अनिल केडियामाथि साढे ५६ करोड कर छली, अर्का अनिल केडियाबाट स्कुल सञ्चालनमा ठगी

304

काठमाडौं । न्यूरोडस्थित विद्युतीय कारोबार गर्दै आएका व्यापारी अनिल केडियामाथि साढे ५६ करोड रुपैयाँ कर छलीको छानबिन सुरु भएको छ । छानबिनका क्रममा उनका व्यक्तिगत र फर्मको नाममा रहेका सबै खाताहरु रोक्का गरिएका छन् । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०६८/६९ यता केडियाले राजस्व नतिरेको भन्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेर उनका व्यक्तिगत र फर्मको नाममा रहेका सबै खाता रोक्का गर्न अनुरोध गरेको हो ।

अनिल ट्रेड कन्सर्नबाट बास्तविक कारोवार लुकाई आयकर र मूल्य अभिवृद्धि करवापत ५६ करोड ४२ लाख रुपैयाँ राजस्व छलि गरेको विभाग अन्तरगतको आन्तरिक राजस्व कार्यालय नयाँ सडकले जनाएको छ ।

गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दा उक्त रकम बराबरको कर छली भएको पाइएको कार्यालयको भनाइ छ । कार्यालयका अनुसार उक्त कम्पनीका कागजात २५ पुस २०७५ मै बरामद गरिएको थियो । छानविन गर्दा केडियाले आफ्नो कम्पनीको कारोबार कर्मचारी र अन्य व्यक्तिका नाममा दर्ता गरी कारोबार भने आफैंले गर्दै आएको भेटिएको थियो ।

कर्मचारीका नाममा दर्ता गरेका फर्मरकम्पनीबाट टिभीका पार्टपूर्जा विदेशबाट आयात गरी सामसुङ, सोनी ब्राण्डमा टिभी उत्पादन गरी बजारमा पठाउने गरेको कार्यालयले तथ्य फेला पारेको हो ।

कार्यालयका अनुसार उक्त कम्पनीका लागि कूल ४० करोड २० लाख ६ हजार आयकर निर्धारण भएको थियो । त्यस्तै मूल्य अभिवृद्धि करतर्फ आव २०६८/६९ देखि २०७५/७६ सम्म १६ करोड २२ लाख २१ हजार रुपैयाँ तिर्नुपर्ने गरी कर निर्धारण गरिएको जनाईएको छ ।

कम्पनीको आव २०७५/७६ मा करयोग्य आय ८ करोड ९१ लाख ४९ हजार रुपैयाँ रहेको छ । यस रकमको विवरणसमेत समावेश गर्न कार्यालयले केडियाका नाममा पत्राचार गरेको छ । तर उनले म्याद थपको माग गर्दै आएका थिए ।

यसैबीच अनिल केडिया नाम गरेकै अर्का एक व्यापारीले सञ्चालन गर्दै आएको ललितपुरको जावलाखेलस्थित डिएभी स्कुल र कलेजमा पनि व्यापक आर्थिक अनियमितता र कर छलीका काम भईरहेको विश्वस्त सूत्रले जनाएको छ । तल्लो कक्षादेखि नै भारतीय पाठ्यक्रमसमेत पढाई हुने गरेको डिएभी स्कुलमा कलेजस्तर सम्मपनि भारतीय पाठ्यक्रम पढाउने गरिएको छ । स्रोतका अनुसार कलिला बालबालिकाहरुलाई भारतभक्त बनाउने पाठ्यक्रम यी केडियाले सञ्चालन गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here