काठमाडौं / अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेको छ। सोमबार दुबईमा सम्पन्न आईसीसीको बैठकले सशर्त क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। आईसीसीले जारी गरेको विज्ञप्तिमा जिम्बावे र नेपाललाई आईसीसी सदस्यको रूपमा स्वीकार गरिएको पनि उल्लेख छ। यद्यपी आईसीसीले शर्तका विषय भने उल्लेख गरेको छैन।
आईसीसीले क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै तीन बर्षअघि क्यामाथि प्रतिबन्ध गरेको थियो। आईसीसीले आफ्नै निगरानीमा नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउँदै आएको थियो। नेपाल क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुरेलले आईसीसीको निर्णय नेपाली क्रिकेटको लागि स्वागत योग्य र सोचे अनुरुपकै कदम भएको जनाए ।
‘आईसीसीले नेपालसँग एसोसिएट राष्ट्रको रुपमा काम गर्नुपर्ने, शुसासन, आर्थिक पारदर्शिता, क्यानको अफिस सञ्चालन लगायत विषयमा विगतदेखि सर्त राख्दै आएका थिए । यसै सर्तमा हामी आईसीसीसँग छलफल गरेर अघि बढ्नेछौं,’ प्याकुरेलले भने। उनले नेपाली क्रिकेटमाथिको प्रतिबन्ध फुकुवा गरिदिएकोमा आईसीसीलाई धन्यबाद दिँदै नेपाली क्रिकेटले अब नयाँ गति लिने पनि जनाए ।

















