–निशा तामाङ
‘समृद्ध नेपाल सुखी नेपाली’ नारा लिएर देश विकासको बाटोमा अगाडि बढ्दै गएको वर्तमान सरकारले चिनियाँ रेल र सुरुङमार्गदेखि विमानस्थलसम्मको विकास गर्नेतर्फ जोड दिँदै आएको छ । धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्ग निर्माण सम्झौता गरेको छ । सडक विभागअन्तर्गतको नागढुंगा सुरुङमार्ग आयोजनाले जापानी कम्पनी हाज्मारआन्दो जेभीसँग ठेक्का सम्झौता गरेको बुझिएको छ । सुरुङमार्ग निर्माणको काम साढे ३ वर्षमा तयार हुने जनाइएको छ । सरकारले भएकै सडकको सही व्यवस्थापन गर्न नसकिरहेको बेला यसरी चीनियाँ रेल र सुरुङमार्ग निर्माण गर्ने योजना सार्वजनिक आश्चर्यजनक छ । काठमाडौंको सडक हेर्ने हो भने सडकमा हिलो, धुवाँ र धुलोले जनता आक्रान्त छन् । यस्तो अवस्थामा सरकार कुन गतिमा विकासतर्फ अग्रसर भइरहेको छ भन्ने बुझ्न कठिन छैन ।
सरकारले यो वर्ष पर्यटनलाई लक्षित गर्दै पर्यटन वर्ष २०२० मनाउनेतर्फ पनि धुमधाम तयारी गरिरहेको देखिन्छ । फेसबुक र युट्युबका भित्तासमेत पर्यटन वर्ष २०२० को ब्यानरले रंगिएका देखिन थालेका छन् । तर सरकार भने सडकको धुलोसमेत व्यवस्थित गर्न असफल भइरहेको छ । सडक निर्माण गर्नु त कता हो कता पर्यटन भित्र्याउन मात्र सरकार तल्लीन भएको देखिन्छ । आएका पर्यटकहरू पनि कति दिन बस्न सक्लान् भन्ने प्रश्न उठ्न सक्छ । पर्यटन भिœयाउन मात्र होइन एकपटक आएका पर्यटकलाई फेरि–फेरि नेपाल आउने वातावरणको सृजना गर्न सक्ने खालको वातावरण बनाउन जरुरी छ । सडकको धुँवा, धूलो र हिलोमा पर्यटक कसरी रमाउन सक्लान् र ? यसतर्फ सरकारले सचेत भएर सोच्ने पो हो कि ?
कुरा गरौं सुरुङमार्ग निर्माणकै । नौबीसेदेखि थानकोटसम्मको सडक खण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । यस्तो ट्राफिक जाम न्युनीकरण गर्ने भन्दै सरकारले सुरुङ मार्गको योजना अघि सारेको हो । यो स्वागतयोग्य पनि हो । तर सुरुङमार्ग निर्माणमा लाग्ने लागतले वर्तमान सडकको अवस्थालाई सहज बनाउन सक्ने हो भने तत्कालै मनोरञ्जनको लागि छोटो दुरीको सुरुङमार्ग कति आवश्यक हो ? जापान सरकारको डिजाइनमा बन्न लागेको यो सुरुङमार्ग निर्माणका लागि अहिले जग्गा अधिग्रहणको काम प्रारम्भ भइरहेको जनाइएको छ । तर, स्थानीयबासीसँग विवाद टुंगिएको छैन । सहायक मार्गका लागि सडक विभागले आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया पनि चलाइरहेको छ । स्थानीयवासी जग्गा अधिग्रहणको विरोध गर्दै आइरहेका छन् । बाटो बनाउन भन्दै विचारै नगरी जताततै डोजर लगाएर वनजंगल फडानी गरी हरिया डाँडाहरूलाई शहरमा रूपान्तरित ठूला ठूला भवनहरू बनाएर मात्र विकास भएको ठान्नु हुँदैन ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा निर्माण गर्न लागिएको निजगढ विमानस्थल पनि त्यस्तै विवादित बन्दै आएको छ । सरकारले अत्यन्त व्यस्त रहेको पुरानो र एकमात्र विमानस्थलको रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा निर्माण गर्न लागेको निजगढ विमानस्थल निर्माण गर्नु आवश्यक भए पनि त्यति धेरै रुख कटानी गरेर निर्माण गरिने विमानस्थलबारे पनि सोच्नैपर्ने आवश्यकता हुन्छ । वातावरणलाई नै प्रभावित बनाएर भौतिक संरचना निर्माण गर्दा हुने जोखिमका बारेमा सोच्दै नसोची काम थालनी गर्नु कुनै पनि हिसाबले ठीक मान्न सकिंदैन । विमानस्थल वा कुनै पनि भौतिक संरचना निर्माण गर्दा कसरी कम वातावरणीय क्षति गरेर निर्माण गर्न सकिन्छ ? कसरी जनतालाई कम नोक्सानी र बढी लाभ पुग्ने गरी योजना बनाउन सकिन्छ ? कसरी देशलाई फाइदा पुग्न सक्ने बनाउन सकिन्छ ? आदि विषयमा गम्भीरतापूर्वक विचारै नगरी योजना कार्यान्वयन गर्न खोज्ने सरकारको कार्यशैलीका कारणबाट जनता विरोधी हुने, योजना विलम्ब हुने, लगानी बढ्नेलगायतका समस्याहरू सृजना भइरहेका देखिन्छन् । यस्ता समस्या झेल्न नपर्ने सवालमा विकल्पबारे अध्ययन नगरी निर्माण गर्नु गलत हो । प्रकृति दोहनका कारण पानीका मुहानहरू सुकिरहेका छन् । जथाभावी सडक खन्ने नाममा पहिरोले ग्रामीण वस्ती नै जोखिममा परेका छन् । विकासका नाममा देशको भू–बनावटलाई ख्यालै नगरी काम थालनी गर्नु कति उपयुक्त हो ? विकासको नाममा विनास रोक्न सकिएन भने भोलि अर्काे समस्यासँग जुध्नुपर्ने अवस्था आउन सक्छ । ध्यान पु¥याउन जरुरी छ । [email protected]
जनधारणा साप्ताहिक
















