काठमाडौं / युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले १३ औँ दक्षिण एसियाली खेलकुद समयमै हुने दाबी गरेका छन् ।
बिहीबार बसेको सिंहदरबारस्थित मन्त्रालयमा साग तयारी समितिको बैठकमा मन्त्री विश्वकर्माले मंसिरमा आयोजना हुने तय भए पनि पूर्वाधारका कारण समयमै हुने वा नहुने अड्कलबाजी भइरहेका वेला समयमै हुने दाबी गरेका हुन् ।
सागबारे अन्योलमा नबस्न मन्त्री विश्वकर्माले आग्रह समेत गरे । मन्त्रिपरिषद्बाट साग कार्यविधि पारित भइसकेको अवस्थामा साग तोकिएकै मितिमा हुने उनको भनाई थियो । १३ औँ साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुने यसअघि तय भइसकेको थियो ।
बिहीबार बसेको बैठकले साग तयारीबारे विभिन्न १५ समिति बनाएको छ । जसमा राष्ट्रिय टिम तयारी, खेलस्थल व्यवस्थापन, प्राविधिक, स्रोत साधन परिचालन, सुरक्षा, आवास व्यवस्थापन, यातायात व्यवस्थापन, स्वास्थ्य, प्रचारप्रसार तथा प्रकाशन समिति, समारोह समिति, स्वयंसेवक परिचालन, अनुगमन, निरीक्षण तथा मूल्यांकन, अतिथि सत्कार, खेल सामग्री, उपकरण तथा पोशाक व्यवस्थापन र एन्टि डोपिङ समिति छन् ।

















