उपनिर्वाचनका लागि सत्तारुढ दलले पुनः दल दर्ता गर्नुपर्ने

81

काठमाडौं /  संविधान र निर्वाचन कानुनअनुसार उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आह्वान गरिएको छ ।आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टी दुवैले उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पुनः दल दर्ता गराउनुपर्ने भएको छ ।

वि.सं. २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा, प्रदेश सभा सदस्य र स्थानीय तह सदस्यको निर्वाचनमा आयोगमा दर्ता भएका राजनीतिक दलले उपनिर्वाचनका पुनः दर्ता गर्नु नपर्ने व्यवस्था छ तर सत्तारुढ दुवै दल एकीकरण भई नयाँ दलका रूपमा आयोगमा दर्ता भएकाले उपनिर्वाचन प्रयोजनका लागि पुनः दर्ता हुनुपर्ने भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने उपनिर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्नुपर्ने छैन ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र निर्वाचन कानुनअनुसार उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आह्वान गरिएको जानकारी दिनुभयो । आयोगका निर्वाचन आयुक्त नरेन्द्र दाहालले नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता भएका वा सोही ऐनको दफा १० बमोजिम एकीकरण भई वा गाभिई नयाँ नाममा दर्ता भएका दलहरूले पुनः दर्ता हुनुपर्ने जानकारी दिनुभयो । पुनः दल दर्ता चाहने दलहरूले आयोगले तोकेबमोजिमको विवरणसहित भदौ मसान्तसम्म दर्ता गराउनुपर्ने छ ।

आयोगमा हाल १३२ राजनीतिक दल दर्ता भएका छन् । केही राजनीतिक दल भने दर्ताको प्रक्रियामा रहेको जानकारी पनि आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिनुभयो । २०७४ मा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि दल दर्ता भएर यसबीच एकीकरण भएका दलले उपनिर्वाचनमा भाग लिन आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा दर्ताका लागि निवेदन दिनुपर्ने छ । दर्ता नहुने दलले उपनिर्वाचनमा भाग लिन नपाउने कानुनी व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here