काठमाडौं / गृह मन्त्रालयले उपनिर्वाचनका लागि तयार गरेको कार्ययोजना निर्वाचन आयोगले फिर्ता पठाएको छ ।
निर्वाचन आयोगले केन्द्रीय सुरक्षा समिति बैठकबाट पारित ‘उपनिर्वाचन सुरक्षा कार्ययोजना’ गृह मन्त्रालयमा फिर्ता पठाएको हो । आयोगले सो कार्ययोजना संशोधन गर्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयले तयार गरेको सुरक्षा कार्ययोजना आयोगले बनाएको ‘उपनिर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका–२०७६’ सँग मेल नखाएपछि उक्त कार्ययोजना संशोधनसहित पुनः पेस गर्न मन्त्रालयमै फर्काइएको आयोगस्रोतले जानकारी दिएको छ ।
आइतबार आयोगका पदाधिकारी, गृह र रक्षा मन्त्रालयका सचिव, नेपाली सेनाका रथी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितको सहभागितामा उपनिर्वाचन सुरक्षा तयारीसम्बन्धी संयुक्त बैठक बसेको थियो ।
निर्वाचन आयोगले आयुक्त ईश्वरीप्रसाद पौडेलको अध्यक्षतामा उच्चस्तरीय उपनिर्वाचन सुरक्षा समिति गठन गरेको थियो ।


















