पूर्वराजा बैंककमा, यता पारसको चहलपहल

104

काठमाडौं- सत्तासीन पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुनबाट पनि निकाल्ने चेतावनी दिएको केही दिन पछि पूर्व राजा ज्ञानेन्द्र सपरिवार बैंककतिर लागेका छन् भने यता काठमाडौंमा पूर्व युवराज पारस शाहका गतिविधि देखिन थालेका छन् । पारसलाई अगुवा बनाउँदै गत सोमबार काठमाडौंको बसन्तपुर क्षेत्रमा पारसको जयजयकार गरिएको थियो । पारसले विभिन्न मठमन्दिरहरूमा पुजा गरेका थिए । कुमारी कालभैरव लगायतका मन्दिरहरूमा राजावादीहरले पारसलाई घुमाएका थिए । अन्यबेला भन्दा फरक शैलीको पारसको गतिविधि देखिएको सहभागिहरूले जनाएका छन् ।

केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी सई इश्वर खत्रीलाई हातपात गरेको घटना पछि पारस शाह सार्वजनिक भएको यो पहिलो घटना भएको छ । राजावादीहरूले राजतन्त्रका पक्षमा खुलेर नाराबाजी गरेका थिए भने पारसको जयजयकार गरेका थिए । पारस भने मुस्कुराउँदै अगाडि अगाढिड लम्किरहेका देखिएका थिए ।

यसैबीच पूर्व राजा ज्ञानेन्द्र शाह बैंककबाट भारततर्फ जाने चर्चा पनि सुनिएको छ । नेपाल फर्किएपछि नेपाल भ्रमणमा निस्किने पूर्व राजा शाहको योजना रहेको बुझिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई बहुमतसहितको सरकारले जनअपेक्षित कामहरू गर्न नसकेको र सरकारप्रति जनतामा निराशा उत्पन्न भइरहेको स्थितिबीच पूर्व राजाको क्रियाशीलता बढेपछि राजनीतिक दलहरूमा पूर्व राजाप्रति आशंका बढेको पाइएको छ । सरकारले जनअपेक्षित कामहरू गरेर जनतालाई लोकतान्त्रिक गणतन्त्रको अनुभूति दिलाउन नसकिरहेको अवस्थाबीच राजावादीहरूको सक्रियता देखिनुले गणतन्त्र नै धरापमा परेको आशंका समेत गर्न थालिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here