पाँच वर्ष मात्र होइन,अबको पचासौँ वर्षसम्म कम्युनिष्टको सरकार रहन्छ : प्रचण्ड

100

भद्रपुर / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको ५० वर्ष कम्युनिष्ट सरकारको नेतृत्व रहने दावी गरेका छन् ।

झापाको विर्तामोडमा आज आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको जनाउँदै भने – ‘आम जनताले पाँच वर्ष मात्र नभएर अबको पचासौँ वर्षसम्म कम्युनिष्टले नै सरकार चलाएको हेर्न चाहेका छन् ।’

नेपालमा कम्युनिष्ट शक्तिले सरकारको नेतृत्व गरेको नरुचाउने तत्वले कम्युनिष्ट आन्दोलन र त्यसको नेतृत्वविरुद्ध जनतामा केही भ्रम सिर्जना गर्न खोजेको समेत उनले जनाए ।

जनताको राजनीतिक अधिकार सुनिश्चित गर्ने जनआन्दोलन र जनयुद्धको नेतृत्व कम्युनिष्ट पार्टीबाट र सङ्घीय गणतान्त्रिक संविधानको निर्माण त्यसका नेतृत्वको सुझबुझपूर्ण एकताबाट भएको जनाउँदै अध्यक्ष प्रचण्डले आर्थिक समृद्धि र शान्तिको युगतर्फ मुलुकलाई लैजाने अवसरसमेत नेपाली जनताले हामीलाई नै सुम्पिएको जनाएका छन् ।

सोही कार्यक्रममा नेकपाका नेता एवं संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्बाङले लामो सङ्घर्ष र बलिदानको जगमा जनता आफैँले लेखेको वर्तमान संविधान संसारकै उत्कृष्टमध्येको संविधान भएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here