गणतन्त्र नरुचाउनेहरूले आधा शताब्दी सडक उचाल्ने हिम्मत गर्नुपर्छ

32

– चन्द्रप्रकाश बानियाँ

हाम्रो समाज कता जाँदैछ ? उकालो उक्लँदै छ कि, ओरालो झर्दै छ ? भनेर जान्नबुझ्न धेरै माथापच्ची गर्नुपर्छजस्तो लाग्दैन । धेरै अध्ययन, चिन्तन र अनुसन्धान गरिरहनु पर्दैपर्दैन । सञ्चारको सशक्त माध्यमको रूपमा द्रुत गतिमा सिँढी चढ्दै गरेको समाजिक सञ्जालमा आउने वार्तालाप, सम्प्रेषण र टिप्पणीहरूका बहुरङ्गी रूपहरू हेरेपछि ज्ञानप्राप्त भैहाल्छ । मर्यादा, शालीनता, भ्रद्रता, र संयमका सारा सीमा हाम्रो समाजले भत्काइसकेजस्तो लाग्छ । हाम्रो समाज बन्धनमुक्त भएर उच्छृङ्खलतारूपी सगरमाथाको उचाई छुने अभियानमा छ भन्नु बढेता हुदैन । सामाजिक सञ्जालको माध्यमबाट सर्वाङ्ग नाङ्गै सार्वजनिक हुन थालेको छ । लोकलज्जाको वस्त्राभूषण परित्याग गरेर आदिम जङ्गली रूपमा अवतरित हुँदैछ । यसो भनिरहँदा यतिखेर चर्चामा रहेको “शालिकराम पुडाशैनीको आत्महत्या प्रकरण” तिर संकेत गर्न खोजेको भने होइन । त्यो घटना त दर्जनौ मध्येको एउटा मात्र हो । एउटा आश्चर्य मान्नुपर्ने विषय के रहेको छ भने त्यस घटनाले नाङ्गाहरूको भीडमा विद्वान, बुद्धिजीवि, लेखक, पत्रकार, साहित्यकार, वकिल, सामाजिक अभियन्ता, नागरिक समाजका अगुवालगायत राजनीतिक दलहरूलाई समेत बाढीले झंै लतारेर एउटै कित्तामा सामेल गरिदिएकोे छ ! को असल, को खराब भनेर बिन्न अथवा छुट्याउन नसकिने गरी एउटै भाँडोमा गिजोलिदिएको छ । गुन्द्रुकझंै एउटै ढुङ्ग्रोमा खाँदेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको एउटा त्यस्तो अन्ध भीड तयार भएको छ, जसले “सत्य कुरा बोल्न, लेख्न हँुदैन” भन्ने अनौठो आग्रह राख्दछ । आफू वा आफ्नो समूहले भनेको कुरा सम्पूर्ण सत्य हो भनेर आफूले मान्ने मात्रै होइन, कसैले पनि त्योभन्दा भिन्न विचार अभिव्यक्त गर्न पाउँदैन भन्ने लठैत चिन्तन पाल्दछ । आग्रह पूर्वाग्रह राखे मात्र त ठिकै थियो अरुलाई अन्धाधुन्ध गाली गलौज गर्न पनि चुक्तैन । वहिष्कारको आन्दोलन चलाउँछ । आफूले सत्य पचाउन सक्तैन तर आग्रह राखेर अरुलाई गलत ठह¥याउन न्वारानदेखिकोे बल प्रयोग गर्दछ । हो, सर्वज्ञानी कोही पनि हुँदैन । गल्ती कमजोरी अरुका पनि हुन्छन्, उसका पनि हुन्छन्, सबैका हुन्छन् । कुनै मानिस कुनै एउटा विषयमा गलत ठहर्दैमा ऊ सबै विषयमा घामट नहुन सक्छ । एउटामा गलत भए पनि अर्को विषयमा सही हुन किन सक्तैन ? त्यसैले व्यक्तिको अनुहार, आकृति वा संलग्नता हेरेर होइन, विषयगत आधारमा हेर्ने, पर्गेल्ने र मूल्याङ्गन गर्नुपर्ने हो । त्यस्तो अभ्यास हाम्रो समाजले गर्दै गर्दैन । गर्नुपर्ने आवश्यकतै देख्दैन । आफैले नितान्त आग्रह पूर्वाग्रहका आधारमा कित्ता निर्माण गर्छ र अर्कोले उठाएको विषयलाई त्यही मुढाग्रहको चश्माले हेर्छ । अनि आफैले तयार गरेको पर्खालले विषयलाई हेर्न बुझ्न कठिन बनाइ दिन्छ । अपारदर्शी चश्मा प्रयोग गरेर कागजमा लेखिएको विषय कसरी पढ्न र बुझ्न सकिन्छ र ?

दुईचार दिन अगाडिको घटना हो । जनधारणा साप्ताहिकका सम्पादकसँग म आफै फेसबुकमा जिस्कँदै थिएँ । विषय के थियो कुन्नी ? जे होस् विषय मेरो रुची र सरोकारको थिएन । मेरो प्रयत्न पाण्डेजीलाई जिस्काउने, गिज्याउने, इरिटेड गर्ने र उत्तेजित बनाउने थियो । त्यसो गर्न सकिन्छ कि भन्ने प्रयत्न थियो । उनले प्रदर्शन गरेको अस्वाभाविक धैर्यले मलाई झन् झन् उक्साइरहेको थियो । त्यही बेला अचानक एकजना अपरिचित मान्छे बीचमा छि¥यो । उसको उपस्थिति अनपेक्षित थियो तापनि गर्न सकिने के थियो र ? सार्वजनिक स्थलमा त्यस्तो भैहाल्छ र घुसपैठलाई स्वाभाविक मान्नुपर्छ । उसको उपेक्षा गर्नुको विकल्प थिएन । उसले मेरा बारेमा गरेको टिप्पणी देखेर भने मनमनै हाँसो उठ्यो । मेरो स्मरणबाट हराएको कतै मेरो कोही पूर्वपरिचित पो रहेछ कि भनेर उसको प्रोफाइल खोजी हेरो । सुदूर पश्चिमतिरको कतै साइनो सम्बन्ध जोडिने वा जानपहिचान हुने सम्भावनै नरहेका युवा रहेछन् । मान्छे पढेलेखेकै हुनुपर्छ भनेर अनुमान गर्नै प¥यो । गाली गलौज गर्नका लागि उनको नेपाली भाषाको शब्दभण्डार अलि कमजोर जस्तो लाग्यो । त्यसैले उनी बोर्डिङ्ग स्कुलको उत्पादन हुनुपर्छ भनेर पनि अनुमान गरो । किनकि उनले मलाई ‘स्वास्नीपीडित’ को संज्ञा दिएका थिए ।

मलाई लागेको कुरा के मात्रै हो भने हामी दुई परिचितहरू बीचको छेडखानीमा अनाधिकार हस्तक्षेप गर्न किन तम्सनु परेको होला ? नबोलाइएको पाहुनो ! त्यो पनि उच्छृङ्खल भन्न मिल्ने चरित्रको देखिएपछि उनको बारेमा खोजीपाँसुली गर्न मन लागेकोे हो । उनी पनि सम्पादक पाण्डे प्रवक्ता रहेको ‘राष्ट्रिय पुनर्जागरण अभियान’ नामक संस्थाका सदस्य रहेछन् । मसँग नभए पनि पाण्डेजीसँग उनको साइनो जोडिँदोरहेछ । उनलाई पाण्डेजीको माया लाग्यो होला, दया लाग्यो होला, सहानुभूति जाग्यो होला त्यसैले हामी दुईबीच हाम्फाल्ने धृष्टता गरे होलान् । मलाई उनको चेष्टाप्रति दया लागेको कुरा त के हो भने हामी दुई बीचको वार्तालाप कुनै युद्ध पनि थिएन, फागू पनि थिएन । वाकयुद्ध नै हो भन्ने ठम्याएको भए पनि बीचमा मध्यस्थता गर्न खोज्नु स्वाभाविक हुन्थ्यो । पाण्डेजीलाई लज्जाबोध हुनेगरी उनको पक्षमा लागेर मलाई अपशब्द प्रयोग गर्नुपर्ने जरुरत के थियो र ? विचराको गल्ती पनि होइन, हाम्रो समाजले दिएको संस्कार हो त्यो ।

पाण्डेजी र मेरोबीचको मित्रताको आयु उक्त पाहुना मित्रको आयुको झण्डै दुईतीहाई वर्ष जति होला भन्ने कुरा विचरालाई के जानकारी होस् त ? कुनै तेश्रो व्यक्तिमार्फत कुनै कालखण्डमा पाण्डे र मबीच चिनापर्ची भएको थियो । विचारका दृष्टिले सायद जुनवेला चिनाजानी भयो, त्यतिखेरै देखि हामी भिन्न कित्तामा थियौं । वैचारिक भिन्नताले, दृष्टिकोणको अन्तरले र संलग्नताको विपरितताले हाम्रो मित्रतालाई कहिल्र्यैं विथोलेन । माओवादी जनयुद्धकालमा हामी विचारका दृष्टिले फरक थियौं र पनि एकै ठाउँमा थियौं । ज्ञानेन्द्र शाहले टेकओभर गर्दा हामी भिन्न कित्तामै थियौं र पनि एकै ठाउँ थियौैं । पछिल्लो नाकावन्दीको बेला ओली अडानलाई हेर्ने विषयमा फरक कित्तामा थियौं र पनि एकै ठाउँमा थियौं । तत्कालीन माओवादी पार्टी विभाजनलाई हेर्ने दृष्टिकोणमा हामीबीच भिन्नता थियो र पनि हामी एकै सँगसँगै थियौं । आज गणतन्त्रलाई हेर्ने बुझ्ने विषयमा हामीबीच फरक धारणा छ र पनि एकै ठाउँमा छौं । साँचो कुरा गर्ने हो भने ‘विचारले मानिसलाई निकट बनाउँछ’ भन्ने भनाई हामी दुईबीचको मित्रतामा पूरै गलत सावित हुन्छ । त्यसैले कहिलेकहीँ फेसबुकमा पनि फरक कित्तामा उभिएर रमाइलो गरिन्छ । गर्न मनलाग्छ । हाम्रो त्यही फेक युद्धमा एउटा अपरिचितले हाम्फाल्दा रमाइलै भयो ।

यतिखेर नेपालमा सम्पादक मित्र पाण्डेजीसमेतले स्थापना गर्नु भएको ‘पुनर्जागरण’ जस्ता अनेकौं खुद्रे पसलहरू खुलेका छन् । र सबै पसलहरूको हालत ‘नाङ्ले पसल’ भनिदिँदा अनुपयुक्त हुनेजस्तो पनि लाग्दैन । फेसबुके अभियानजस्तै त्यस्ता संगठनहरूको आधार नितान्त छिपछिपे रहेको देखिन्छ । संगठनलाई ‘होहल्ला’ गर्ने समूहको रूपमा बुझ्ने मात्रै होइन, उनीहरूको रहर ‘संंगिनीको देख्छु, रहरले मर्छु’ भन्ने लोकोक्तिबाट अभिप्रेरित भएजस्तो लाग्छ ।

त्यही सन्दर्भमा अर्को एउटा प्रसङ्ग कोट्याउन मनलाग्यो । ‘जरोकिलो’ नामको संस्थाका प्रणेताले एउटा अन्तर्वातामा भनेका थिएः–‘भारतमा ४० बर्षमा बल्ल सफल भयो, हाम्रो अभियान त भर्खरै स्थापना भएको छ । अहिले अस्तित्व देखाउन कठिन परे पनि भविष्यमा चमत्कार गर्ने छ ।’ अर्थात उनले भारतमा साम्प्रदायिक कट्टर हिन्दूवादी संगठन भनेरै चिनिने ‘आरएसएस’लाई आदर्श मानेर उसैको सांगठनिक वैचारिक सिद्धान्त अनुशरण गरेको अर्थात चोरीको दर्शन अवलम्बन गरेको कुरा आफैले स्वीकारेका थिए । उनीसँग पनि कहिलेकहीँ फेसबुकमार्फत सम्वाद हुन्थ्यो । बेला बेलामा हाम्रा वर्तमान प्रधानमन्त्रीले भन्ने गरेझै ‘वैदिक दर्शन’मा आफ्नो अर्थात नेपालीहरूको जातीय उत्तराधिकार रहेको दावी उनले पनि गर्ने गर्थे । त्यस्तो भ्रम धेरैमा हुन्छ र त्यस्तो भ्रमको खेती गरिन्छ भन्ने कुराको गतिलो उदाहरण मोहन वैद्य किरणको ‘हिमाली चिन्तन’ नामको दार्शनिक पुस्तक नै छ । पाण्डेजीसँग जस्तै एकदिन जरोकिलोका हाकिमसँग मैले ‘तपाई खस हो कि आर्य ?’ भनेर सोधेको थिएँ । उनले त्यसको जवाफ दिने हिम्मत गर्दै गरेनन् । बरु त्यसदिनदेखि मेरा स्टासटसहरूमाथि अर्को कोणबाट हमला गर्न थाले । मलाई खृष्टियानको एजेण्ट भने, डलरवादी भने, कम्युनिष्ट राक्षस भने, विभेदवादी भने, के के भने भने ! मेरा विरुद्धमा खुब प्रचारमा जुटे । उनको आक्षेप र आरोपले मेरो छाला खुइलिनेवाला थिएन । बरु उनको बौद्धिक दरिद्रताको पोल खुल्यो । आजकाल उनीसँग दोहोरो सम्वाद हुँदैन । मैले उपेक्षा गर्न थालेपछि उनी पनि थाके सायद । तर उनलाई अन्फ्रेण्ड गरेर उनका स्टाटसबाट मनोरञ्जन लिने अवसरबाट आफूलाई वञ्चित भने गरेको छैन । एक्लै हाँस्नुको मजा बेग्लै हुन्छ ।

पाण्डेजीको राष्ट्रिय पुनर्जागरण अभियान नामक संगठनले भ्रष्टाचारविरुद्ध आन्दोलनको निर्णय गरेको रहेछ । हो, देशमा भ्रष्टाचारले सिमा नाघिसकेको छ भन्ने कुरा हजारप्रतिशत सत्य हो । खरेल थरका एकजना सरकार पक्षका सांसदले नै ‘भ्रष्टाचार कहाँ छैन ?’ भनेर संसदमै प्रश्न गरेका थिए ! भ्रष्टाचारबाट त भ्रष्टाचार विरुद्ध आन्दोलन गर्छौं भन्ने संस्थाहरू पनि मुक्त छैनन् होला ? महामारी सावित भैसकेको यो रोगबाट मुक्त नहुँदासम्म देशले प्रगतिको बाटो समात्न सक्तैन । त्यसका विरुद्ध संगठित अभियान चलाउनु आवश्यक छ । तर आन्दोलनमा उत्रने पुनर्जागरणजस्ता शिशु संस्थाहरूको निर्णय भने हावादारी नै हो भन्न मन लाग्यो । असंगठित आन्दोलन पानीको फोकाजस्तो हुन्छ । गुठी विधेयकविरुद्ध माइतीघर मण्डलामा उत्रियो भन्दैमा सरकारविरुद्धका सबै इस्युमा काठमाडौं त्यसरी नै उभिन आइदिदैन । यतिखेर रवि लामिछानेको समर्थनमा सडकमा देखिएको भीड पनि उनलाई थप सातदिन हिरासतमा राखिदिने हो भने दुला पस्छ । भ्रष्टाचार विरुद्ध अभियान चलाउने कुरा एउटा हो, आन्दोलन गर्ने कुरा अर्को हो । आन्दोलित हुनु र आन्दोलन गर्नु पनि फरक कुरा हो । आन्दोलित व्यक्ति–व्यक्ति हुन सक्छन्, आन्दोलन गर्न संगठित शक्ति चाहिन्छ । गणतन्त्र स्थापना गर्न नेपाललाई त्यसै ७० वर्ष लागेको होइन । यदि गण्तन्त्रलाई हुत्याउने मनसायले आन्दोलन गर्ने हो भने अर्को आधा शताब्दी सडकमा अडिने हिम्मत गनुृपर्छ । जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here