जाडो छल्न साइबेरियन चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

538

कञ्चनपुर /  जाडो छल्नका लागि साइबेरिया लगायतका क्षेत्रबाट बसाइँ सर्दै आगन्तुक चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रमा पुग्न थालेका छन् । साइबेरिया लगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि हरेकवर्ष हिमाल छिचोल्दै चरा निकुञ्जलगायत यहाँका खोला, नदी र सिमसार क्षेत्रमा पुग्ने गर्दछन् ।

साइबेरिया, किर्गिस्तान, जापान, उत्तरी चीन, मङ्गोलिया लगायतका क्षेत्रमा माइनस डिग्री तापक्रम पुगेपछि चराहरु जाडो छल्नका लागि हिमाल पार गरेर निकुञ्ज क्षेत्रमा पुग्ने गरेका छन् । नेपाल पन्छी संरक्षण सङ्घका प्रतिनिधि हिरुलाल चौधरीका अनुसार प्रतिवर्ष नेपालमा १५० प्रजातिका चरा जाडो छल्नकै लागि आउने गरेका छन् । तीमध्ये आधा हाँस प्रजातिका चरा रहने गरेका छन् ।

उनका अनुसार हालसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत आपसपासका नदी, खोला, तलाउ र सिमसार क्षेत्रमा मात्रै ३० भन्दा बढी प्रजातिका बसाइँ सारेर आउने चरा देखिएका छन् । चरा आउने क्रम जारी रहेको छ । आहारको खोजी, मौसम अनुकूलता र प्रजननका लागि चराले बसाइँ सर्ने गरेका छन् ।

‘मालक हाँस, खरखसे हाँस, हरियो टाउके हाँस, सिन्दूरे हाँस, कैले टाउके हाँससहितका जीवल फिस्टो, लालकण्ठे, झेकझेक भ्रmयाप्सी, खैरो भद्राई, मोटोठाँडे, ट्याकट्याके आदि प्रजातिका चराहरु निकुञ्ज र त्यसको बाह्य क्षेत्रमा देखापरेका छन्, उनले भने । निकुञ्जको रानीताल, सलगौडी ताल, बाबा ताल, चौधर नदी, स्याली नदी, सनवोरा नदी लगायतका क्षेत्रमा बसाइँ सारेर आउने चराको चहलपहल वृद्धि भएको छ ।

‘निकुञ्ज चरा अवलोकनका लागि गन्तव्य नै हो’, निकुञ्जका मुख्य संरक्षण अधिकृत लक्ष्मण पौड्यालले भने, ‘बसाइँ सरेर आउने चरासँगै निकुञ्जमा रैथाने चराको सङ्ख्या मात्रै ४५० रहेको छ ।’ लोपोन्मुख अवस्थामा पुगेका खरमजुर, गिद्धलगायत चरासमेत निकुञ्जमा पाइने गरेका छन् । चरा संरक्षणका लागि गरिएका प्रयासअनुरुप हालसम्म चराको तस्करी गर्ने र सिकार गर्ने कार्य हुन नपाएको उनले जनाए ।

विद्यालय र मध्यवर्ती क्षेत्रका बासिन्दालाई चरा संरक्षण शिक्षा दिने कार्य गरिएपछि चराका सिकारीलगायत विगतको तुनामा निकै कमी आएको उनको भनाइ छ । निकुञ्जका मुख्य संरक्षण अधिकृत पौड्यालका अनुसार जनवरी ५ तारिखदेखि फरवरी ५ तारिखमा जलपन्छी गणना गर्ने तयारीसमेत निकुञ्जले गरेको छ ।

निकुञ्ज बाहिरका सीमसार क्षेत्रमा समेत चरा आउने क्रम शुरु भएको छ । हिउँद शुरु हुँदै आउने चरा गर्मी शुरु हुनु अगावै यस क्षेत्रबाट पुरानै बास स्थानमा फर्कने गरेका छन् । पानीको स्रोत घट्दै जानु, तालतलैया सुक्दै जानुलगायत कारणले बसाइँ सरेर आउने चराको सङ्ख्यामा केही वर्षयता भने कमी देखिन थालेको छ । जलचरको बासस्थानमा सुधार, सिमसारको संरक्षण तथा चराको चोरी सिकारीलाई न्यूनीकरण गर्नुपर्ने चरा विज्ञहरुको धारणा  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here