कोरोना भाइरसबाट मृत्युहुनेहरूमा ८० प्रतिशत ६० वर्ष माथिका

126

एजेन्सी / चीनमा कोरोना भाइरस संक्रमितको औसत मृत्युदर २.१ प्रतिशत रहेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

आयोगका उपप्रमुख जिआओ याहुईका अनुसार, कोरोना भाइरसको उत्पत्तिस्थल हुवेई प्रान्तमा भने ३.१ प्रतिशत मृत्युदर रेकर्ड भएको छ। ज्यान गुमाउनेमध्ये ९७ प्रतिशत हुवेईकै छन्। हुवेई प्रान्तमा पर्ने वुहान शहरबाट यो भाइरस फैलन सुरु भएको थियो। चीनको मूलभूमिमा हालसम्म ४२५ जना संक्रमितको मृत्यु भएको छ। तीमध्ये ८० प्रतिशत साठी वर्षमाथिका छन्। जिआओका अनुसार, मृतकमध्ये दुई तिहाइ पुरुष छन्। भर्खरै जन्मेको नवजात शिशुसमेत संक्रमित भएको पाइए पनि अधिकांश संक्रमित वयस्क छन्। संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा पर्याप्त शय्याको अभाव भएका कारण हुवेईले तुलनात्मक रुपमा धेरै क्षति बेहोर्नुपरेको उनको धारणा छ।

संक्रमितहरूलाई राख्न रातारात तयार पारिएको हजार शय्याको अस्पतालले मंगलबारबाट सेवा दिन सुरू गरेको छ। विरामीहरूलाई पूर्णरूपले निको हुन औसतमा ९ दिन लाग्ने गरेको जिआओले जनाइन् । तर, हुवेई प्रान्तमा यो दर २० दिनको छ। चीनमा हालसम्म २० हजार ४३८ जना कोरोना भाइरसबाट संक्रमित पाइएका छन्। मंगलबार हङकङमा एक जनाको ज्यान गएको छ भने बेल्जियमले एकजना संक्रमित भेटिएको पुष्टि भएको छ। यसअघि फिलिपिन्समा पनि एकजनाको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here