काठमाडौं / संसदमा एनसेल कर विवादमा सर्वोच्च अदालतले गरेको फैसलामाथि प्रश्न उठाएका छन् ।
पूर्वकानूनमन्त्री समेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद शेरबहादुर तामाङले एनसेल कर विवादमा सर्वोच्च अदालतले दुई मुद्दामा फरक फरक फैसला गरेको भन्दै यसले कर उठाउन ढिलो भएको जनाएका हुन् ।
भदौ ९ गतेको सर्वोच्चको बृहत पूर्ण इजलासले ठूला करदाता कार्यालयले आयकर ऐनको दफा १२० (क) अनुसार निर्धारण गरेको कर खारेज गर्ने फैसला गरेकामा उनले प्रश्न उठाए । ‘यो के कारणले को को मिलेर कि डिले भइरहेको छ’, उनले प्रश्न गरे, ‘कर निर्धारण गर्ने ठूला करदाता कार्यालय हो कि अर्को कुनै छ ?’
ठूला कर दाता कार्यालयले कर तिर्न ढिला गर्नेलाई शत प्रतिशतसम्म जरिवाना लगाउन सक्ने व्यवस्था हुँदाहुँदै ५० प्रतिशत जरिवाना गर्दा पनि त्यसलाई खारेज गरिएकोमा उनले असन्तुष्टि जनाए ।
सांसद तामाङले कर विवादमा संसदले छानबिन गर्न नपरोस् भनी चेतावनी दिए । ‘यो विषय संसदको ध्यानमा छ, संसदको आँखामा छ, कुनै पनि बेला संसदको छानबिनको विषय नबनोस्, बनाउनु नपरोस्,’ उनले भने ‘सम्बन्धित पक्षले ध्यानाकर्षण गरेर उठ्नुपर्ने कर छिटो भन्दा छिटो उठाओस् ।’


















