काठमाडौं– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्री विजयकुमार गच्छदारसँग लामो बयान लिएको छ ।
अख्तियार स्रोतका अनुसार अख्तियारका अनुसन्धान अधिकृतहरूले कात्तिक २२ गते (शुक्रबार) साँझ गच्छदारसँग ४ घण्टा लामो बयान लिएका हुन् । अख्तियारले साँझ ५ बजेदेखि ९ बजेसम्म गच्छदारसँग लामो बयान लिएको हो ।
बयानका क्रममा गच्छदारले मन्त्रिपरिषद्को नीतिगत निर्णय भएकाले यस प्रकरणमा आफ्नो कुनै भूमिका नभएको भन्दै बचाउको प्रयास गरेका थिए ।
प्रशासनिक तहबाट निर्णय भएर आएकाले मैले निर्णयमा हस्ताक्षर गरेर मन्त्रिपरिषद पठाएको हुँ । यसमा मेरो कुनै दोष छैन,’ गच्छदारको भनाइ उद्धृत गर्दै अख्तियार स्रोतले भन्यो ।
प्रमुख विपक्षी कांग्रेसका उपसभापतिसमेत रहेका गच्छदारलाई बयान नलिन अख्तियारमाथि नै उच्च दबाब पर्दै आएको थियो । तर, दबाबका बाबजुद अख्तियारले गच्छदारसँग बयान लिएको हो । राजधानी दैनिक

















