–निशा तामङ
चाइनीज क्यालेन्डरको महत्वपूर्ण नयाँ वर्षमा चीनियाँ नागरिक तथा चीनमा रहेका सबै नागरिकहरुले ठूलो चुनौतिको सामना गरिरहेका छन् । कोरोना भाइरस नामको अज्ञात रोगले गर्दा चीन चुनौतीको पहाडमा उभिएको छ । यो रोग यतिबेला सबैतिर भयावह बन्दै गएको छ । दक्षिण पूर्वी एसिया राष्ट्रहरु–(जापान, थाइल्याण्ड, फिलिपिन्स र दक्षिण कोरिया) साथै अन्य राष्ट्रहरुमा समेत यो भाइरस फैलिएपछि थप त्रासपूर्ण बन्दै गएको छ । यसको संक्रमण कतै पूरै विश्वमा फैलिने त होइन भनेर सबै राष्ट्रहरु कोरोना भाइरसबारे उच्च सतर्कता अपनाइरहेका छन् । सामाजिक सञ्जालहरुमा कोरोना भाइरसका बारेमा भयावहकै रुपमा समाचार तथा विभिन्न टिकाटिप्पणीहरु आउन थालेका छन् । हुन पनि हो, निकै छोटो अवधिमै कोरोना भाइरसबाट मर्नेको संख्या निकै बढेको छ भने भाइरसबाट संक्रमित हुनेको संख्या गुणात्मक रुपमा वृद्धि भइरहेको छ ।
विश्वभरका स्वास्थ्यकर्मीले यसको कारण र समाधानको उपायबारे थप चासो देखाएका छन् । विश्वका विभिन्न देशले चीनबाट आउने विदेशीहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएका छन् । यस्तै आफ्नै नागरिकको पनि क्वारेन्टाइनको व्यवस्था गरिरहेका छन् । यसैबीच चीनको हुवान शहरमा रहेका नेपालीहरुलाई उद्धार गरी नेपाल ल्याउने सरकारको तयारी समेत भइरहेको छ । उद्धार गरेर नेपाल ल्याइएका नेपालीहरुबाट कतै संक्रमण त हुने होइन ? यो त्रास पनि कायमै छ । पछिल्ला केही वर्षहरुमा यस्ता भाइरसका संक्रमणहरु बढ्दो क्रममा रहेको छ । वर्षेनी कुनै न कुनै भाइरसबाट मानिसहरु संक्रमित बनिरहेका छन् । कहिले बर्डफ्लू त कहिले स्वाइन फ्लू र कहिले इबोला भाइरस ! यस्तै–यस्तै भाइरसको संक्रमणको जोखिममा बाँच्न बाध्य भइरहेका छौ हामी । आखिर किन यस्ता भाइरसहरुको उत्पति र संक्रमण बढेको होला ? यसतर्फ सोच्न नपाउँदै हामी संक्रमणको शिकार बनिसकेका हुन्छौं । त्यसैगरी पछिल्लो पटक देखा परेको कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिँदै गइरहेको छ । २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहानमा कोरोना भाइरसका पहिलो विरामी भेटिएका थिए । क्रमशः यो फैलँदै गएको छ । चीनमा हालसम्म ३६१ जनाको मृत्यु भएको पुष्टि भएको छ । चीनमा मात्रै १७ हजारभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । यो महामारीले चीनलाई मात्र होइन संसारलाई नै चुनौती थपिदिएको छ ।
कोरोना भाइरसको वास्तविक कारक सर्प र चमेरा भएको आशंका गरिएको छ । अनुसन्धानले पनि यो आशंका बढाएको छ । चिनियाँ सर्प क्रेएइट प्रजातिबाटै यो भाइरस फैलिएको भनिएको छ । जुन जुन कोब्रा प्रजातिको मानिन्छ । कोरोना भाइरस चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट एकअर्कामा सर्ने गरेको पाइएको छ । वुहान शहरमा यस्तै जनावरहरुबाट यो भाइरसको संक्रमण मानवमा भएको जनाइएको छ । चिनियाँ नागरिकहरुको जुनसुकै जनावर र समुन्द्री जीवहरु खाने बानी र ती जनावरहरु नपकाइ काँचै समेत खाने बानीले पनि यो संक्रमण बढेको अनुमान गरिएको छ । कुनैपनि खाने परिकार नपकाइ खाँदा संक्रमण हुने खतरा बढ्नु स्वाभाविक रहेको दाबी पनि गरिएको छ ।
पृथ्वीको जैविक विविधता धेरै व्यापक छ । प्राकृतिक रुपमा जीवजन्तुहरु आफ्नो जीवनयापन गरिरहेका हुन्छन् । पृथ्वीका हरेक जैविक र अजैविक तत्वहरु एक आपसमा अन्तरसम्बन्धित हुन्छन्, जसको चक्र प्रणालीबाट सबै जीवको अस्तित्व सम्भव हुन्छ । चिनियाँ नागरिकहरु सबै भन्दा धेरै जीव तथा प्रजातिहरु खाने गर्दछन् । त्यसैले पनि यो संक्रमण बढेको आशंका गरिएको छ तथापी यसअघि फैलिएका इबोला, स्वाइनफ्लू र बर्डफ्लूजस्ता संक्रमणहरु चीन बाहेक अन्य मुलुकहरुमै देखिएका थिए, तर कोरोना चीनबाट देखिएकाले चीन विरुद्धको प्रचार गर्नेहरुलाई रमाइलो भइरहेको छ । अमेरिकाले कोरोना भाइरसबारे गरेको प्रचारबाजीलाई चीन सरकारले खण्डन समेत गर्नुपर्ने र प्रतिवाद गर्नुपर्ने अवस्था विकसित भएको छ । यो दुर्भाग्य हो । कुनैपनि संक्रमण जुनसुकै भू–भागबाट सुरु हुन सक्छ, त्यसको रोकथामका निम्ति विश्व जनमत एक ढिक्का हुनुपर्नेमा अनैतिक प्रचारवाजी अवश्य पनि शोभनीय होइन ।
भाइरसको संक्रमणलाई रोक्नका लागि चीनका अधिकारीहरुले विभिन्न उपायहरु अपनाएका छन् भने चीनले मानिसहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जान समेत रोक लगाएको छ । वैज्ञानिकहरुले यस्ता समस्याहरुको समाधानका लागि विभिन्न भ्याक्सिनहरु विकसित गरेर यिनिहरुको खतरा त कम गरिदिएका छन् । – जनधारणा साप्ताहिक

















