सुर्खेत । सुर्खेतमा भएको गौहत्या प्रकरणमा प्रहरी निरीक्षकसहित दुईजना पक्राउ परेका छन् । बाँके प्रहरीका अनुसार नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विक्की भनिने सत्रिप्तसिंह श्रेष्ठलाई पक्राउ गरिएको हो । सुर्खेतका एसपी बसन्त रजौरेका अनुसार उनीहरू दुबैलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
गत भदौ १२ गते नेपालगञ्ज उपमहानगरले दैलेख लैजाने भन्दै पठाइएका दुई सय ९१ वटा गाई–गोरु सुर्खेतमा भीरबाट खसालिएको अवस्थामा ४० वटा गाई मरेको भेटिएको थियो भने दर्जनौं गाई–गोरु घाइते भएका थिए । पक्राउ परेका बोगटीको नेतृत्वमा नेपालगञ्ज नगर प्रहरीको टोलीले आठ वटा ट्रकमा छाडा गाई सुर्खेतमा ल्याएर अलपत्र छाडेको प्रहरीको भनाइ छ । यस्तै गाई ढुवानीमा संलग्न रहेको भन्दै चितवन ट्रान्सपोर्टका सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको हो । गौहत्या प्रकरणमा यसअघि सातजना पक्राउ परिसकेका छन् ।


















