काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच काठमाडौंमा भएको ६ बुँदे सहमति हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली उभिनुले उक्त सहमति नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच मात्रै नभएर नेपाल र चीन सरकारबीच भएको जस्तो देखिएको बताउँदै गम्भिर आपत्ति जनाएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता केसीले प्रशिक्षण कार्यक्रममा नेकपाका नेताहरुले चिनियाँ नेताहरुबाट गायत्री मन्त्र सुनेको ढंगले कुरा सुनेको टिप्पणी गरे । उनले भने,‘मेरो सबैभन्दा ठूलो आपत्ति के छ भने–जुन ६ बुँदो सम्झौता भयो, त्यो कार्यक्रममा माधव नेपाल हुनुमा आपत्ति होईन, उहाँ त विदेश विभाग प्रमुख हो । प्रचण्ड हुनुमा पनि कुनै आपत्ति छैन् । उहाँ पनि पार्टीको नेता हो । तर, प्रधानमन्त्रीनै उभिनुलाई मैले गम्भिर रुपमा लिएको छु । प्रधानमन्त्री उभिनुको अर्थ यो चाहीँ दुई राष्ट्रबीचको सम्झौताजस्तो देखिन्छ । नेपालमो भौगोलिक यथार्थता र बाध्यताहरु छन् । यसका जुन असंलग्नता र छिमेकीसँगहरुको सम्बन्ध छन्, त्यसलाई पनि यसले गम्भिर प्रभाव पार्न सक्छ भन्ने कुरा चाहीँ मेरो आफ्नो सोच छ । तर, आउने दिनहरु पर्खौ र हेरौं ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टी–पार्टीबीचमा भाईचारा सम्बन्ध राख्नु स्वभाविक भएको सुनाए । ‘पार्टी–पार्टीबीच भाईचारा सम्बन्ध स्थापित हुनुलाई हामीले साधारण रुपमै लिएका छौं ।’–उनले अघि थपे,‘चिनियाँ कम्युनिष्ट पार्टीसँग नेपाली कांग्रेसको पनि भाईचारा सम्बन्ध छ । हामी त्यो सम्बन्धलाई जहिलेपनि उच्चतम रुपबाट सम्मान गर्छौं । तर, कुरा अहिले के आईरहेको छ भने सि जिनपिङ विचाराधाराको प्रवेश जसरी नेपालमा भएको छ, त्यो प्रवेश स्वयममा आश्चर्यजनक रुपबाट भएको छ । ६ बुँदे सम्झौता जुन भयो । त्यो पार्टी र पार्टीको बीचमा भन्दापनि एउटा सरकार र अर्को सरकारबीच भएको सम्झौताको रुपमा त्यहाँ प्रधानमन्त्री उभिनुभएको छ । प्रधानमन्त्री नेकपाको मात्रै अध्यक्ष होईन । मेरो देशको प्रधानमन्त्री, मेरोपनि प्रधानमन्त्री हो । त्यो हस्ताक्षर चीन र नेपालबचिको हस्ताक्षरजस्तो देखियो ।’
उनले उक्त प्रशिक्षण कार्यक्रममा नेकपाको तर्फबाट एउटा कार्यपत्र प्रस्तुत नभएकोमा पनि आपत्ति जनाए । उनले भने,‘त्यहाँ नेकपाको तर्फबाट एउटा कार्यपत्र प्रस्तुत भएर हामी कम्युनिष्ट हौं । हाम्रो कम्युनिष्ट व्यवस्था र पद्धती बहुदलीय प्रतिष्पर्धात्मक पद्धतीमा छ भनेर भनेको भए, त्यो बहुदलीय पद्धती र सि विचाराधार कहाँसम्म मेल खान्छ ? त्यो बाटो खुल्ने प्रयत्नभन्दापनि कार्यपत्र उनीहरुको प्रस्तुत भयो । हाम्रा साथीहरु सुनेर बस्नुभयो । त्यसको अर्थ अब सि जिनपिङ विचारधाराको एकदलीय पद्धती कम्युनिष्टसँग हाम्रा कम्युनिष्ट पार्टी जान लाग्या हुन त ? यो अत्यन्त गम्भिर प्रश्नको रुपमा छ । किनभने एकातिर लोकतन्त्रको आवरणमा नेकपाले अहिले सम्पूर्ण सत्ता केन्द्रिकृत गरेको छ र प्रशिक्षणमा उहाँहरुबाट सुन्नेमात्रै काम भयो । यसलाई मैले अत्यन्तै गम्भिर रुपमा लिएको छु ।’
उनले चीनले अहिलेसम्म ‘क्वाईट–डिप्लोमेसी’ गर्दै आएको सुनाउँदै भने,‘अब ओपन डिप्लोमेसीमात्रै होईन, उसको सि विचारधाराको प्रचार थलोको साउथ एशियामै प्रारम्भको रुपमा चाहीँ चीनले नेपाललाई प्रयोग गरेको छ । हामी सि विचाराधारा होईन, विकास र कुटनीतिमा साझेदारी चाहन्छौं । त्यहाँको आर्थिक विकास र प्रविधको नमूनाहरुलाई नेपाल भित्र्याउन चाहन्छौं । तर, विचारधारा होईन। हामी एकदलीय कम्युनिष्ट शासन वा सर्वसत्तावादी विचारसँग कहिले सहमत भएनौं ।’
उनले नेपालमा नेकपाले शासन÷सत्ता पाएको बहुदलीय प्रतिष्पर्धात्मक कम्युनिष्ट भएर पाएको केसीले सुनाए । उनले भने,‘त्यो कुरा उनीहरुले सम्झिनुपर्ने आवश्यकत्ता छ । तर, केही नेकपाका युवा नेताले यो बिआरईसँग सम्बन्धित भनेर टिप्पणी गरेको पनि मैले सुनें । बिआरई भौतिक पूर्वाधार र विकाससँगमात्रै सम्बन्धित् । यो विचारसँग सम्बन्धित होईन् । यसमा सि जिनपिङ विचार जोड्न मिल्दैन् ।’
चिनियाँ राष्ट्रपति सिको १४ वटा बुँदे सुत्र चीनको लागि यथार्थ भएपनि ती सूत्रहरु आफूहरुले सापटी लिन नचाहेको केसीको स्पष्ट भनाई छ । उनले भने,‘नेकपाले के अब देशमा विस्तारै एकदलीय कम्युनिष्ट शासनतर्फ उन्मुख गराउन खोजेको हो ? म प्रश्न गर्न चाहन्छु । तर, अहिले नै अविश्वास नगरौं ।’ पछिल्लो समय नेकपाको व्यवहार प्रतिष्पर्धीमाथि आक्रमण गर्ने खालको देखिएको सुनाउँदै केसीले कञ्चनपुर र बाँकेलगायत जिल्लामा कांग्रेस नेतामाथि भौतिक आक्रमण भएको घट्ना सुनाए । उनले थपे,‘त्यसैले उसको व्यवहार देखेर एकदलीय कमयुनिष्ट पद्धतितर्फउन्मुख आरम्भ हो कि भन्ने हाम्रो आशंका छ ।’
उनले आफूहरु अहिले आफ्नो आन्तरिक व्यवस्थापनमा केन्द्रित रहेको सुनाए । उनले भने,‘नेपाल कम्युनिष्ट पार्टीको यही अलोकतान्त्रिक धारबाट जसरी गैरहेको छ । अहिलेको जुन परिस्थिति छ । त्यो परिस्थितिले कांग्रेसलाई बाध्य भएर सोच्न विवश बनाएको छ । हामीले जसरी नेपालको इतिहामा तीन वटा क्रान्तिको नेतृत्व गर्यौं । अब चौथो क्रान्ति कम्युनिष्टको विरोधमा गर्नुपर्ने आवश्यकत्तातर्फ समयले घचघचाएको छ ।’
नेता केसीले कांग्रेसले भर्खरै दोस्रो चरणको जागरण अभियान सफलतापूर्वक सम्पन्न गरेको सुनाए । उनले जागरण अभियानको मुख्य उद्देश्य भनेको नै आन्तरिक सुसुप्ततालाई चेतनातर्फ डोर्याउनु रहेको सुनाए । पार्टीभित्र देखिएका कमीकमजोरी, त्रुटीहरु चेतनशील मार्गमा अघि बढाउने पनि जागरणको उद्देश्य रहेको उनको भनाई थियो । उनले भने,‘पार्टीमा पारदर्शीता अपनाउनुपर्छ । पार्टीलाई नेतामुखी नभएर नीतिमूखी बनाउने र व्यक्तिमूखी नभएर संस्थामुखी बनाउने कुरामा हामीले जोड दिनुपर्छ ।’
उनले नेकपाको नेतृत्वमा दुई तिहाई बहुमतको सरकार बनेपनि सोचेजस्तो स्थायित्व प्राप्त नभएको टिप्पणी गरे । उनले भने,‘अहिले दुई, तीन वटा मात्रै पार्टी हुनु मुलुक र जनताको लागि पनि राम्रो कुरा हो । यो सकारात्मक पक्ष हो । तर, सरकार दम्भ र निरंकुशतातर्फ उन्मुख भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका महत्वपूर्ण अंगहरु आफू केन्द्रित गरेका छन् । संवैधानिक अंगहरुमाथि निगरानी र नियन्त्रणको कोशिस गरेका छन् । सरकार लोकतान्त्रिक मूल्य र मान्यतामा चल्नुपर्छ ।’
वर्तमान सरकारले कहिलेकाहीँ यो भ्रष्टाचारमा प्रतिपक्षीको अनुहार छ र फलानाको पनि संलग्नता छ भनेर आरोप लगाउने गरेकोमा पनि उनले आपत्ति जनाए । उनले भने,‘तर, म त के भन्छु भने सरकारसँग यदि हिम्मत छ भने सरकारले जो भएपनि जनताको अघि ल्याएर नंग्याएर देखाए हुन्छ । सरकार साँच्चै भ्रष्टाचार विरोध अभियानमा लाग्ने हो भने प्रतिपक्षलाई नंग्याएर यो बेलामा जनताको बिचमा देखाउनु उसको निम्ति यो ठूलो सौभाग्य होईन र ? तर, सरकार यो गर्न सक्दैन। किनभने उ सबै आफैं डुबेको छ ।’
















