काठमाडौं / चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण दशैं लगत्तै हुने भए पनि कुन दिन राजधानी आइपुग्छन् भन्ने औपचारिक घोषणा भएको छैन । तर, उनको स्वागतमा राजधानीलाई चिटिक्क बनाउने काम धमाधम भइरहेको छ ।
राजधानीको सडक कालोपत्रे गर्ने, धुलो बढार्ने, सडकपेटीमा रंगरोगन गर्ने लगायतका काम धमाधम भइरहेका छन् । मध्यरातमा सडकमा कालोपत्रे बिछ्याउने चटारोसमेत सरकारलाई यहीबेलामा परेको छ ।
आज फूलपातिको दिन पनि नयाँ बानेश्वर क्षेत्रमा सडकपेटी तथा भित्ताहरु रंगाउने, फ्लेक्स बोर्डहरु राख्ने काममा मजदुरहरुलाई खटाइएको छ ।
समय समयमा अन्तरराष्ट्रिय पाहुनाहरु नेपाल भ्रमणमा आउँदा राजधानीलाई यसरी सिँगारेर चिटिक्क बनाउने गरिएको छ ।


















