काठमाडौं / अर्थ मन्त्रालयले राजस्व बोर्ड गठनको प्रक्रिया अघि बढाएको छ । राजस्व बोर्ड गठन आदेश स्वीकृत भएसँगै अर्थ मन्त्रालयले बोर्डमा अध्यक्ष र सदस्य नियुक्तीको प्रक्रिया अघि बढाएको हो ।
अर्थ मन्त्रालयले बोर्डको अध्यक्ष र सदस्यका लागि इच्छुकसँग आवेदन माग गरेको छ । मन्त्रालयले बोर्डको अध्यक्ष र दुई सदस्यका लागि इच्छुकसँग प्रस्ताव आव्हान गरेको हो ।
अर्थ मन्त्रालयका अनुसार बोर्डमा पदाधिकारी हुन चाहने व्यक्तिले अबको ७ दिन भित्रमा अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखामा निवेदन दिन सक्नेछन् ।
मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य शास्त्र वा वाणिज्य कानुन विषयमा विद्यावारिधि उपाधि हासिल गरी राजस्व सम्बन्धी क्षेत्रमा कम्तिमा ५ वर्ष अध्ययन वा अनुसन्धान वा कार्य अनुभव भएको वा अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य शास्त्र वा वाणिज्य कानुन विषयमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी उपाधी हासिल गरी राजस्व क्षेत्रमा कम्तिमा १० वर्य अध्ययन वा अनुसन्धान गरेका व्यक्ति आवेदन दिन योग्य हुनेछन् ।
यसैगरी राजस्व परामर्श समिति गठन हुँदा ३५ वर्ष पूरा गरेको र नियुक्त हुँदा ६० वर्ष ननाघेको व्यक्ति यसको अध्यक्ष वा सदस्य बन्न सक्नेछ ।
अर्थ मन्त्रालयको सचिवको संयोजकत्वमा रहने छनौट समितिको सिफारिसअनुसार नेपाल सरकारले अध्यक्ष र सदस्य नियुक्त गर्नेछ। राजस्व बोर्डमा नियुक्त भएका अध्यक्ष र सदस्यको पदावधि ४ वर्षको हुनेछ।


















