काठमाडौं । विश्वकप २०२२ को छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । अम्मान अन्तर्राष्ट्रिय रंगशाला मंगलबार हिजो राति भएको खेलमा नेपाल घरेलु टोली जोर्डनसँग ३-० गोलअन्तरले पराजित भएको हो । नेपालभन्दा बलियो टोली मानिएको जोर्डनसँग पराजित भएसँगै नेपालले विश्वकप छनोटको दोस्रो चरणको सबै अवे खेल खेलिसकेको छ ।
नेपाली टोलीले जोर्डनसँग पहिलो हाफमा बहादुरीपूर्ण प्रदर्शन गर्दै पहिलो हाफ गोलरहित बराबरीमा रोक्न सफल भएता पनि दोस्रो हाफमा उक्त प्रदर्शनलाई नेपालले यथावत कायम राख्न सकेन । खेलको ५६औं मिनेटमा नेपालले गोल खान बाध्य भयो ।
फिरास शालबयाले पेनाल्टीबाट गोल गर्दै जोर्डनलाई अग्रता दिलाए । खेलको ७८औं मिनेटमा अहमद इर्सानले गोल गरेपछि जोर्डन २-० गोलले अघि रहृयो । दुई गोल खाएसँगै निकै दबावमा आएको नेपालले खेलको ८८औं मिनेटमा अर्को गोल खान पुग्यो । बाहा फइसलले गोल गर्दै जोर्डनलाई ३-० गोलको जित दिलाए । हारसँगै नेपालले चार खेलबाट तीन खेलमा हार र एक खेलमा जित हात पार्दै तीन अंक बनाएर समूह ‘बी’ को चौथो स्थानमा छ । विजेता जोर्डनको भने तीन खेलबाट दुई खेलमा जित र एक खेलमा बराबरीसहित सात अंक भएको छ ।


















