नारायणगढ–मुग्लिन सडकखण्डमा चट्टाने भिर खोपेर मुग्लिन सडकखण्डमा पहिरो रोक्ने प्रयास

193

काठमाडौं / चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा चट्टाने भिर खोपेर पहिरो रोक्ने प्रयास थालिएको छ । पहिरो जोखिम क्षेत्र छानेर अहिले सयौँ मजदूर चट्टाने भिर खोप्न व्यस्त छन् ।

‘रक क्लाइम्बिङ’ खेल जस्तै टल्कने ज्याकेट र पहेँलो हेल्मेट लगाएका मजदूर भिरभिरमा छन् । एक त पहिरो खस्ने जोखिम, त्यसमाथि ठाडे भिरमा चट्टान खोप्नु अत्यन्तै सकसपूर्ण काम हो । मजदूर जोखिम मोलेर दुई सातादेखि पहिरो रोक्न क्रियाशील छन्।

मजदूर कतै फलामको डण्डीको भऱ्याङ (स्काफोल्डिङ)मा बसेर काम गरिरहेका छन् त कतै रुखमा बाँधिएको डोरीको अङ्कुशेमा अडिएर काममा व्यस्त छन् । कोही जाली बिच्छ्याउँदै र कोही चट्टानमा रड (किला) ठोकेर नटबोल्टको काम गरिरहेका छन् ।

उक्त कामलाई ‘रक नेटिङ’ र ‘रक बोल्टिङ’ प्रविधि भनिन्छ । कतै बायोइन्जिनीयरिङ काम पनि भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनीयर शिवप्रसाद खनाल बताउनुहुन्छ । उहाँले अहिले नारायणगढ–बुटवल सडकखण्डको काम हेर्ने जिम्मासमेत पाउनुभएको छ ।

‘विगतमा विभिन्न स्थानमा गरिएको रक नेटिङ प्रभावकारी छ, दुर्घटनाको जोखिम कम भयो, पहिरो खसे पनि एकैचोटि तल खस्न दिएन, त्यसैले अहिलेको जोखिम क्षेत्रमा पनि सोही काम थालिएको हो’, खनालले भन्नुभयो ।

चट्टान खोप्न यहाँको सडक सवारी साधनका लागि बिहान ११ बजेबाट ३ बजेसम्म बन्द गरिन्छ । यो क्रम यही २२ गतेसम्म जारी रहनेछ । त्यसपछि आवश्यकता हेरेर नयाँ निर्णय लिइने आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार यहाँको विभिन्न आठ ठाउँमा काम जारी छ । गाईघाट, भोर्ले, घुमाउने, भालुढुङ्गा, जलविरे, चार किलो, तोपे खोला र कालीखोलामा पहिरो रोक्न मजदूर खटाइएको छ ।

सबैभन्दा ठूलो पहिरोको जोखिम चार किलो र तोपे खोलामा छ । पहिरो रोक्ने कामका लागि बज्रगुरु–छिमसगरमाथा र न्यू टेक्निकलको ज्वाइन्ट भेञ्चरमा काम भइरहेको छ । छ महिनाका लागि रु १४ करोडमा ठेक्का दिइएको हो ।

विश्व बैंकको बजेटबाट बचेको पैसाले यहाँको विभिन्न क्षेत्रको चार वटा पुल र रक नेटिङको काम गरिएको हो । विगतमा तीन पुल सम्पन्न भएको छ । जलविरेको बाँकी छ । गत वर्ष केही क्षेत्रमा रक नेटिङको काम भएको थियो । रकम बचेकाले यसपालि पनि प्रयोग गरिएको आयोजनाको भनाइ छ ।

यसरी गरिँदैछ काम

उक्त कामका लागि अहिले १०४ जना मजदूर चट्टान खोपेर पहिरो रोक्न खटिएका छन् । पहिलो चरणमा खस्न लागेको चट्टान र माटो निकालिन्छ । त्यसपछि चट्टान खोपेर ड्रिल गरी रड (किला) गाडिन्छ ।

सबै क्षेत्रको रडमा जाली राखेर नट कस्ने आयोजनाका सहायक इन्जिनीयर कमल नेपालीले बताउनुभयो । उहाँका अनुसार चट्टाने भिरको उचाइ १०५ मिटरसम्मको छ । तोपे खोलामा १०५ मिटर उचाइ र ६० मिटर लम्बाइमा काम भइरहेको छ । एउटा बोरामा आलु हाले जस्तै गरी चट्टानलाई मोर्ने गरिन्छ । जसका कारण चट्टान तल खस्न पाउँदैन र अन्ततः त्यहीँ जाम हुन्छ ।

माथिल्लो क्षेत्रको ढुङ्गामा पनि यसरी नै रड लगाइन्छ । एकअर्कामा तार जेलेर राखिन्छ । तलबाट पहिरो खस्न थाल्यो भने माथिको ढुङ्गाले पहिरो खस्न दिँदैन । यदि खसिहाल्यो भने पनि जालीमा अड्किएर बस्छ । ठूलो पहिरो आए विस्तारै खस्ने भएकाले मानवीय जोखिम कम हुन्छ । कतिपय पहिरो झुण्डिएर बसेको हुन्छ । समय निकालेर फ्याँक्न सकिन्छ । यो प्रविधि अन्तर्राष्ट्रिय रूपमा प्रयोग हुन्थ्यो । तर उक्त आयोजनाले प्रयोग गरेकाले विगतको अनुभवमा जोखिम कम भएको छ ।

नारायणगढ–मुग्लिन सडकको ३४ किलोमिटर क्षेत्रलाई तीन खण्डमा छुट्याएर नेपाल भारतका  ६  वटा निर्माण कम्पनीले सडक चौडा पार्ने काम गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here