सिद्धार्थ बैङ्कले कमायाे १ सय २ करोड नाफा

100

काठमाडौं / सिद्धार्थ बैङ्कले ६ महिनामा नाफा १ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको छ । बैङ्कले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब २ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको हो । सिद्धार्थको यो नाफा अघिल्लो वर्षको सोही समयमा कमाएको भन्दा केही कम हो । अघिल्लो वर्ष सो बैङ्कको नाफा १ अर्ब ६ करोड थियो ।

बैङ्कले पुस मसान्तसम्ममा १२६ अर्ब निक्षेप सङ्कलन गरी ११८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा क्रमशः १२ अर्ब र १४ अर्बले बढी हो । अघिल्लो वर्षको सोही समयमा बैङ्कको निक्षेप करिब १०४ अर्ब र कर्जा ११४ करोड रुपैयाँ थियो ।

पुस मसान्तसम्म बैङ्कको जगेडा कोष ३ अर्ब ८५ करोड रुपैयाँ छ । यो कोष अघिल्लो वर्षको तुलनामा करिब ३६ करोड रुपैयाँले कम हो । यो वर्ष १० प्रतिशत बोनस सेयर जारी गरेको बैङ्कले आफ्नो चुक्ता पुँजी अघिल्लो वर्षको तुलनामा ९० करोडले बढाएर ९ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ पुर्याउँदा अघिल्लो वर्षको नबाँडिएको नाफा १ अर्ब १० करोड रहेको देखिएको छ ।

सिद्धार्थ बैङ्कले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी र ब्याज खर्च दुवैमा उल्लेख्य वृद्धि गरेको छ । ब्याज आम्दानी ६ अर्ब ८ करोडबाट बढेर ७ अर्ब ५४ करोड पुग्दा ब्याज खर्च ३ अर्ब ७९ करोडबाट ४ अर्ब ७७ करोड रुपैयाँ पुगेको बैङ्कले जनाएको छ । बैङ्कको कर्मचारी खर्च भने अत्यधिक बढेको छ । सो खर्च अघिल्लो वर्ष ७१ करोड ५० लाख रहेकोमा यो वर्ष १ अर्ब ३ करोड ६८ लाख पुगेको हो । अन्य सञ्चालन खर्च करिब १३ करोड बढेर ४४ करोड माथि पुगेको देखिएको छ ।

पुस मसान्तसम्म सो बैङ्कको पुँजी पर्याप्तता अनुपात १२.८६ प्रतिशत छ । निष्क्रिय कर्जा अनुपातलाई १.६४ प्रतिशतबाट १.५५ प्रतिशतमा झरेको छ । बैङ्कको यो वर्ष कस्ट अफ फन्ड केही घट्दा त्यसको सकारात्मक असर बेसरेटमा देखिएको छ । पुस मसान्तसम्म सो बैङ्कको कस्ट अफ फन्ड ७.२७ प्रतिशत र बेसरेट १०.०४ प्रतिशत छ । अघिल्लो वर्ष कस्ट अफ फन्ड ७.४२ प्रतिशत बेसरेट १०.५९ प्रतिशत थियो । भएको बैङ्क बेसरेटमा कस्ट अफ फन्डका अतिरिक्त सीआरआरको लागत, एसएलआरको लागत र सञ्चालन खर्च जोड्न पाउने राष्ट्र बैङ्कको प्रावधान छ । बैङ्कको निक्षेपमा दिने औसत ब्याज र कर्जामा लिने औसत ब्याजदरको अन्तर भने ४.७१ प्रतिशत छ । बैङ्कले बचत खातामा ५.५ प्रतिशतदेखि ६.५ प्रतिशत र मुद्दती खातामा ८.५ देखि ९।२५ प्रतिशतसम्म ब्याज दिँदै आएको छ । कर्जाको ब्याजदर भने बेसरेटमा ६ प्रतिशतसम्म थप गरेर लिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here