काठमाडौं / वुमन्स च्याम्पियन्स टि२० लिग क्रिकेट प्रतियोगितामा चितवनले जित हासिल गरेकाे छ । चितवनले ललितपुर फाल्कोन्सलाई ८९ रनले हरायो । शुक्रबार टीयू क्रिकेट मैदानमा चिवतनले १ सय ३६ रनको विजयी लक्ष्य दिएको थियो । ललितपुर १७ ओभर १ बलमा ४३ रन जोडेर अलआउट भएको थियो ।
ललितपुरको लागि कप्तान नेरी थापाले १७ रनको योगदान दिइन् । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । चितवनको सहज जितमा कविता गौतमले २ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । रितु कनौजियाले ३ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् । सुमन खतिवडा र रेखा रावलको नाममा समान १ विकेट रह्यो । टस हारेर ब्याटिङ थालेको चितवन २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ३५ रन जोडेको थियो। अनुभवी ब्याटर रितु कनौजियाले ५८ रनको अविजित अर्ध शतकीय इनिङ खेलिन् । कनौजियाले ५५ बलमा ८ चौका प्रहार गरिन् । कनौजियाले १५ ओभरको दोस्रो बलमा कविता जोशीलाई चौका प्रहार गर्दै ३९ बलमा अर्ध शतक पूरा गरेकी थिइन् ।
डब्लूसीएलमा यो तेस्रो र कनौजियाको पहिलो अर्ध शतक पर्दछ । प्यारी चौधरी २३ बलमा १ चौकासहित २२ रनमा अविजित रहिन् । चौथो ओभरको अन्तिम बलमा कप्तान नेरी थापाले ओपनर कञ्चन श्रेष्ठलाई बोल्ड गर्दै शूल्यमा पेभिलिएन फर्काइन् । ८औं ओभरको पहिलो बलमा करुणा भण्डारीले अर्की ओपनर काजल श्रेष्ठलाई १५ रनमा क्याच आउट गरिन् । १२ ओभरको अन्तिम बलमा नेरीले कप्तान इन्दु बर्मालाई १० रनमा एलबी डब्लू आउट गरिन् । ललितपुरका लागि कप्तान नेरी थापाले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् । करुणा भण्डारीको नाममा १ विकेट रह्यो ।
चितवनले पहिलो खेलमा क्याट क्विन्स काठमाडौंलाई ५ विकेटले पराजित गरेको थियो । चितवनले तेस्रो खेल शनिबार पोखरा पल्टनसँग खेल्नेछ । यता ललितपुरको यो लगातार दोस्रो हार हो । ललितपुर पहिलो खेलमा विराटनगर टाइटन्ससँग ४ विकेटले पराजित गरेको थियो । ललितपुरले आइतबार काठमाडौंसँग खेल्न बाँकी रहेको छ ।

















