काठमाडौं / आजदेखि निजी मेडिकल कलेजमा अध्ययनरत् विद्यार्थीहरुले राजधानी केन्द्रित आन्दोलन सुरु गरेका छन् । मेडिकल शिक्षामा भएको बेथिति र विसंगति अन्त्यको माग राखेका छन् । काठमाडौं बाहिरका मेडिकल कलेजमा अध्ययनरत् करिब तीन सय विद्यार्थीले माइतीघर मण्डलाबाट आन्दोलन सुरू गरेका हुन्। अाज दिउँसो मण्डलमा करिव एक घन्टा नारा-जुलुस गर्नु भयाे ।
आन्दोलनरत विद्यार्थीहरुले ‘मेडिकल माफिया मुर्दावाद’, ‘अतिरिक्त शुल्क फिर्ता गर’ लगायतका नारा लगाएका थिए । चितवन मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, भैरहवा र नेसनल मेडिकल कलेज, वीरगन्जमा अध्ययनरत् विद्यार्थी आन्दोलनको कार्यक्रम लिएर मंगलबार बिहान राजधानी आइपुगेका थिए। काठमाडौं आइपुगेलगत्तै आन्दोलन शुरू गरेका छन् । आन्दोलनमा सहभागी विद्यार्थीका अनुसार मेडिकल कलेजहरूले बढी लिएको शुल्क फिर्ताको मौखिक प्रतिबद्धता व्यक्त गरे।
चिकित्सा शिक्षा संघर्ष समितिले आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । सरकारले उपत्यका बाहिर गरिएको संघर्ष र आन्दोलनका कार्यक्रमहरुप्रति खासै चासो नदेखाएको आन्दोलनरत विद्यार्थीहरुको आरोप छ । भोलि गन्डकी मेडिकल कलेजका विद्यार्थी पनि थपिने र आन्दोलन तीन दिनसम्म जारी रहने संघर्ष समितिका संयोजक प्रकाश चन्द ठकुरीले जानकारी दिए ।





















