खोटाङ- जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि हालसम्म ३३ हजार बढीको विवरण दर्ता भएको छ ।
राष्ट्रिय परिचयपत्र वितरणका लागि हालसम्म जिल्लामा नेपाली नागरिकता प्राप्त गरेका ३३ हजार ७५० जनाको विवरण संकलन गरिसकिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जनाएका छन् ।
राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ जिल्ला प्रशासनको राष्ट्रिय परिचयपत्र वितरण दर्ता स्टेसनबाट गत १ साउनदेखि तथा विभिन्न स्थानीय तहमा स्थापना गरिएको अस्थायी स्टेसनबाट गत १५ माघदेखि विवरण संकलन धमाधम भइरहेको छ ।
राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी कार्यविधि, २०७५ बमोजिम स्थानीय तहमा सञ्चालन गरिएको दर्ता स्टेसनबाट हालसम्म २९ हजार ५ सय ३० जनाको विवरण दर्ता गरिसकिएको छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र वितरण दर्ता (स्टेसन) बाट हालसम्म ४ हजार २ सय २० जनाको विवरण संकलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत १५ माघदेखि ५ फागुनसम्म रावाबेँसी गाउँपालिकामा सञ्चालन गरिएको स्टेसनबाट ५ हजार ५८ जनाको विवरण संकलन गरिएको छ ।
यस्तै, १९ माघदेखि १९ फागुनसम्म हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालन गरिएको स्टेसनबाट १० हजार ७ सय २० जना र गत ९ देखि २५ फागुनसम्म एेासेलुखर्कमा सञ्चालन गरिएको स्टेसनबाट ६ हजार ४ सय ३८ जनाको विवरण दर्ता गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २० फागुनदेखि र केपिलासगढीमा २९ फागुनदेखि राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण दर्ताको काम भइरहेको छ । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ हजार ८ सय ४७ जना र केपिलासगढीका ४ सय ६७ जनाको विवरण दर्ता भएकाे छ । यसका साथै दिप्रुङ चुइचुम्मा र साकेला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण दर्ता स्टेसन सञ्चालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जनाए । क्रमशः अन्य स्थानीय तहमा विवरण दर्ता स्टेसन सञ्चालन हुनेछ ।
विवरण दर्तापछि १६ वर्ष उमेर पुगेका र नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने नेपाल सरकारको तयारी छ । राष्ट्रिय परिचयपत्र नागरिकको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त र बहुउपयोगी प्रमाणपत्र हो ।


















