काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले राष्ट्रको विकास युवाका कारण भएकाले समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहेको जनाउनुभएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा आजदेखि शुरु गरेको ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रममा गृहमन्त्री थापाले संसार बदल्ने युवा जनशक्ति भएकाले युवालाई समावेश गरेर अगाडि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले विकास, समृद्धि, शान्ति व्यवस्था र स्थायित्वलाई बलियो बनाउन युवा जनशक्तिको भूमिका महत्वपूर्ण रहेको जनाउनुभएको हो ।
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन यो अभियानले सहयोग पुग्ने उहाँको भनाइ थियो । उहाँले सडक दुर्घटनाका कारण वर्षेनी दुई हजारभन्दा बढी व्यक्तिको ज्यान जाने गरको भन्दै यस्ता अभियानलाई १५ दिनमात्र नभएर वर्षभरि चलाउनसके दुर्घटनामा समेत कमी आउने जनाउनुभयो ।
अभियान उपत्यकाको दरबारमार्ग, केशरमहल, जमल, त्रिचन्द्र कलेज अगाडि, वीर अस्पताल, न्यूरोड, त्रिपुरेश्वर, कलङ्की, महाराजगञ्ज, विएण्डबी अस्पताल, कोटेश्वरलगायतका २५ स्थानमा सञ्चालन हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिनुभयो । ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन २३ विद्यालय, दुई युवा क्लब, १६ यातायात प्रालि, १० ख्यातिप्राप्त कलाकार, १२ एयरहोस्टेजसहित ५०० स्वयंसेवकको सहभागिता रहने महाशाखाले जनाएको छ ।

















