नक्कली घ्यू उत्पादन गर्ने कारखानाका सञ्चालकसहित तीन पक्राउ

270

वीरगञ्ज / वनस्पति घ्यूमा रसायन मिसाएर शुद्ध गाईको घ्यू भन्दै विभिन्न ब्राण्डका स्टिकर लगाएर बजारमा पठाउने गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा (ब्रहमचोक) मा रहेको सिद्धिविनायक पूजा सामग्री प्रोडक्ट्स उद्योगमा आइतबार अपराह्न छापा मारेको हो ।

वनस्पति घ्यूमा रसायन मिसाएर पूजा, दुर्गा र गोकुल ब्राण्डको स्टिकर लगाई बजारमा शुद्ध गाईको घ्यू भन्दै विक्रीवितरण गर्ने गरेको विशेष सूचनाको आधारमा उक्त कारखानामा छापा मारेर सञ्चालकसहित तीन जनालाई नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । ‘मान्छेको स्वास्थ्यमा गम्भीर असर पार्ने रसायन प्रयोग गरेर नक्कली घ्यू उत्पादन गरेको भेटिएको छ, गम्भीरताका साथ अनुसन्धान शुरु गरेका छौं,’ एसपी राठौरले भने, ‘कडाभन्दा कडा कारबाही हुन्छ ।’

आइतबार अपराह्न ४ बजे प्रहरीको विशेष टोली उक्त कारखानामा पुग्दा नक्कली घ्यू उत्पादन भइरहेको थियो । प्रहरीले उक्त कारखाना सिल गरेर पूजा, दुर्गा र गोकुल नाम गरेको ब्राण्डको छ सय २४ किलो (५२ कार्टुन), वनस्पति (डाल्डा) घ्यू पाँच सय ८० किलो (२९ कार्टुन) र सो बनाउन प्रयोग हुने रसायन, भाँडाकुँडा र लेबलिङ गर्न प्रयोग हुने विभिन्न ब्राण्डको स्टिकरहरु समेत बरामद गरेर अनुसन्धान शुरु गरेको छ ।

प्रहरीले उद्योगका मालिक अनिल श्रेष्ठ र उनका सहयोगी वीरगञ्ज–१५ का रमेश श्रेष्ठ र भारतको बिहार मोतिहारीका रामविलास यादवलाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ । एसपी राठौरका अनुसार उक्त कारखानामा उत्पादन भएको नक्कली घ्यू काठमाडौं उपत्यकालगायत नेपालका सयौं डिलरमा विक्रीवितरणका लागि पठाइएको भन्दै पक्राउ परेका अभियुक्तले बयान दिएका छन् । ‘काठमाडौंलगायत धेरै डिलरमा यहाँबाट नक्कली घ्यू सप्लाई भएको अनुसन्धानमा खुलेको छ । सप्लाइ भएको उक्त नक्कली घ्यू पनि बरामद गर्ने प्रयास गरिरहेका छौं,’ एसपी राठौरले   भने ।

पक्राउ परेका तीनै जनालाई उपभोक्ता संरक्षण ऐन बमोजिम एउटा मुद्दा र खाद्यपदार्थमा रसायन मिसावट गरेको अभियोगमा छुट्टै मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here