उदयपुर । त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया किशोरी कृशला चौधरीको हत्यामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन जनालाई पक्राउ गरेको छ। यही साउन १३ गतेदेखि बेपत्ता भएकी कृशलाको १९ गते मोहनपुरको राजदेवी सामुदायिक वनमा विभत्स अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ।
कृशलाका बुबा प्रेम चौधरीका अनुसार छोरी १३ गते जङ्गलमा घाँसदाउरा गर्न गएकी र सोही समयदेखि अचानक हराएकी थिइन्। खोजी गर्ने क्रममा साउन १९ गते स्थानीय राजदेवी सामुदायिक वनमा उनको बिभत्स अवस्थामा शव फेला परेको हो। जङ्गलमा घाँसदाउरा गर्न गएका बेला केही समूहले जबर्जस्ती करणी गरेर उनको विभत्स ढङ्गले हत्या गरेको हुनसक्ने मोहनपुरका स्थानीयवासी खगेन्द्र कटुवाल बताउँछन्।
प्रहरीका अनुसार कृशलाको शवको यौनाङ्ग क्षतविक्षत भएर डढेको, शरीरका धेरै भाग डढेर कालो भएको, दाँत भाँच्चिएको चिन्न नसक्ने अवस्थामा भेटिएको थियो। हत्याका विषयमा अहिले प्रहरीले गम्भीर ढङ्गबाट अनुसन्धान सुरु गरेका कारण केही समयभित्रै सत्यतथ्य बाहिर ल्याउन लागेको उदयपुर प्रहरीले बताएको छ।
अहिलेसम्म अनुसन्धानका क्रममा तीन जनालाई पक्राउ गरिएको र आवश्यकतानुसार अन्य सबैको अनुसन्धान हुँदै जाने पनि प्रहरीले बताएको छ। कृशलाको हत्या विषयमा तथ्य कुरा र हत्यारा पत्ता लगाउन शव र शरीरका अन्य भागको समेत फोरेन्सिक परीक्षणका लागि स्वास्थ्य प्रयोगशाला पठाइएको प्रहरीले बताएको छ।
हत्यामा संलग्न अरु चाँडै पक्राउ पर्ने र केही व्यक्तिलाई अनुसन्धान दायरामा ल्याइएका कारण हत्यारालाई पत्ता लगाएर कारवाही गरिछाड्ने उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले बताए। रासस

















