काठमाडौं । दुई सातायता कोरोना संक्रमण बढेपछि उपत्यकाका कोभिड अस्पतालमा गम्भीर बिरामीको चाप पनि वृद्धि भएको छ। त्रिवि शिक्षण अस्पतालका श्वासप्रश्वास तथा छातीरोग विशेषज्ञ डा निरज बमका अनुसार चारपाँच दिनयता गम्भीर लक्षण भएका कोरोना संक्रमितले आइसियु र एचडियु भरिइसकेको छ।
यो अस्पतालमा ४० बेडको आइसियु, ३० वटा भेन्टिलेटर र १० वटा एचडियु कुनै पनि खाली छैनन्। जनरल बेडमा पनि ९० जना भर्ना भइसकेका छन्। ‘एक सातायता बिरामीको संख्या ह्वात्तै बढेको हो’, उनले भने।
केही दिन यता छिमेकी र तराईका जिल्लाबाट रेफर भएर आउने बिरामी र सुरक्षाको खोजीमा आफैं भर्ना हुन आउने बिरामीका कारण अस्पताल भरिभराउ हुँदै गएको डा। बमले बताए ।


















