– राज्यलक्ष्मी शाक्य
यही भदौ १३ गते शुक्रबार बिहानै सञ्चारमाध्यममा आश्चर्यजनक खबर आएको थियो । सुर्खेतको जंगलमा गाईलाई भीरबाट खसालियो भन्ने शीर्षकमा रहेको समाचार जसमा २३ गाई मृत भेटिएको र केही घाइते भनिएको उक्त समाचार साँच्चै नै भयानक त्रासदिपूर्ण र आश्चर्यलाग्दो थियो । नेपाल जस्तो देशमा जहाँ गाई गोरुलाई पूजा गरिन्छ, त्यस्तो देशमा कसरी यति धेरै संख्याका गाईलाई भीरबाट खसालियो होला ? यो समाचारले धेरै नागरिकलाई स्तब्ध बनायो । यो घटनालाई सबैबाट शंकाको रूपमा हेरिएको छ । एकैपटक ठूलो संख्यामा गाईहरू मृत भेटिनु दुःखद, शंकास्पद र निन्दनीय हो नै । यसलाई धार्मिक हिंसा भड्काउनका लागि गरिएको चलखेल समेत भएको कोणबाट विश्लेषण पनि भइरहेको छ । यस विषयलाई लिएर हिन्दू राज्य घोषणा गर्न लागिपरेका राजनीतिक दलहरूको चलखेल हो कि भन्ने पनि आशंका गरिएको छ । यो घटना नेपाललाई धार्मिक द्धन्दमा फसाउने चलखेल हो कि भन्ने आशंका पनि गरिएको छ । आखिर जे होस्, गाईलाई भीरबाट खसालेर त्यसरी हत्या गर्नु अक्षम्य अपराध नै हो ।
हिन्दू धर्मका अनुसार गाईलाई लक्ष्मीको स्वरूप मानेर पुजा गरिन्छ । हिन्दू धर्मावालम्वीहरूले पूजा गर्दै आमाकै रूपमा पुज्दै मान्दै आएको गाईको हत्या गर्नु हिन्दूहरूलाई भड्काउने काम नै हो । हिन्दूहरूले आमाको संज्ञा दिएर पुज्ने गाई अरु कतिपय जातिले भने मासांहार पशुकै रूपमा ग्रहण समेत गर्ने गर्दछन् । यसको प्राय विरोध हुँदै पनि आएको छ । नेपालको राष्ट्रिय जनावर भन्नाले गाईलाई चिनिन्छ । गाईलाई राष्ट्रिय जनावर मान्नुको कारण पनि हिन्दू धर्ममा आधारित मात्र नभइ वैज्ञानिक आधारले पनि गाई एक महत्वपूर्ण प्राणी भएकाले समेत गााईको महत्व रहेको हुनाले यसलाई देशकै राष्ट्रिय जनावर मानिएको हो भन्ने दाबी सम्बन्धित पक्षले गरिरहेकै छन् । गाईले दुध दिन्छ । दुध, दही, घ्यू, र मोही बच्चा र बुढा सबैको निम्ति पोषिला खानेकुरा हुन् । गाईको दुधले मानिसलाई स्वस्थ बनाउने हुनाले गाईको महत्व रहँदै आएको छ । गाईको गोबर राम्रो मल हो । यसले बाली उब्जनी राम्रो गरेर अरु खानेकुरा प्रदान गर्न सहयोग गर्दछ । गाईको मुत्रपानबाट तमाम किसिमका रोगहरू समेत निको हुने तथ्यहरू सार्वजनिक भइरहेका पाइन्छन् । तसर्थ गाईको पालनपोषण गर्नु एवम् गाईको उचित संरक्षण गर्नु आजको आवश्यकता नै हो । हिन्दू चाडपर्व मध्ये एक पर्व तिहारमा पनि गाईगोरुको पूजा गरिने परम्परा छ । गाईलाई लक्ष्मीको रूपमा पूजा गर्ने चलन रहँदै आएको छ । गाईको महत्वलाई पूजाआजामा मात्र सीमित नगरेर गाईलाई उचित स्याहार सुसार एवम् संरक्षणमा विशेष ध्यान दिँदै देशका विभिन्न ठाउँमा गौशाला निर्माण समेत गरिएका छन् । यसरी गाईको पूजा र गाईप्रतिको आस्था नेपालको संस्कृति बनिसकेको छ । कसैलाई यो संस्कृति ठीक लाग्दैन भने उसले आफ्नो संस्कृति जे सुकै अपनाउन सक्दछ तर नेपाली संस्कृतिमाथि आक्रमण उचित होइन ।
सुर्खेतको कटकुवा जङ्गलमा शुक्रबार बिहान २३ वटा गाई मृत भेटिए । गाई नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका झन्डै तीन सय गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालिएको प्रहरी अनुशन्धानबाट खुलेको छ । नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर २ सय ९१ गाई बिहीबार राति भीरबाट खसालिएको घटनाको छानबिन हुनु जरुरी छ । प्रहरीका अनुसार मृत गाई भेटिएको ठाउँमा एक सय ५० वटा जिवित गाई पनि भेटिएका छन् । भीरमा फालिएका गाईगोरुलाई वीरेन्द्रनगर नगरपालिकाले उद्धार गरेको जनाइएको छ ।
गाईको महत्व र संरक्षणको विषयलाई लिएर गाईगोरु मार्न नहुने विषय कानुनी रूपमा लिखितम भैसकेको छ । यदि कसैले जानीजानी गाईगोरु मारेमा मार्ने व्यक्तिलाई १२ वर्ष कैदको व्यवस्था छ । त्यसैगरी कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई ६ महिनासम्म कैद र अन्य चोट पु¥याएमा पचास हजार रूपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । यस्तो कैद सजाय हुँदाहुँदै पनि कतिपय जातिले भने गाईगोरुको मासु खाने प्रचलन पनि रहेको छ । उनीहरूको धर्म परम्परा अनुसार गाईगोरुको मासु खाने चलन रहेको छ । तथापि ज्युँदो गाई काट्न पाउने अधिकार नेपालमा कसैलाई छैन ।
यो घटनाले समग्र हिन्दू समुदायलाई ठूलो आघात पारेको छ । नेपाल हिन्दू धर्म समर्थकहरूले यसको घोर विरोध गरेका छन् । यस घटनाको छानबिन र दोषीलाई कारवाहीको माग राखेका छन् । गाई गोरुको हत्या गरेर हिन्दू धर्मलाई भड्काउने काम गरिएको छ । यसअघि बौद्ध धर्मलाई समेत भड्काउने काम गरिएको थियो । बुटवल–बेलहिया सडक खण्डको बीच भागमा राखिएको बुद्धमूर्ति तोडफोड गरिएको थियो । ६ लेन सडकअन्तर्गत शंकरनगर चोकदेखि नयाँमिल खण्डमा राखिएका पाँच वटा बुद्धमूर्ति कामै नलाग्ने गरी अज्ञात समुहले तोडफोड गरेका थिए । हालसम्म ती बुद्धमूर्ति कसले तोडफोड गरेका थिए ? थाहा हुन सकेको छैन ।
यसरी शंकास्पद रूपमा गाई भीरबाट खसालिनु र बुद्धमूर्ति तोडफोड गर्नु जस्ता घटनाले नेपाल जस्तो विविध धर्म भएको देशलाई धार्मिक युद्धमा धेकेल्न खोजिएको हो कि भन्ने आशंका पैदा हुनु स्वाभाविक हो । धार्मिक द्वन्दले मुलुकको अस्तित्व समाप्त भएका धेरै उदाहरण छन् । तसर्थ धार्मीक द्वन्द भड्काउने यस्ता गतिविधिप्रति सरकार सचेत हुनु जरुरी छ । दुई तिहाई बहुमतको सरकारले यस्ता धार्मीक गतिविधि भड्काउने गतिविधिमा लागेकाहरूको छानबिन गरी कारवाहीको दायरामा ल्याउन ढिलो गर्नु हुँदैन । – [email protected]जनधारणा साप्ताहिक


















