नाकाबन्दीमा म्याउ गर्न नसक्ने अहिले ढाडे बनेर कुर्लिन खोजेको सञ्चारमन्त्री बास्कोटाको टिप्पणी

213
कास्की / सूचना तथा सञ्चार प्रविधीमन्त्री गोकुल बास्कोटाले चुनाव हार वा जितसँग देशभक्तिको विषयलाई ल्याएर जोड्न नहुने जनाएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले नाकाबन्दीमा म्याउ गर्न नसक्ने देउवा अहिले आएर ढाडे बनेर कुर्लिन खोजेको टिप्पणी समेत गरेका छन् ।
देशभक्तिको प्रश्नमा हाम्रो भाषा लर्बरिदैन,‘ उनले भने ,‘नाकाबन्दीमा एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्नेले अहिले चाहिँ चुनाव आयो भनेर ढाडे बनेर कुर्लिएर हुन्छ ? चुनाव हार वा जितसँग यस्ता विषय ल्याएर जोड्नु हुँदैन ।’ उनले सर्बदलीय प्रधानमन्त्रीले बोलाएको बैठकमा ऐतिहासिक सहमति जुटेको भन्दै त्यतिबेला देउवाको असन्तुष्टी थिएन अनि अहिले चाहीँ चुनावी मसलाका रुपमा पोखरामा भाषण गर्नु अपत्यारिलो भएको जनाए ।
देउवाले झूठा आरोप लगाईरहँदा गण्डकी, कोशीमा सम्झौता गर्दाखेरि ती सबैको एकमुष्ट जवाफ देउवा र उनको पार्टी कांग्रेसले दिनुपर्ने जनाए । यसअघि नेपाल र भारत सीमा सम्बन्धका विषयमा वा विवादास्पद सन्धि-सम्झौताका बेलामा देउवाले आत्मसमर्पण गरेको समेत उनको आरोप थियो ।
सर्बदलीय बैठकमा कसैकोपनि असहमति थिएन,‘ उनले भने  – ‘ बैठकले दुइवटा निर्णय गरेको थियो, त्यो एउटा कुटनीतिक र अर्को राजनीतिक बाटोबाट समाधान खोज्नुपर्ने भन्ने छ ।’ एकपटक जनताको मत र फैसलाहरुमाथि अरु कसैले प्रश्न उठाउँदा त्यो नेपाली जनताको मत हो, फैसला हो भनेर बोल्न नसक्ने शेरबहादुर देउवाजीले केपी ओलीको राष्ट्रवादी अडान, क्षमता र संघर्षको कुरामाथि प्रश्न उठाउनु आफैंमा लज्जाजनक विषय भएको उल्लेख गरे ।
सरकारका प्रवक्ता समेत रहेका बास्कोटाले कास्कीमा चुनाव हुँदैछ, आचार संहिता लाग्छ कि लाग्दैन ? पत्रकारको प्रश्नमा यसरी जवाफ फर्काएका थिए ।
यहाँहरु सबैलाई म स्पष्ट पार्न चाहन्छु कि चुनाव कास्कीमा मात्रै भइरहेको छैन, देशका ५२ वटा ठाउँहरुमा भइरहेको छ । यहाँहरुलाई म अर्को पनि बहुत विनम्रतापूर्वक भन्न चाहन्छु, म त्यति कमजोर दलको सदस्य होइन, जसले काभ्रेदेखि चुनाव प्रचार गर्न कास्की आउनुपरोस् र कास्कीका जनताले मेरो साथ खोजुन् । कास्कीका जनता आफैं सक्षम छन् कि यहाँ भइरहेको चुनावमा कसलाई किन मतदान गर्ने उहाँहरुले आफैं बुझ्नुहुन्छ । कास्कीका जनताको क्षमतामाथि, उहाँहरुको विश्वासमाथि मैले कहीँकतैबाट प्रश्न उठाउने गरी वा भरथेग गर्न वहाँदेखि म यहाँ धाउनुपर्ने जस्तो मलाई लाग्दैन । र, म यसबारेमा जानकार छु कि म चुनाव प्रचार गर्न आएको पनि होइन । चुनाव प्रचार गर्न बरु लर्कनका लर्कन मान्छेहरु, यहाँका मान्छेहरुभन्दा धेरै मान्छेहरु एयरपोर्टमा मैले देखेँ । यस विषयमा मलाई धेरै बोल्नु छैन । म कास्कीका जनताको, उहाँहरुको सार्वभौमिक अधिकारको फैसलाप्रति विश्वास गर्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here