सन् २०२० काे भ्रमण वर्ष सफल पार्न रेस्टुरेन्ट तथा बारको भूमिकामा जोड

311

काठमाडौं / सन् २०२० काे नेपाल भ्रमण वर्षलाई सफल पार्न ठूला तारे होटलसँगै साना रेस्टुरेन्ट तथा बारहरुले पनि महत्वपूर्ण योगदान दिनसक्ने सम्बन्धित व्यवसायी तथा विज्ञहरुले जनाएका छन् । रेस्टुरेन्ट तथा बार एशोसिएशन नेपाल (रेवान) र सेफ एशोसिएशनको संयुक्त आयोजनामा भएको आतिथित्यता (हस्पिटालिटी) तथा खाद्य सुरक्षासम्बन्धी कार्यशालाका सहभागी वक्ताहरुले भ्रमण वर्ष सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको धारणा राखेका थिए ।

कार्यशालामा रेवानका अध्यक्ष अरनिको राजभण्डारी र सेफ एशोसिएशनका संस्थापक अध्यक्ष पुष्प थापाले नेपाल भ्रमण नेपालको पर्यटन विकासमा महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै नेपाल भ्रमणमा आउने विदेशी पर्यटक र स्वदेशी पर्यटकलाई स्वच्छ र गुणस्तरीय खाद्यवस्तु खान पाउने सुनिश्चित गर्न आफूहरु गम्भीर रहेको जानकारी दिए ।

महिला उद्यमी राज्यलक्ष्मी शाक्यले अतिथि देवो भवः’को संस्कारमा हुर्किएका नेपालीले भ्रमण वर्षलाई अवसरको रुपमा लिएको र सरकारले पनि सम्बन्धित सबै व्यवसायीसँग समन्वय गरी अगाडि बढ्नुपर्ने खाँचो औँल्याए।

सो अवसरमा एआइटिएम कलेजका प्राचार्य वसन्त जोशीले स्वस्थ्कर खाद्य उत्पादन र सुरक्षा, गेट कलेजका कार्यकारी प्रमुख खेम लाखैले रेस्टुरेन्ट सञ्चालन र फुडमाडौँका कार्यकारी प्रमुख निदान श्रेष्ठले अनलाइन रेस्टुरेन्ट व्यवसायको अवसरसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।

रेवानका पूर्व अध्यक्ष किशोरराज पाण्डले आतिथ्यताका क्षेत्रमा आफूले सँगालेका अनुभवहरु राखेका थिए। कार्यशालामा रेस्टुरेन्ट सञ्चालक, सेफ तथा व्यवस्थापन अधिकृत गरी करीब ८० जनाको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here