कहाँ–कहाँ हुँदै छ उपनिर्वाचन ? कस्ता छन् दलका उम्मेदवार ?

116

काठमाडौं, कात्तिक १४ । निर्वाचन आयोगले आगामी मंसिर १४ गते मुलुकका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको रिक्त स्थानमा जनप्रतिनिधि चयनका लागि कुल ५१ स्थानमा उपनिर्वाचन गर्दै छ । उपनिर्वाचन हुनका लागि १ महिना बाँकी रहँदा दलहरुले कस्तो तयारी गर्दै छन् त ?

विभिन्न दलहरुले उपनिर्वाचन हुने स्थानका उम्मेदवारहरु चयन गरिसकेका छन् भने केहीले आआफ्ना उम्मेदवारहरु छनोट गर्न तीव्रता दिएका छन् । आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदै छ । नेकपाका लागि उक्त क्षेत्रका जनप्रतिनिधि तथा संघीय पर्यटनमन्त्री समेत रहेका रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि सो स्थान रिक्त रहेको थियो ।

नेकपाले सो स्थानमा अधिकारीकै पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेसले भने यसअघि सोही क्षेत्रका उम्मेदवार भई पराजित भएका देवराज चालिसेलाई उम्मेदवार बाउने तयारी गरेको छ । समाजवादी पार्टी गण्डकी प्रदेश कमिटीले धर्मराज गुरुङ, हेमबहादुर थापा (किरण) र रामबहादुर नेपालीको नाम केन्द्रमा सिफारिस गरेको छ । साझा पार्टीले रजनी केसीलाई उम्मेदवार घोषणा गरेको छ । राप्रपाले भने उम्मेदवारबारे छलफल गरे पनि टुंगो लगाउन सकेको छैन ।

त्यस्तै, प्रदेशअन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’, बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ र भक्तपुर–१ ‘ख’ मा रिक्त रहेको र ती स्थानमा पनि उपनिर्वाचन हुने आयोगले जानकारी दिएको छ । दाङ ३ (ख) बाट निर्वाचित उत्तरकुमार ओलीको कार दुर्घटनामा निधन भएपछि खाली भएको हो । भक्तपुर १ (ख) बाट निर्वाचित हरिशरण लामिछानेको उच्च रक्तचाप बढेपछि उपचारका क्रममा निधन भएको थियो । त्यस्तै, बाग्लुङ २ (ख) बाट गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको जन्डिसका कारण निधन भएको थियो ।

प्रदेश सभाका यी स्थानमा उम्मेदवारका लागि प्रमुद दलहरु नेकपा र नेपाली कांग्रेसमा थुप्रै नेताहरु आकांक्षी देखिएकाले छनोट प्रक्रिया लम्बिएको छ ।

त्यसैगरी स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४२ वडाध्यक्षका लागि पनि मंसिर १४ मा चुनाव हुँदै छ । सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाको निधन भएपछि उपनिर्वाचन हुनुपर्नेछ । त्यस्तै, तीनवटा गाउँपालिकाको अध्यक्ष पद रिक्त छ । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरी, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खडगबहादुर कटुवाल र पाँचथरको फाल्गुनानन्द गाउँपालिका अध्यक्ष अमरबहादुर नेम्वाङको मृत्यु भएर खाली भएको हो ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपप्रमुख सिन्धु हमाल शाहीको निधन भएपछि त्यहाँ पनि उपनिर्वाचन हुनुपर्नेछ । अर्घाखाँची मालारानी गाउँपालिका–३, मोरङ धनपालथान गाउँपालिका–२, पाँचथर हिलिहाङ गाउँपालिका–७, सिरहाको कल्याणपुर नगरपालिका–१२, प्युठानको ऐरावती गाउँपालिका १ र २ तथा प्युठान नगरपालिका–२ मा वडाध्यक्ष पद रिक्त छ ।

महोत्तरीको मटिहानी नगरपालिका–६, बलवा नगरपालिकाका ८ र २, संखुवासभा खाँदबारी नगरपालिकाका ३ र ५, नुवाकोट दुप्चेश्वर गाउँपालिका–१, सल्यान कुमाखमालिका गाउँपालिका–५, डोटीको आदर्श गाउँपालिका–२, बाग्लुङ बडिगाड गाउँपालिका–२, रामेछाप उमाकुण्ड गाउँपालिका–५, दाङको घोराही उपमहानगरपालिका–१६, बाँकेको कोहलपुर नगरपालिका–१६, सुनसरीको धरान उपमहानगरपालिका–७, बाजुरा त्रिवेणी नगरपालिका–१ मा पनि वडाध्यक्ष पद खाली छ ।

त्यस्तै, चितवनको खैरहनी नगरपालिकाका ४ र ५, रौटहटको गढिमाई नगरपालिका–२, अछामको मल्लेख गाउँपालिका–५, पर्साको सखुवा–पर्सौनी गाउँपालिका–५, काभ्रेका धुलिखेल नगरपालिका–२, सर्लाहीको हरिपुर्वा नगरपालिका–१, काठमाडौंको दक्षिणकाली नगरपालिका–३, बाराको बारागढी गाउँपालिका–१, गुल्मीको रुरु गाउँपालिका–६, बैतडीको दोगडाकेदार गाउँपालिका–४, सप्तरीको छिन्नमस्ता गाउँपालिका–७, रुपन्देहीको रोहिणी गाउँपालिका–७, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८, कञ्चनपुरको पुनर्वास नगरपालिका–३, खोटाङको साकेला गाउँपालिका–३, नवलपरासीको बुद्धिकाली गाउँपालिका–५ मा वडाअध्यक्ष खाली भएकाले उपनिर्वाचन गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here