मर्यादा बिर्सन थालेपछि नागरिकहरू कानुनको सिक्रीले बाँधिनु स्वाभाविक होला कि !

155

चन्द्रप्रकाश बानियाँ
नेपालको दोश्रो व्यस्त पदमार्ग राउण्ड अन्नपुर्ण ट्«ेकले म्याग्दी जिल्लालाई पनि छुन्छ । पोखराबाट हिमाली दृश्यावलोकनको लागि नाम चलेको चुचुरो पुनहिल जाने बाटोमा म्याग्दीको शिख भन्ने ठाउँ पर्छ । म्याग्दीको सुदूर उत्तरमा पर्ने त्यस ठाउँमा २०४९ सालमा पहिलोचोटि पाइलो टेक्ने अवसर मिलेको थियो । वि.सं. २०४९ मात्र जीन्दगीमै पहिलोचोटि पाइलो राखेको भए पनि त्यो ठाउँसँग सम्बन्धित एउटा पुरानो तर नमिठो र कौतुकपूर्ण स्मरण थियो । भएको के थियो भने एउटा पञ्चभेलाको रमाइलो हेर्न बाग्लुङ्ग पुगेको मलाई म्याग्दीका तत्कालीन महापञ्चले पञ्चभेलामा बोल्न कर गरे । नाम टिपाइदिए । समय मिलेको थियो ‘तीन मिनेट’ । मञ्चासिन पञ्च महापञ्चहरूको नाम र पद उच्चारण गरी गरी सम्बोधन नगर्ने हो भने रिसाउलान् भन्नुपर्ने, कोपभाजन बनिएला भनेर डराउनुपर्ने, सम्बोधन गर्ने हो भने सम्बोधन गर्न पनि अपुग हुने छोटो समयमा के बोल्ने ? बोल्न उभिनु भनेको ‘गहतको झोलमा जात हाल्नु’ भनेजस्तो मात्र हुन्थ्यो । मैले ‘बोल्दिन भो’ भनेपछि उनैले निकै उदारता देखाएर म्याग्दीका अन्य पञ्चरुको समय मेरो नाममा मिलाइदिए । समय दान गर्ने उदार पञ्चहरूको संख्या तीन निस्क्यो । अब मसँग १०÷१२ मिनेट थियो । बोल्ने पालो दोश्रो दिन परेको हुनाले मसँगै रमाइलो हेर्न बाग्लुङ्ग पुगेका मेरा दाजुहरूसँग कारवाहीमा पर्नुपरेपनि समयको सदुपयोग गर्ने सल्लाह भयो ।

योजना अनुसार प्रारम्भमा स्थानीय विषयहरू उठाएर उपस्थित पञ्चहरूलाई उत्साहित बनाउने कोशिस गरेँ । सभाहल तालीले गुञ्जन थल्यो । यद्यपि मेरो बोलाईमा पञ्चहरूको व्यवहारप्रति गहिरो ब्यङ्गय थियो । कसैले बुझेर कसैले नबुझेरै पनि ताली बजाए । तालीकै बीचमा मैले यति भन्न भ्याएँ ः ‘सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्न गाह्रो हुन्छ । व्यवहारमा प्रयोग भैसकेको विषयलाई सैद्धान्तिक रूपमा स्वीकार्न गाह्रो हुदैन । व्यवस्था निर्दलीय भए पनि पञ्चायती निर्वाचनमा सरकारी र गैरसरकारी भनेर उमेदवारहरू दुई कित्तामा बाँडिन्छन् । अघिपछि पनि उदार र अनुदार भनेर दुई किसिमका पञ्च समूहहरू अस्तित्वमा छन् । त्यसैले निर्दलीय व्यवस्थाभित्र पञ्चायतले समूहगत राजनीतिलाई व्यवहारमा प्रयोग गरिआएको छ भन्नैपर्छ । समूहगत राजनीतिक अभ्यास छद्म गाउन भिरेको बहुदलीय अभ्यास नै हो । पञ्चायतले पछिल्लो चरणमा दुईदलीय व्यवस्थाको अभ्यास थालेको छ । त्यसैले व्यवहारमा प्रयोग भैसकेको बहुदलीय व्यवस्थालाई सिद्धान्ततः स्वीकार्न लाज मान्नुपर्दैन । निर्दल नामको पञ्चायतको विशेषणलाई बहुदलीयले विस्थापित गर्दा राम्रो हुन्छ ।’ अञ्चलाधीस, सिडियो, पुलिस अधिकारीहरू हेरेका हे¥यै भए । तत्काल न माइकको लाइन काटियो न त सभाहलबाटै गिरफ्तार गरिहाल्ने निर्णय लिने तत्परता देखाए । उनीहरूले कारवाहीको निर्णय लिनेबेलासम्म मैले नेटो काटिसकेको थिएँ । प्रशासनले छोड्न त किन छोड्थ्यो र ? शिखमा पुलिसलाई हातपात गरेको भनेर सार्वजनिक मुद्दा लगाइयो र पञ्चायत ज्युँदो रहुञ्ज्याल तारेख बोकाइएथ्यो । मैले पुलिसलाई पिटेको भनिएको ठाउँमा पञ्चायत ढलेको पनि तीन बर्षपछि स्थानीय निर्वाचनको सन्दर्भमा मात्र पुग्ने अवसर मिलेको थियो ।

यतिखेर मर्यादा बिर्सिएर व्यवस्थाको विरुद्धमा उत्रने राजावादी अभियन्ताहरूको ताउमाउर निकै उत्ताउलिदै गएको छ । जुन व्यवस्था पुनस्थापनका लागि घाँटी सुकुञ्जेल कराउँदै कुर्लँदै पैरवी गर्दैछन् त्यो व्यवस्थामा नागरिक अधिकार कस्तो थियो भन्ने उदाहरण हो त्यो सानो घटना । ‘केजातिले च्याउ खाएको न मुख बाएको’ भनेजस्तो यसरी न्वारानदेखिको बल निकालेर कुर्लन मात्रै होइन मर्यादा नाघेर हिड्न बोल्न पाउने अधिकार कस्ले कसरी दिलाएको हो भन्ने कुरा नबुझ्ने नादान केटाकटी नजानेर उफ्रिपाफ्रि गर्नु स्वाभाविक होला । जस्ले त्यो व्यवस्थाको भुक्तमान खपेर आएको छ त्यो पनि उम्लेको देख्दा आश्चर्य लाग्दो रहेछ । हो, तिनीहरूमध्येका केहीलाई भने आफ्नो लुटको स्वर्ग गुमेको थकथकी अवश्य छ ।

हाम्रोजस्तो जनताको आर्थिक अधिकार संविधानको शोभा मात्र भएको गणतन्त्रले नागरिकहरूलाई दिने भनेको भुक्ने अर्थात बोल्ने अधिकार मात्र हो । अराजकताको हदैसम्म नागरिकलाई बोल्ने लेख्ने अधिकार दिइएको छ । संविधानमा जेसुकै लेखिएका भए पनि गणतन्त्रले नागरिकहरलाई दिएको एकमात्र मौलिक अधिकार निर्वाध अभिव्यक्तिको स्वतन्त्रता हो । भर्खर भर्खर पाएको अधिकार भएको हुनाले नेपालीहरूले त्यसलाई आवश्यकताभन्दा अलि बढी नै प्रयोग गर्न थालेका हुन् कि जस्तो लाग्दछ । नेपालीहरूको लागि वाक स्वतन्त्रताको अधिकार केटाकेटीको हातमा परेको नयाँ खेलौनाजस्तै भएको छ । जसरी नयाँ खेलौना पाएपछि बच्चाले सुत्दासमेत च्यापेर सुत्छ त्यसैरी बोल्नुपर्ने नपर्ने, बोल्न मिल्ने नमिल्ने विषय र ठाउँमा नेपालीहरूले वाक स्वतन्त्रताको अकुण्ठित उपभोग गरिरहेका छन् । लामीछाने र शाहीहरूजस्ता वाचाल र नादान केटाकटेकीहरूको उत्ताउलोपन त्यसैको उदाहरण हो । तिनका विरुद्ध सरकारी पार्टीहरूका भातृसंगठनहरूले अनेकवलीका फरमान जारी गर्न थालेका छन् । त्यो अर्को खालको नादानी हो । ती चिचिला केटाकेटीहरू कराउँछन् कराउँछन्, थाक्छन् र थन्किन्छन् । तिनीहरूको वाचाल प्रवृत्तिले न समाजलाई कुनै दिशा निर्देश गर्दछ न देशमा व्याप्त भएको कुरीति र व्यथितिमा लगाम नै लगाउँछ । सत्ताको त झन् रौं पनि झर्दैन ।

देशमा यतिखेर देखिन थालेको कोकोहोलो के हो भन्ने कुरा यसरी बुझ्न सजिलो होला सायद ः
लोक व्यवहारमा कुकुर र फलामे सिक्री आपसमा अन्तर्सम्बधित हुन्छन् । घरघरमा कुकुरहरू पालिन्छन् । जहाँ कुकुर पालिन्छन् त्यहा फलामे सिक्रीका पनि अवश्य हुन्छन् तर सबै सिक्रीहरू सदाकाल प्रयोगमा आउँदैनन् । किनकि कुकुरहरू सबै र सधैं ह्रिंसक हुदैनन् । सामान्यतः मानिसमाथि जाइनलाग्ने कुकुरहरूको घाँटीमा सिक्रीको बन्धन पर्दैन । अर्थात घरघरका सबै कुकुरहरूलाई भुक्ने स्वतन्त्रता रहन्छ । उनीहरूको भुक्ने वानी प्रतिवन्धित हुँदैन । जब कुकुरले मानिसलाई टोक्न थाल्छ तब उसको घाँटीको साङ्लो बाँधिन्छ । भुक्नका लागि कुकुरहरूले घत हेरिरहनु पर्दैन । भुक्नुपर्ने नपर्ने जहाँ र जहिले भुके पनि हुन्छ । तर मानिसहरूलाई टोकिहाल्ने स्वतन्त्रता उनीहरूलाई हुँदैन । कुकुरहरू दिनको उज्यालोमा भन्दा रातको अन्धकारमा बढी भुक्छन् । शुक्लपक्षमा भन्दा कृष्णपक्षमा बढी कुकुरभुकाई सुनिन्छ । कुकुरहरू किन भुक्छन् भन्ने प्रश्नको मनोवैज्ञानिक कारण खोजिगर्दा उनीहरूमा रहेको डरछेरुवा प्रवृत्ति मुख्य कारण देखिन्छ । गाउँघरका कुकुरहरू रातरातभर भुकिरहन्छन् । किनकि रातपरेपछि घरमालिकहरू झ्याल ढोका थुनेर सुतिदिन्छन्, बत्तीहरू निभ्नाले चारैतिर अन्धकारको राज हुन्छ । रातको निष्पट्ट अन्धकारमा कुकुरहरूले आफूलाई थप असुरक्षित ठान्छन् र ससानो आवाजसँग तर्सेर भुक्छन् । भुकिरहन्छन् ।

हाम्रा गाउँघरतिर स्याल र कुकुरलाई ‘मामा–भाञ्जा’ भन्ने चलन छ । कुकुर ह्रिंसक हुन्छन् । कहिलेकहीँ चितुवा र व्वाँसाजस्ता आफूभन्दा बलिया जनावरमाथि समेत कुकुरकहरूले आक्रमण गर्छन् । भेडीगोठका कुकुरहरूले चितुवामाथि आक्रमण गरेर ज्यान समेत लिदिन्छन् । स्यालभन्दा कुकुर बलियो हुन्छ । मकै, आलु लगायतका अन्नबाली नोक्सान गर्ने वा कुखुरा र हाँसजस्ता घरपालुवा पंक्षीको शिकार गर्ने स्यालहरूलाई कुकुहरूले लगार्छन् । लगारेर निकै टाढा टाढासम्म पु¥याउँछन् तर जब स्याल पछि फर्केर दाँत देखाउँछ कुकरहरू लुरुक्क्क परेर फर्कन्छन् । त्यसैले होला स्याललाई कुकुरको भान्जो भनिन्छ । वास्तवमा राजनीतिमा हुने टोकाटोक र आलोचना प्रत्यालोचना पनि मामा भाञ्जाको खेल जस्तै हुन्छ । राजनीतिमा कोही स्थायी शत्रु वा मित्र हुदैन भनेको त्यसैले त होला नी ! जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here