– चन्द्रप्रकाश बानियाँ
प्रसिद्ध नेपाली उपन्यासकार डाइमण्ड शमशेर राणाले आफ्नो बहुचर्चित उपन्यास ‘सेतो बाघ’मा एउटा रमाइलो प्रसङ्ग उल्लेख गरेका छन् । धीर शमशेरका छोराहरूले माहिला बाबु रणोद्दिपसिंहलाई मारेर शासनसत्ता आफ्नो हातमा लिए । रणोद्दिपसिंहको मात्र हत्या गरेनन्, राणशाहीका संस्थापक जङ्गबहादुर राणाका छोरा, नाति, नातेदार र सम्बन्धीहरूलाई पनि खोजीखोजी मारे । जङ्ग खलकको कत्लेआम मात्रै गरेनन्, उनीहरूको धनसम्पत्तिसमेत लुटपाट गरे । धीर शमशेरका छोराहरूको गरिबी र अज्ञानताकोे खिल्ली उडाउँदै उपन्यासकारले एकचालिसौं परिच्छेदको अन्ततिर भन्छन् : धीरशमशेरका बुहारीहरूले आफ्ना खसमहरूले जङ्ग खलकबाट लुटेर ल्याइदिएका गरगहनाहरू हातमा लगाउने ‘बाजु’ शीरमा लगाएका थिए, शीरमा लगाउने मुकुट गलामा, गलामा लगाउने हार पाखुरामा, छातीमा लगाउने चन्द्राहार कुममा लगाएका थिए । उता धीर शमशेरका छोराहरूले पनि टोपीमा लगाउने ब्याच जुत्तामा लगाएका थिए रे ! खड्ग शमशेरले त झन स्वास्नी मानिसले लगाउने कमरपेटीलाई मालाझैं गर्धनमा पहिरेका थिए रे ! देवसमशेर भने जङ्ग खलककै पालिएका हुनाले गरगहनाका पारखी थिए रे ! धीर परिवार सदस्यहरूको त्यस्तो गल्ती उनले औंल्याइदिएपिछि सबै लज्जित भएथे रे ! कैयौंले आफ्ना गल्ती पनि सुधारेथे रे !
‘माल पाएर के गर्नु ? चाल पाए पो काम हुन्छ !’ यो लोकोक्ति हाम्रो समाजमा लोकप्रिय छ । टाइ बाँध्नु अनिवार्य नियम हो भन्ने जानकारी पाएको निजी स्कुलमा टिचिङ्ग गर्ने एकजना पण्डितले ‘टिसर्ट’मा टाई झुण्ड्याउनाले स्कूलमा परिहासको पात्र बनेथ्यो रे ! गर्धनमा झण्डाउनुपर्ने टाई विचरोले शमशेर खलकका सदस्यहरूलेझैं कममरपेटी बनाएको त होइन नी ! घाँटीमा कस्नुपर्ने जिनिस घाँटीमै झुण्डाएको हो तर सर्ट र टिसर्ट बीचको अन्तर छुट्याउन नसक्नाले परिहासको पात्र बन्नु प¥यो, त्यस्तो हुन्छ । अभ्यासमा नरहेको बस्तुको प्रयोग गलत ठाउँमा हुनजान्छ । अज्ञानतावश भएको गल्तीलाई स्वाभाविक मान्नुपर्छ । गल्ती सुधार्ने अवसर दिनुपर्छ । अवसर पाएर पनि सुधे्रेन भने त्यो कि जिद्दी ठहर्छ कि भने बज्रस्वाँठ ठहर्छ अथवा दिमागी सन्तुलन गुमाएको ठहरिन्छ ।
नेपाली पोशाकको बारेमा परेको विवादले मेरो एकजना आफन्तलाई मसँग सम्बन्ध सम्पर्कविच्छेदको अवस्थामा पु¥याइदिएको छ । कसैमा अनौठो प्रवृत्ति हुन्छः ‘आफूले पनि नजान्ने, अरुको कुरो पनि नमान्ने ।’ एकपटक, सायद, संविधान निर्माण हुनुपूर्व हो क्यारे, उन्ताका क्षत्रीसमाजको नाममा सडक निकै उम्लिएको थियो । मेरा आफन्तले दौरा, सुरुवाल, कोट र टोपीमा ठाँटिएको आफ्नो शानदार फोटो फेसबुकमा हालेर ‘क्षत्री पोशाक’ भन्ने क्याप्सन दिएका थिए । उनको अज्ञानता देखेर टिठ लाग्यो र मैले उनलाई सम्झाउने मनसायले टिप्पणी गरिदिएँ– नेपालमा क्षत्री भन्नाले पहाडी खस भनेर बुझिन्छ । जङ्गबहादुरले आफूलाई आयन्दा ‘खस नभन्नु, क्षत्री भन्नु’ भन्ने आदेश जारी गरेपनि उनका सन्ततिहरू ठकुरी समुदायसँग बिहेवारी चलाएर राणा–ठकुरी भनिए । उनको आदेश अन्य खसहरूमा लागु भयो । बस्न्यात, पाण्डे र थापाजस्ता पुराना भारदार खलकहरू क्षत्री भनिए । तिनै भारदारहरूसँग बिहेवारी सनातन रहेका अन्य खसहरूले पनि आफूलाई क्षत्री भन्न थाले । नेपालका क्षत्रीहरूको इतिहास त्यही हो । जसरी खसहरू अचानक क्षत्री बने, त्यस्तै इतिहास नेपाली पोशाकको पनि छ ।
राजा महेन्द्रले दौरा सुरुवाल र टोपीमा कोट थपेर राष्ट्रिय पोशाक भनिदिए । दौरा सुरुवाल नेवारहरूको परम्परागत पोशाक हो, भादगाउँले टोपीको ढाँचा पनि नेवारहरूकै हो । कोट त पश्चिमाहरूको हो । लौ भैगो, गोर्खालीहरू नेपाली भए, गोर्खा भाषा नेपाली भयो भने दौरा सुरुवाल त उसै नेपाली हो । त्यसलाई नेपाली पोशाक भन्न के गाह्रो भो र ? तर त्यो नेपालीहरूको साझा पोशाक कसरी क्षत्रीको मात्र पोशाक भयो र ? नेपाली पोशाकमाथि पश्चिमको कोट भिर्नु त झन् टीसर्टसँग टाई लगाउनुजस्तै हो । उनलाई मेरो सत्य वचन बिझाएछ, मलाई ब्लक ठोकिदिए । त्यतिखेर टुटेको फेसबुके मित्रता आजसम्म पुनः कायम हुन सकेको छैन ।
मयुर पंङ्ख शरीरमा स्युरिंदैमा काग मयुर बन्दैन । कथित नेपाली पोशाकमा ठाँटिएर कसैले आफूलाई कसरी खाँट्टी नेपाली भनेर दावी गर्न सक्छ र ? नेपालीले दौरा सुरुवालसँग कोट भिर्नु र कुइरेहरूले सटपाइन्टमाथि पटुकी कस्नु उस्तै–उस्तै जुलुङ्गे पोशाक ठहरिँदैन भन्न कसरी मिल्छ र ? पोशाकलाई आफ्नो आँखाबाट होइन, अरुको आँखाबाट हेर्नुपर्छ । परचक्रीलाई राम्रो लाग्नुमै पोशाकको खास महत्व रहने हो । कुइरेहरूले नेपाली टोपी भिरेर हिँड्दा जसरी हाम्रा लागि कौतुहलका विषय बन्छन्, त्यसैगरी हामीले नेपाली पोशाकसँग कोट भिरेको देख्दा आश्चर्य मान्दा हुन् । उनीहरूको आँखामा बिझाउँदो हो । के के नमिलेजस्तो लाग्दो हो ।
मयुरपङ्खे कागको कुराले भर्खरै ‘टेलिप्रिजेन्स’ प्रविधि प्रयोग गरेर सम्पन्न भएको नेपालको क्याविनेट बैठकलाई सम्झाउँदो रहेछ । हाम्रा प्रधानमन्त्रीले सिंगापुरबाटै नेपालको मन्त्रिपरिषदको बैठकको अध्यक्षता गरेछन् । यो प्रविधिको युग हो । त्यसको उपयोग, उपभोगबिना आजको मानव समाजको काज चल्दैन । तर प्रविधिको प्रयोग गर्दा पनि टिसर्टमा टाई झुन्ड्याउने नादानी त गरिएन कतै भनेर विचार गर्नैै पर्छ । प्रविधिसम्पन्न मुलुकहरूमा अमेरिका, जापानजस्ता मुलुकहरू अग्रणी गनिन्छन् । अमेरिकाजस्तो प्रविधि सम्पन्न मुलुकमा रसियाले प्रविधि हस्तक्षेप ग¥यो भनेर कत्रो हल्लाखल्ला भएथ्यो । प्रविधिको प्रयोग गरेर अमेरिकी चुनावमा प्रभाव पा¥यो भनेर कत्रो बबाल मच्चियो । राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्ने सम्मको कुरा उठ्यो । अर्थात प्रविधिको विकाससँगै प्रविधि चोरीले पनि उत्तिकै विकास गरेको छ । मन्त्रिपरिषदबाट गरिने निर्णयहरूमध्ये कैयौं सार्वजनिक गर्न नमिल्ने प्रकृतिका पनि हुन्छन् होला । उन्नत मुलुकहरूले समेत नगरेको उक्त प्रविधिको उपयोग हामीजस्ता पछौटे मुलुकले गरिहाल्नु कति सुरक्षित होला ? प्रविधि निर्माता मुलुकहरूले त्यस्तो प्रयोगको अभ्यासमा सुरु गरेको कुरो सुनिएको छैन । कमसेकम मन्त्रिपरिषदको बैठक त्यसरी गरिएको उदाहरण सार्वजनिक जानकारीमा आएको छैन । तमासा देखाउन मात्रै हो भने त ठीकै होला । अथवा प्रविधिको सफलता र असफलताको परीक्षण प्रयोग गर्ने कुरा पनि कुनै नयाँ औषधिको प्रयोग परीक्षण गर्न नेपाली मान्छेहरूलाई गिनीपिग बनाउन गरिएजस्तै कुरा हो भने ठीकै हो भन्न सकिदैन । मनोरञ्जनका लागि अभ्यास गरिएको हो भने पनि ठिकै मान्नुपर्ला तर कुनै महत्वपूर्ण विषयमा गम्भीर निर्णय लिइएको हो र त्यसले देशको कूटनीतिक मामलामा असर पु¥याउने खालको हो रहेछ भने त्यो चुहिंदैन वा चोरी हँुदैन भन्ने प्रत्याभूति कसले गरिदिने ? अजगर प्रविधिविज्ञ होलान्, आविष्कारक अवश्य होइनन् !
हुन त प्रधानमन्त्रीय पद्धतिमा शासन प्रशासन प्रधानमन्त्रीको तजबीजमै चल्ने हो । क्याविनेटबाट गरिने निर्णय प्रस्ताव जसको भए पनि निर्णय प्रधानमन्त्रीकै मानिन्छ । प्रधानमन्त्रीसँग फरक मत राख्ने अधिकार अन्य मन्त्रीहरूलाई हँुदैन । त्यसैले प्रधानमन्त्रीले सबै मन्त्रीहरूमाथि विश्वास गर्नैपर्छ भन्ने हुँदैन । किनकि मन्त्रीहरू प्रधानमन्त्रीका कारिन्दा मात्र हुन्छन् । प्रधानमन्त्रीले लाए अह्राएको काम मात्र गर्ने हो । स्वतन्त्रतापूर्वक काम गर्ने हैसियतमा मन्त्रीहरू रहँदैनन् । तैपनि मन्त्रिपरिषद एउटा टिम हो । मन्त्रिपरिषदले गर्ने काम एउटा ‘टिमवर्क’ हो । प्रधानमन्त्रीले मन्त्रीहरूमाथि भरोसा राख्नुपर्छ । हाम्रा प्रधानमन्त्रीलाई भने मन्त्रीहरूमाथि भरोसा रहेनछ कि भन्नुपर्ने भएको छ ।
प्रधानमन्त्रीले कौतुहलवस वा परीक्षण प्रयोगको रूपमा उपयोग गरेको भिडियो प्रविधि रमाइलो गर्ने विषय नहुनुपर्ने हो । होइन, हाम्रा मन्त्री, प्रधानमन्त्रीहरू कहिले गम्भीर छन् र ? रमाइलैका लागि त्यो प्रविधिको प्रयोग गरेका होलान् भनेर मान्दा पनि प्रधानमन्त्रीले आफ्नै मन्त्रीहरूलाई विश्वास गर्दा रहेनछन्, आफ्नो अनुपस्थितिमा कुनै काम बिग्रन्छ, बित्यास पर्छ कि भन्ने चिन्ता उनलाई हुँदो रहेछ र त विरामी भएर उपचारका लागि समुद्रपारको यात्रामा रहँदा पनि क्याविनेट मिटिङ्गको अध्यक्षता आफैले गर्न रुचाउँदा रहेछन् भन्नुपर्ने भएको छ । यसपटक प्रविधि उपलब्ध भयो र पो, नत्र सधै बाहिरीमुलुकको यात्रामा रहँदा हाम्रा प्रधानमन्त्री कति त्रसित मानसिकतामा रहँदा रहेछन् विचरा ? अघिल्लो पटक उपचार नगरिकन फर्कनुको कारण पनि त्यही त्रसित मनोविज्ञान रहेछ भनेर किन नबुझ्ने ? खास गरेर कार्यवाहक दिइएका मन्त्रीप्रति त प्रधानमन्त्रीको आना सुका बराबरको भरोसा पनि रहेनछ भन्ने स्पष्ट हुन्छ । आफ्नो अनुपस्थितिमा कुनै अनपेक्षित र अवाञ्छित निर्णय लिई पो हाल्ने हो कि भन्ने डर प्रधानमन्त्रीले पाल्न विवश रहेछन् । प्रविधि परीक्षणका नाममा प्रधानमन्त्रीको अविश्वास यसपटक छताछुल्ल भएर पोखिएको होइन कसरी भन्न मिल्छ र ? – जनधारणा साप्ताहिक


















