काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गले जनतालाई पर्याप्त, नियमित र भरपर्दो गुणस्तरीय विद्युत् आपूर्ति गर्न हर सम्भव प्रयासरत रहेको जनाउँदै नाफा सहित सक्षम र सबल प्राधिकरण बनाउन प्रतिवद्ध रहेको जनाएका छन्।
प्रबन्ध निर्देशक घिसिङ्गले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् खपत हुन सक्ने गरी वितरण प्रणाली बनाउने बताएका छन् । आफ्नो कार्यकाल तीन वर्ष पुगेको सन्दर्भमा आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
उनले विद्युतीय यातायातका लागि चार्जिङ स्टेसन स्थापना गरिने र विद्युतीय चुलो जस्ता उपकरण प्रयोग प्रोत्साहन गर्ने कामलाई निरन्तरता दिइने जनाए । उनले विद्युत् चुहावट १२ प्रतिशतमा झार्ने, इनर्जी बैंकिङ सम्बन्धि सैद्धान्तिक सहमति जुटेकाले यो कारोबार सुरू गरिने समेत जनाएका छन् ।
विगतमा लोडसेडिङ अन्त्य गरिएको चर्चा गर्दै उनले आगामी दिनमा उपभोक्ताको सन्तुष्टिलाई ध्यान दिइने, जलाशययुक्त र अर्ध जलाशययुक्त सबै खालका आयोजनालाई गेमचेन्जर आयोजना बनाइने समेत उनले बताएका छन् । बिजुलीको मिटर टेलिफोन सेवामा झैं स्वचालित बनाउने तथा देशैभरी स्मार्ट मिटर जडान गरिने घिसिङ्गले जनाएका छन् ।















