स्याङ्जा सहयोग समाज अन्तराष्ट्रीय कमिटिको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा जिबन न्यौपाने

253

स्याङ्जा / स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा जापानका जीवन न्यौपाने निर्वाचित हुनुभएको छ ।

स्याङ्जाको भिरकोट नपा–२ बयरघारीमा गत शनिबार सम्पन्न भएकाे तेस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिबाट निर्वाचित गरेको हो । अध्यक्षमा पाँच जनाको उम्मेदवारी परे पनि न्यौपानेका लागि सहमति जुटेको हो । ‘समृद्ध स्याङ्जाका लागि विश्व अभियान’ भन्ने मूल नाराका साथ सम्पन्न तेस्रो अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

समाजको वरिष्ठ उपाध्यक्षमा प्रकाश श्रेष्ठ, उपाध्यक्षमा हरिप्रसाद लुइँटेल, महिला उपाध्यक्षमा माया केसी र एक जना पछि थप गरिने बताइएको छ । त्यस्तै महासचिवमा हेमन्त रानाभाट, सचिव तथा प्रवक्तामा मुक्ति सुवेदी, सचिवमा मोहनीलाल खनाल, कोषाध्यक्षमा खगेन्द्र गैरे, सह-कोषाध्यक्षमा डोलराज डुम्रेसहित अन्य सदस्य रहेका छन् ।

शनिबार सम्पन्न अधिवेशनले समाजको प्रमुख संरक्षकमा राजेशदर्शन अर्याललाई चयन गरेको छ भने सल्लाहकार, क्षेत्रीय संयोजक, स्थानीय संयोजक पनि चयन गरेको छ । सम्मेलनमा २० देशमा रहेका राष्ट्रिय समन्वय समितिका १०र१० जनाको दरले प्रतिनिधि सहभागी भएका थिए ।

समाजका नवनिर्वाचित अध्यक्ष न्यौपानेले स्याङ्जा जिल्लाको बृहत्तर हितका लागि स्थानीय तहहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाजले विगतका दिनहरुमा जिल्लाबाट रोजगारी तथा अध्ययनको सिलसिलामा विदेशी भूमिमा अप्ठ्यारोमा परेका विशेषगरी स्याङ्जा जिल्लावासीलाई आवश्यक सहयोग गर्दै आइरहेको बताउँदै आगामी दिनमा पनि सहयोगका कार्यलाई निरन्तरता दिँदै जाने अध्यक्ष न्यौपानेले उल्लेख गर्नुभयो ।

“विदेशी भूमिमा रहेका स्याङ्जालीहरु तथा स्वदेशमै विभिन्न अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यले समाजको स्थापना गरेका हौँ”, नवनिर्वाचित अध्यक्ष न्यौपानेले भन्नुभयो । शैक्षिक तथा सरकारी क्षेत्रमा अब्बल रहेको स्याङजाबासीको समाज विश्वका झण्डै २० देशमा सक्रियरुपमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here