मोरङ / जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा लैंगिक हिंसा विरूद्द १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत अन्तरक्रियात्मक कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बिराटनगर महानगरपालिकाका उप-प्रमुख ईन्दिरा कार्कीले प्रहरी कार्यालय लगायत म्बन्धित निकायमा घटनाको उजुरी संख्या क्रमश बढ्दै जानुले सामाजिक परिवेशको कारण हिंसाका पीडाहरू डरले भित्रै लुकाईराख्ने प्रचलन विस्तारै अन्त्य हुँदै गएको जनाउनुभयो । लैंगिक हिंसा न्यूनिकरण तथा नियन्त्रणको लागि महानगरपालिका सदैव क्रियाशील रहि सरोकारवालाहरुसँग समन्वय गरी अगाडि बढ्न सदैव तयार रहेको उहाँले
उल्लेख गर्नुभयो ।
कार्यक्रमका जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले महिलामाथि हुने हिंसा बिद्यमान रहेको र यसको प्रभावकारी न्यूनिकरणको लागि प्रहरी, स्थानीय निकाय, संघसंस्थाहरूको सक्रियता आवश्यक रहेको जनाउनुभयो ।
कार्यक्रममा प्रहरी उपरीक्षक विश्व अधिकारीले मोरङ जिल्लामा विद्यमान लैंगिक हिंसाको अवस्थाको विश्लेषण सहितको प्रस्तुतिकरण गर्दै अन्तरक्रियात्मक छलफलमा विषयवस्तुमाथि उठेका बुदाहरूलाई समेटेर जिल्लाको लैंगिक हिंसा न्यूनिकरणको लागि कार्ययोजना तर्जुमा गर्ने र सो को कार्यान्वयनको लागि स्थानीय तह, सरोकारवाला निकायहरूलाई राय सहितको समन्वय गरिने जनाउनुभयाे । साथै बुढिगंगा गाँउपालिकाका उप-प्रमुख अमृता कुमारी गच्छदारले लैंगिक हिंसा न्यूनिकरणको सचेतनामूलक कार्यक्रमहरुको आवश्यकता रहेको जनाउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, स्थानीय निकायका पदाधिकारीहरू लगायत विभिन्न संघसंस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो ।

















