आरतीमा राष्ट्रिय गान संस्कृतिमाथिको प्रहार

130

– प्रीति रमण

दुईतिहाइ बहुमतको सरकार र अत्यन्त कमजोर अवस्थाको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीचको विवाद आरतीमा राष्ट्रिय गान राख्ने कि हटाउने भन्नेमा केन्द्रित हुन पुगेको छ । काम नपाएपछि यस्तै–यस्तै विवादका इस्युहरु उठाएर जनतालाई उल्लू बनाउने काम राजनीतिक नेताहरुले गरिरहेका छन् जस्तो लाग्न थालेको छ मलाई । म स्वयम् हिन्दू धर्ममा आस्था राख्ने परिवारमा जन्मिएकी छोरी भएकीले मेरो धर्म स्वाभाविक रुपमा हिन्दू हुने नै भयो । मलाई धर्म परिवर्तन गर्ने चाहना पटक्कै हुँदैन । मेरो धर्म नै मेरो संस्कृतिको पहिचान हो र मेरो पनि पहिचान हो भन्ने मलाई लाग्छ । मेरो धर्मभित्र अपनाइने सबै खालका पर्व र परम्पराहरुले मेरो संस्कृति समेत के हो भन्ने कुरा बुझ्न सकिन्छ ।

परम्परागत रुपमा धार्मिक आस्थावानहरुबाट गरिदैँ आएको आरती भन्दा अगावै सरकारले राष्ट्रिय गान गाउनुपर्ने उर्दी जारी गरेर संस्कृतिमाथि आक्रमण भएजस्तो मलाई महसुस भइरहेको छ । सरकारले यो काम ठीक गरेको जस्तो मलाई पनि लागिरहेको छैन । आरती धार्मिक संस्कार हो, यो धर्ममा आस्था राख्नेहरुको संस्कृति पनि हो । संस्कार र संस्कृतिलाई कुनै पनि किसिमले विस्थापित गर्ने प्रयास भयो भने धार्मिक आस्थामा चोट पुग्छ । धार्मिक आस्थामै चोट पुग्यो भने आस्थावानहरुमा विद्रोह पनि पैदा हुन सक्छ । यो गम्भीर सवालमा सरकारले ध्यान पु¥याउनु जरुरी छ ।

राष्ट्रिय गान परिवर्तन हुन सक्छ । पञ्चायतकालमा राजाको स्तुतीमा राष्ट्रिय गान गाउने गरिन्थ्यो । त्यो राष्ट्रिय गानलाई कुनै धार्मिक परम्परासंग जोड्ने प्रयास गरिएको भए अवश्य पनि आज विस्थापित भएपछि अर्को राष्ट्रिय गान तयार भएको अवस्थाले यही कुराको पुष्टि हुन्छ । राष्ट्रिय गान नै परिवर्तन भएको अवस्थामा संस्कृतिसंग जोडिएपनि त्यो हटाउनुपर्ने बाध्यता हुने थियो । त्यसैले आरती भन्दा पूर्व राष्ट्रिय गान शोभनीय होइन, यो संस्कृतिमाथिको प्रहार हो ।

आरती नेपाली मात्रका लागि होइन र हुँदैन पनि । यो गैर नेपाली हिन्दूहरुका लागि पनि महत्वपूर्ण संस्कृति र संस्कारका रुपमा रहँदै आएको छ । त्यसैले नेपालको राष्ट्रिय गान आरतीसंग जोडिनु उपयुक्त मान्न सकिदैन । हिन्दूहरुले धार्मिक रुपमा वाचन गर्ने आरती अगावै राष्ट्रिय गान गाएजस्तै मुस्लीमहरुले नमाज पढ्नु भन्दा अगाडि राष्ट्रिय गान गाउन सम्भव होला ? त्यसैगरी क्रिश्चियनहरुको सवालमा पनि उनीहरुको संस्कृतिसंग जोडेर राष्ट्रिय गान गाउने उर्दी लागू गर्न सकिएला ? बुद्धिष्टहरुको सवालमा पनि यही प्रश्न गर्न सकिन्छ, यो गम्भीर प्रश्न हो ।

सरकारले राष्ट्रिय गानलाई आरतीसंग जोडेर जनतामा के प्रभाव पार्न खोजेको हो भन्ने कुरा नै बुझ्न कठिन छ । जनतामा राम्रो प्रभाव पार्ने किसिमका कामहरु दर्जनौं खात लागेका छन् । गर्नुपर्ने कामहरुमा सरकारले हात हाल्न सकिरहेको छैन । जनताले राजनीतिक परिवर्तनको लाभ प्राप्त गर्न नपाइरहेको गुनासो गरिरहेका छन् । सर्वसाधारण जनतादेखि लिएर जुनसुकै पेशा र व्यवसायका नागरिकहरुमा सरकारप्रति असन्तुष्टि बढिरहेको छ । जनतामा बढिरहेको असन्तुष्टिलाई कम गर्नेतर्फ सरकारको चासो पाइएको छैन । यसलाई सच्याइएन भने यो धार्मिक आस्थामाथिको प्रहारले धार्मिक सद्भाव भड्काउने सरकारको कदमका रुपमा साबित हुने निश्चित छ ।

रेल गुडाउने र पानी जहाज ल्याउने चर्चाबाट दिक्क भएका जनतामा आक्रोश चुलिएको छ । जनताले सडकको धूलो र हिलोबाट मुक्ति खोजेका छन् । जनताले देशभित्रै रोजगारी सृजना होस् भन्ने चाहना राखेका छन् । देशभित्र शिक्षामा व्यापार भइरहेको छ, स्वास्थ्यमा व्यापार भइरहेको छ । रोजगारी नपाएर देश निर्माण गर्ने युवा पाखुरा विदेशीन बाध्य भइरहेका छन् । यस्ता गर्नैपर्ने कामहरु नगरेर आरतीका अगाडि राष्ट्रिय गान झुण्ड्याउने उर्दी जारी गरेर जनतालाई थप उत्तेजित बनाउने काम सरकारबाट भएको छ ।

सरकारले राजनीतिक परिवर्तनलाई लोकप्रिय बनाउन संविधानले नै निर्देशित गरेको समाजवादको गन्तव्यलाई पशुपतिमा वाचन गरिने आरतीले रोकेको छैन । देशभित्र रोजगारी सृजना गर्न आरतीले व्यवधान खडा गरेको अवश्य होइन । शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारलाई समाप्त गर्न आरतीमा राष्ट्रिय गानको आवश्यकता अवश्य पर्दैन । सरकारले विवाद खडा गर्नेबाहेक अरु कुनैपनि किसिमको जनपक्षीय र समाजवादको गन्तव्यलाई सम्बोधन गर्न खोजेको सन्देश दिने खालको कामतर्फ आफ्नो ध्यानाकर्षण गर्न सकेको छैन ।

गत साता मैले आफ्नो पारिवारिक संस्कारभित्रको एउटा कार्यक्रममा सहभागी हुने क्रममा सांस्कृतिक परम्पराको नयाँ अनुभव पनि हासिल गर्ने अवसर प्राप्त गरे । धर्म निरपेक्ष भनेर मात्र हुँदैन, संस्कार मेटाउन कसैले पनि सक्दैन । मैले यो अनुभव हाम्रो समाजभित्रै गरेकी छु । नेपाल कलवार क्ल्याण केन्द्रीय समितिको २८औं साधारणसभामा भगवान बलभद्रको पुजन कार्यक्रम गरियो । बलभद्र भगवानलाई कलवार समाजको कुलदेवताको रुपमा लिइन्छ । सो कार्यक्रममा हिन्दू धर्मावलम्वीहरुको उल्लेख्य उपस्थितिबीच आरतीमा घुसाइएको राष्ट्रिय गानबारे पनि चर्चा सुन्न पाइयो । सुन्दा आश्चर्य लाग्ने यो सरकारी उर्दी धर्ममा आस्था राख्ने कसैलाई पनि उपयुक्त लागिरहेको छैन । धर्म निरपेक्षताका लागि यस्तो धर्ममाथि अतिक्रमण गरिनु पनि अशोभनीय र अतिशयोक्ती नै हो । यस्तो सरकारी उर्दीले सरकारको लोकप्रियतामा पनि स्खलन आउने निश्चित छ । यो कार्यले जनस्तरमा पार्ने प्रभाव कस्तो होला सरकार सञ्चालकहरुले बुझ्नु जरुरी छ । -ramanpreeti033@gmail.com–जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here