छ । यसैगरि विद्यार्थी तथा अन्य प्रयोजनका लागि जापान आएर काम गर्ने अनुमति लिएकामध्येपनि ६९ जनाको भिषा रद्ध गरेर उनिहरुको देश फर्काईदिएको जापानी अधिकारीहरुले जनाएका छन् ।

गत बर्ष भिषा रद्द गरेर फर्काईएकाहरुमा विद्यालय छोडेर भागेका, प्राविधिक प्रशिक्षणमा आएर पनि प्रशिक्षणमा नगई पार्ट टाईम काम गर्ने गरेको र अध्यागमनले स्वीकृत दिएको भन्दा फरक काम गरेको तथा गलत प्रयोजनको लागि नक्कली विवाह गरेकाहरुको भिषा रद्ध गरिएको अध्यागमन ब्यूरोले जनाएको छ ।
भिषा रद्ध हुनेहरुको संख्या अहिले सम्मकै उच्च हो । सन २०१६ मा २९४ र सन २०१७ ३८५ जनाको भिषा रद्ध गरिएकोमा सन २०१८ मा ८३२ जनाको भिषा रद्ध गरिएको समाचारमा उल्लेख गरिएको छ ।

समाचारमा जनाईए अनुसार भियतनामका सबैभन्दा बढी ४१६ जनाको भिषा गत बर्ष रद्ध भएको थियो ।

त्यसैगरी चिनियाँ नागरिक १ सय ५२ जनाको भिषा रद्द गरिंदा नेपाली नागरिक ६२ जनाले गत बर्ष भिषा गुमाएर नेपाल फर्कनुपरेको छ ।

यसरी भिषा गुमाउनेको चौथो नम्वरमा फिलिपिनीहरु रहेका छन् । ४३ जना फिलिपिनोहरुले नियम बिपरित कामकाज गरेको पाईएपछि भिषा रद्ध गरिएको तथ्याङ्क अध्यागमन ब्यूरोले मंगलबार सार्वजनिक गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here