
काठमाडौं । बाँके घटनाका सम्बन्धमा गृहमन्त्री रामबहादुर थापाले दिइएको प्रष्टीकरण चित्त बुझ्दो नभएको र तथ्य तोडमोड गरी अपराधीको नाम लुकाउन खोजेको भन्दै नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।
कांग्रेस सांसद गगन थापाले सरकारले वास्तविक अपराधी नेकपाका कार्यकर्ता रहेको र तिनलाई कारवाही हुनेमा आश्वस्त नपारेसम्म संंसद् चल्न नदिने बताए ।
गृहमन्त्री थापाले बाँके घटना घटाउने नकेपाको नीति र निर्देशन नभएको प्रष्टीकरण दिए । कांग्रेसका सांसदहरुले पञ्चायतमा सरकार कमजोर हुँदा मण्डले परिचालन गरेजस्तै अहिले नेकपाको सरकार कमजोर भएपछि अरिंगाल परिचालन गरेको आरोप लगाए । किटानी जाहेरी दिएका व्यक्तिको नाम नआएको भन्दै कांग्रेसले वास्तविक अपराधी लुकाउन खोजेको भन्दै गृहमन्त्रीको प्रष्टीकरणमा आपत्ति जनाएका थिए । कांग्रेसका सांसद सञ्जय गौतमले घटना प्रायोजित भएको बताए ।
कांग्रेसका सांसदहरु आफ्नो आसनमा नबसेपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगन गरेका छन् । गत बिहीबार बाँकेको खजुरामा कांग्रेसको जागरण कार्यक्रममा आक्रमण हुँदा बाँके जिल्ला सभापति किरण कोइरालाको हात भाँच्चिएको थियो ।

















