– प्रीति रमण
नेपाली महिलाहरू तीजको रमझममा रमाइरहेका बेला यही भदौ १४ गते शनिबारको गोरखापत्र दैनिकको एउटा समाचारमा मेरो ध्यानाकर्षण भयो । नेपाली चेलीहरूको अवस्था कस्तो छ भन्ने कुरा गम्भीर भएर सोच्नुपर्ने अवस्थामा यो समाचारले मलाई पु¥यायो । समाचारको शीर्षक नै नेपाली महिलाहरूलाई आक्रोशित र लज्जित बनाउने खालको महसुस गरँे मैले । शीर्षक थियो –‘नेपाली चेली ‘दुलही’ बन्दै चीनमा बेचिंंदै’ । यो शीर्षकको समाचारले तीज पर्वलाई नै खल्लो बनाइदियो मेरो । दिमागमा तीजको रमाइलो भन्दा ती चेलीहरू जसले दुलही बनेर रमाइलो जीवन विदेशमा बिताउने कल्पना गर्दैगर्दा वेश्यावृतिमा लाग्नुपर्ने बाध्यता कस्तो भइरहेको होला भन्नेतर्फ मेरो मनलाई भावबिह्वल बनाइरह्यो ।
नेपाली चेलीहरू भारतका वेश्यालयहरूमा बेचिन्छन् भन्ने कुरा धेरै पहिलेदेखि सु्न्न थालिएको हो । यो समस्यालाई समाधान गर्न राज्य स्तर बाट कुनै पहल भएको पाइदैन । दोषीलाइ कारबाही गर्ने बाहेक अरु कुनै रोकथामका प्रयासहरू राज्य स्तरबाट भएका छैनन् । पञ्चायतकालदेखिकै यो समस्या हालसम्म पनि यथावत नै छ । रोजगारीको अभावका कारणबाट वेश्यालयहरूमा बेचिन बाध्य हुने महिलाहरूको उद्धारमा लागेका संस्थाहरूबाट धेरै सकारात्मक कामहरू पनि भएको पाइएको छ । वेश्यालयहरूबाटै उद्धार गरिएका महिलाहरूलाई संरक्षण गरेकै कारणबाट अनुराधा कोइरालाले माइती नेपाल नामक संस्थालाई निकै चर्चित पनि बनाउन सफल भएकी छिन् । यही संस्थाको चर्चाबाट प्रदेश नम्बरं तीनको प्रमुख समेत बन्न सफल भएकी अनुराधा कोइरालाले राजाको प्रत्यक्ष शासनमा मन्त्री पद समेत पाएकी थिइन् । तर नेपाली चेलीहरूको बेचिने क्रम रोकिएको छैन, बरु विस्तार भइरहेको छ ।
नेपाली चेलीहरू छिमेकी देशहरू भारत र चीनमा मात्र बेचिएका छैनन् । युरोपका तमाम देशहरूमा र खाडीका देशहरूमा समेत नेपाली चेलीहरूले नारकीय जीवन बिताइरहेका छन् भन्ने कुरा पटक–पटक चर्चामा आइरहने गरेको पाइन्छ । चेलीहरूको अवस्थाबारे नेपाल सरकार बेखबर भएको पनि होइन । तरपनि सरकारले यो अवस्थालाई अन्त्य गर्न सकिरहेको छैन । पछिल्लो पटक वेश्यावृतिको गन्तव्य बनेको उत्तरतिरको छिमेकी मुलुक चीन नेपाली महिलाहरूका लागि दुर्भाग्यपूर्ण गन्तव्य भइरहेको छ । चीन त्यस्तो देश हो जुन देशको भाषा नेपाली महिलाहरूलाई बोल्न र बुझ्न सक्ने अवस्था हुँदैन । भाषाकै समस्याबीच भोग्नुपर्ने वेश्यावृतिको नारकीय जीवन कति कष्टप्रद होला ? हामी अनुमान गर्न सक्छौं ।
मानव तस्करहरूले नेपाली चेलीहरूलाई वस्तुसरह बेचबिखन गर्दै आएका छन् । वैदेशिक रोजगार व्यवसायीको आवरणमा होस् वा अन्य कुनैपनि आवरणमा किन नहोस् , नेपाली चेलीहरू शिकार बनिरहेका छन् । यो अवस्था आउनुमा सबैभन्दा मुख्य कुरा अशिक्षा र बेरोजगारी नै हो । हाम्रो देशमा शिक्षाकोे अवसर प्राप्त गर्न निकै कठिन छ । जीविकोपार्जन गर्न समेत नसक्ने अवस्थाबीच गुज्रिरहेका नेपाली चेलीहरूका लागि वैदेशिक रोजगारीको विकल्प सबैभन्दा सुन्दर सपना बन्नु स्वाभाविक हो । छोरीलाई अनिवार्य र निःशुल्क शिक्षाको व्यवस्था गर्न सक्ने हो भने छोरीहरूमा चेतनाको स्तर विकास हुन सक्ने आशा गर्न सकिन्छ । अशिक्षित मानसिकताको चेतनास्तर निश्चय पनि कमजोर हुन्छ भन्ने कुरामा विवाद हुन सक्दैन । त्यसैले शिक्षा नै सबैभन्दा महत्वपूर्ण आवश्यकता हो भन्ने कुरा राज्य सञ्चालकहरूले बुझ्न जरुरी छ । शिक्षित जनशक्तिले देशभित्रै रोजगारी सृजना गर्न पनि आफ्नो भूमिका देखाउन सक्दछन् । जुन कुरा अशिक्षित व्यक्तिहरूबाट सम्भव हुँदैन ।
मानव तस्करहरूले नयाँ नयाँ शैलीबाट नेपाली चेलीहरूको तस्करी गरिरहेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ब्यूरोले दुलही बनाएर चीन लगिएका अधिकाशं नेपाली चेलीहरूलाई वेश्यावृतिमा लगाउने गरेको खुलासा गरेको छ । यस्तो अपराधमा संलग्न रहेका चार जना चिनियाँ र ६ जना नेपाली नागरिक गरी दश जनालाई प्रहरीले पक्राउ गरेको थाहा भएको छ । विभिन्न ठाँउहरूमा छापा मारेर मानव तस्करहरूको एउटा सञ्जाल भत्काउन प्रहरीले सफलता हासिल गरेको बुझिएको छ । पक्राउ पर्ने नेपालीहरूमा धेरैजसो महिलाहरू नै रहेका छन् । ती महिलाहरूमा पनि शिक्षाको अवसर प्राप्त नभएको बुझिन्छ । सिन्धुपाल्चोक हेलम्बुकी बिबिरानी नामले चिनिने रिना तामाङ, लमजुङ्ग बेशिशहरकी पार्वती गुरुङ्ग, लमजुङ्गकै अमृता गुरुङ्ग र उषा कुमारी घिमिरे प्रहरीको कब्जामा परेका छन् । उनीहरूसंगै नुवाकोट ककनीका रोज तामाङ्ग र लमजुङ्गका भरत तामाङ्ग पनि पक्राउ परेको बुझिएको छ । चार जना चिनियाँ नागरिकहरूमा झिङ साङ दोङ, झाङ दोङ हुँ , क्यूङ झाङ पेङ र क्वीन लियाङ पक्राउ परेका छन् । यी चिनियाँ नागरिकहरूले आफैंले विवाह गर्ने वा अरुसंग विवाह गरिदिने विश्वासमा पारेर नेपाली चेलीहरूलाई चीन पु¥याउने गरेको बुझिएको छ ।
देशभित्र रोजगारीको अभावले गर्दा वैदेशिक रोजगारी वा विदेशीसंग विवाह सम्बन्ध नेपाली चेलीहरूका लागि ठूलो अवसर ठान्ने गरिएको छ । देशभित्र रोजगारीको व्यवस्था हुने हो भने कसैले पनि विदेश जान लालायित गर्ने अवस्था हुँदैन । दैनिक हजारौंको संख्यामा विदेशीन बाध्य भइरहेका नेपाली युवा युवतीहरूलाई देशभित्र काम गर्न पाउने अवसर कसरी प्रदान गर्ने भन्ने बारेमा सरकारले गम्भीर भएर सोच्न जरुरी छ ।
तीजको शुभकामना बाँडेर रमाइरहेका महिला दिदिबहीनीहरू पनि अब नारीलाई निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गरियोस् भनेर आवाज बुलन्द गर्नतर्फ संगठित हुनैपर्ने समय आएको छ । मलाई फेरि पनि दोहो¥याएर लेख्न आवश्यक महसुस भइरहेको छ –महिला राष्ट्रपति भएको देशलाई वेश्या निर्यात गर्ने कलंक लाग्नबाट बचाउन राष्ट्रपति विद्यादेवी भण्डारीबाटै विशेष पहलको आवश्यकता छ । नारीलाई शिक्षा निःशुल्क र अनिवार्य गरियोस् । घर–घरमा महिलाहरूलाई विशेष रोजगारीको व्यवस्था गरियोस् । राष्ट्रपतिले नै चाहने हो भने असम्भव अवश्य हुने छैन । [email protected]


















