पोल्यान्डमा अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु

0

काठमाडौं । पोल्यान्डको दोस्रो ठूलो सहर क्राकोमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेलायती नागरिकसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् । आक्रमणकारीको सम्बन्ध दक्षिणपन्थी अतिवादी समूहसँग रहेको आशंका गरिएको छ ।

प्रहरीका अनुसार २५ वर्षीय पोलिस नागरिकले क्राकोको व्यस्त पर्यटकीय क्षेत्र मेन मार्केट स्क्वायरमा कारबाटै गोली चलाएका थिए । घटनामा चार महिला र दुई पुरुष गरी ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

युरोपकै ठूलो मध्ययुगीन खुला बजार क्षेत्रमध्ये एक मानिने क्राको पर्यटकहरूको प्रमुख आकर्षण मानिन्छ । स्थानीय समयअनुसार दिउँसो करिब ३ बजेतिर आक्रमण सुरु हुँदा उक्त क्षेत्रमा ठूलो संख्यामा मानिसहरूको आवतजावत थियो । प्रत्यक्षदर्शीका अनुसार गोली चलेपछि मानिसहरू ज्यान जोगाउन भागाभाग गरेका थिए ।

सूचना पाएलगत्तै सशस्त्र प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी र आक्रमणकारीबीच पनि गोली हानाहान भएको थियो । आक्रमण सुरु भएको तीन मिनेटभित्रै प्रहरीले उनलाई गोली हानेर नियन्त्रणमा लिएको अधिकारीहरूले बताएका छन् । घटनामा संलग्न ती युवकलाई गोली लागेकाले उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

घटनास्थलको एक भिडियोमा प्रहरी–ती युवकबीच पटकपटक गोली हानाहान भएको देखिन्छ । त्यसपछि एक प्रहरी पनि घाइते भएर भुइँमा ढलेको पनि देखिन्छ ।

आक्रमणका क्रममा एउटा सार्वजनिक गाडीमा समेत गोली लागेको थियो । गोली लागेर सो गाडीका सिसा फुटे पनि त्यसमा सवार यात्रुहरूलाई भने केही नभएको बीबीसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here