काठमाडौं । कोरोना महामारीलाई देखाएर विभिन्न मुलुकले लागु गरेको आआफ्नै नियमका कारण नेपाली युवाले वैदेशिक रोजगारीमा जान समस्या खेप्दै आएका छन्। पछिल्लो समय संयुक्त अरब इमिरेटस् (युएई) ले लागु गरेको नयाँ नियमका कारण सोमबार डेढ सय यात्रु दुबई जानबाट रोकिएकाे थियाे।
युएई सरकारले जहाजको बोर्डिड पास लिनुभन्दा अघि विमानस्थलमा नै एन्टिजेन परीक्षण गरेकालाई मात्र आफ्नो मुलुकमा आउन दिने नियम लागु गरेको छ। नेपालमा अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्टिजेन परीक्षणको सुविधा नभएकाले दुबई जान लागेका डेढ सय यात्रु रोकिएका हुन्। यी यात्रुमध्ये ९० प्रतिशतभन्दा धेरै रोजगारीका लागि दुबई जाने युवा थिए।
नेपाल वायुसेवा निगमको आरए २२९ र हिमालय एयरलाइन्सको एचएन ५६५ उडानमार्फत दुबई उड्न विमानस्थल पुगेका यात्रु सोमबार त्यसै फर्किए। विमानस्थलका अधिकारीहरूका अनुसार एयर ट्रान्सपोर्ट अपरेसन दुबई सिभिल एभिएसन अथोरिटीले लागु गरेको नयाँ नियमका कारण कोही पनि यात्रु जान नपाउँदा जहाज रित्तै उडेका थिए।
युएईस्थित नेपाली दूतावासकी श्रम काउन्सिलर निर्मला थापाका अनुसार एयर ट्रान्सपोर्ट अपरेसन दुबई सिभिल एभिएसन अथोरिटीले तीन दिनअघि (७ अगस्ट) देखि नै उडानमा कडाइ गरेको हो। कोरोनाविरुद्ध खोप लगाएका यात्रुलाई पनि ४८ घण्टाभित्र गरिएको कोरोेना परीक्षणको रिपोर्ट र विमानस्थलमा गरिएको एन्टिजेन परीक्षणको रिपोर्ट अनिवार्य गरिएको उनले जानकारी दिइन्।
‘नेपालमा बढ्दै गएको कोरोना संक्रमणका कारण यूएईले नेपाललाई रेड जोनमा राखेको छ। संक्रमणकै कारण काठमाडौं–दुबई उडानमा परीक्षणको दायरा परिवर्तन गरिएको हो,’ नागरिकसँग टेलिफोनमा उनले भनिन्, ‘नयाँ नियम कहिलेसम्म जारी रहन्छ भन्ने नेपालको कोरोना संक्रमणको दरमा भर पर्ने देखिएको छ।’
हाल आवासीय भिसा भएका र कर्मचारीका लागि मात्रै युएईले प्रवेश अनुमति दिएको छ। त्यसका लागि उडान समयभन्दा चार घन्टाअघि एन्टिजेन परीक्षण, ४८ घन्टाअघि गरिएको पिसिआर परीक्षण रिपोर्ट अनिवार्य गरिएको उनको भनाइ छ। नागरिक दैनिकबाट


















