ओली र ओली सरकारप्रतिको मोहनविक्रम सिंहको विश्लेषण

165

–हुकुमबहादुर सिंह

८४ वर्षीय मोहनविक्रम सिंहले अर्धभूमिगत जीवनबाट युटयुबमार्फत अब आफू खुल्ला राजनीतिमा आएको घोषणा गर्ने क्रममा दिएको आफ्नो पहिलो अन्तरवार्तामा भनेका छन्– ‘अहिले पनि हाम्रो पार्टी भूमिगत पार्टी हो । म अब सञ्चारमा खुल्ला भएको छु, तैपनि जनताको बीचमा आमसभा जस्ता कार्यक्रममा भने अझै खुल्ला हुने छैन ।’ वर्तमान ओली सरकारवारे उनले आफ्नो धारण राख्दै भनेका छन्–“वर्तमान ओली सरकारलाई हाम्रो पार्टीले एउटा वामपन्थी, देशभक्त तथा प्रजातान्त्रिक शक्तिको रूपमा मानेको छ ।” यो नै उनको वर्तमान सरकारवारे पछिल्लो विश्लेषण हो भन्ने स्पष्ट हुन्छ । तर उनको यो विश्लेषणका पछाडिको आधार बलियो देखिदैन । आम नेपाली जनताका लागि यो स्पष्ट बन्दै गएको छ कि कमिसनको लालचमा दालाहरूका अगाडि झुकेर ओली सरकारले देशको राष्ट्रियता र सार्वभौमिकताको सौदाबाजी गर्दै छ तर मोहनविक्रम सिंह भन्दै छन्– ‘वर्तमान ओली सरकार एउटा वामपन्थी, देशभक्त तथा प्रजातान्त्रिक शक्तिको सरकार हो ।’ उनलाई एउटै प्रश्न छ– कमिसनको लालचमा दालाहरूका अगाडि झुकेर उनीहरूको फाइदाका लागि काम गर्ने सरकार कसरी वामपन्थी, देशभक्त तथा प्रजातान्त्रिक शक्तिको सरकार हुन सक्छ ?

देशको राष्ट्रियता, सार्वभौमिकता तथा स्वतन्त्रताको प्रश्न वर्तमानमा ओली सरकारको गठन संगै एक दमै जटिल बन्दै गएको छ र त्यसका पछाडिका हरेक प्रश्नमा ओली–प्रचण्डहरू विश्व साम्राज्यवादी अमेरिका र छिमेकी विस्तारवाद भारतका अगाडि लम्पसार पर्दै गएका छन् । वर्तमान ओली सरकारले लिएका निर्णयहरू–खासगरी भारतले नेपालको भूभाग गाभेर प्रकाशित गरेको नक्शाका विरुद्ध कुनै प्रभावकारी कामगर्न नसकेको , अमेरिकी साम्राज्यवादका अगाडि केही अरब अनुदानका आशामा देशको भूभागभित्र उसको (अमेरिकी) कानुन लागुहुने गरी अमेरिकी सहयोग मिलिनियम कर्पोरशेन च्यालेन्ज(एमसिसि)लाई देशभित्र भित्रनी स्किृति दिएर अमेरिकी सेना नेपालका केही जिल्लामा परेड खेलाउने र चीन र अमेरिकाको लडाईको खेलमैदानमा देशलाई रूपान्तरण गर्ने मार्गतर्फ अग्रसर भएकोआदि ।

अहिले त के स्पष्ट बन्दै गएको छ भने ओली र उनका मन्त्री तथा प्रशासनका माथिल्लो तहका कर्मचार्ीहरू देशको राष्ट्रियता, सार्वभौमिकतालाई कमिसनका अगाडि लिलाममा राखिरहेका छन् । देशभित्रका यति समूहजस्ता दलालहरूका कम्पनीहरू लगायत देश बाहिरका जीएमआरजस्तो दलालहरूसित मिलेर कति कमिसन आउछ, त्यसको आधारमा विकासका कामहरू छनोट गर्ने र नेपालको असंलग्न परराष्ट्र नीतिलाई धज्जी उडाउने काममा ओली, प्रचण्ड र शेरबहादुर देउवा मार्काहरू संगठित रूपले अगाडि आएका छन् । माथिल्लो कर्णालीको सवाल होस वा अमेरिकी कम्पनी एमसिसि होस, वा लिपुलेक, कालापानी, लिम्पुयाधुराआदिको प्रश्न होस, सबैमा ओली सरकारले विदेशी दलालहरूका अगाडि घुँडा टेकिरहेको छ, जो घाम जत्तिकै छर्लङग छ, तर ८४वर्षीय “कम्युनिस्ट गुरु” भन्दै छन्– “वर्तमान ओली सरकार एउटा वामपन्थी, देशभक्त तथा प्रजातान्त्रिक शक्तिको सरकार हो ।”

यो भन्दा कमजोर दृष्टिकोण उनको के हुन सक्छ ? तै पनि उनको पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूले उनको यो विश्लेषणलाई नै सही ठहराउदै त्यसैको वोकालत गर्दै हिंडेको पाइन्छ । यो नेकपा मसालको गलत परमपरा रहदै आएको छ कि मोहन विक्रमले जे भन्छन् सही भन्छन् पछि त्यसैलाई उनले गलत भनेर भने पछि पनि उनीहरूका लागि फेरी त्यही सही हुन्छ । चौथो महाधिवेशनको करीव दश वर्ष जति उनले देशभक्त जनतान्त्रिक शक्तिको सरकारको नारा दिए, जसले यो नाराले जनवादी क्रान्तिको तैयारीलाई ओझेलमा पार्छ, गलत छ भन्दा कसैलाई सिआइडि, कसैलाई राजावादी, दक्षिणपन्थी आदि अनेकौ बिल्ला भिराए , पछि उनी स्व्यमले त्यो नारालाइृ हटाए त्यस बेलामा पनि उनका भक्तहरूका लागि दुबै पटक मोहनविक्रम सिंह सही नै थिए । फेरी अहिले ओली सरकारवारे उनले जे भनिरहेका छन्, त्यो गलत छ तै पनि उनका कार्यकर्ता त्यसको विरोध गर्न सकिरहेका छैनन । अथवा त्यसैलाई सही भन्दै हिंडिरहेका छन् । उनको हरेक चीजलाई तुलनात्मक रूपले हेरेर त्यसमा आफू सही देखाउने पुरानै रोग हो , जो अहिले पनि कायमै छ र जसलाईै उनले लामो अर्धभूमिगत जीवनलाई हटाउने र खुला हुने घोषणा सहीतको पहिलो खुला अन्तरवार्तामार्फत ल्याएका छन् । र देशको राष्ट्रियता र सार्वभौमिकताको सौदाबाजीमा तल्लिन ओली सरकार उनको नजरमा एउटा वामपन्थी, देशभक्त तथा प्रजातान्त्रिक शक्तिको सरकार भएको छ । ओली र ओली सरकार प्रतिको उनको विश्ेलेषण कति सतही रहेछ, अहिले स्पष्ट भएको छ र भावी दिनहरूमा यो झन स्पष्ट बन्दै जाने छ ।  – [email protected] – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here