दार्चुला – राष्ट्रपति रनिङ शिल्डको अन्तिम दिन बुधबार साँझ प्रतियोगिता जितेको लटीनाथ माध्यमिक विद्यालयका विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ ।
स्थानीयका अनुसार गाउँपालिकाको वडा नम्बर २ का केही व्यक्तिले मादकपदार्थ सेवन गरी विद्यार्थीमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट लटीनाथ माध्यमिक विद्यालयका विद्यार्थी पावेल महरा, प्रकाश बिष्ट र दिनेश महरा घाइते भएका छन् । अन्य केही विद्यार्थीलाई सामान्य चोट लागेको छ ।
विद्यार्थीमाथि कुटपिट गर्ने खगेन्द्र ठगुन्ना, विनोद धामी, राजेन्द्र धामी तथा दिलीपसिंह धामीसहितलाई इलाका प्रहरी कार्यालय लटीनाथले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लटीनाथका इन्चार्ज कमल विष्टले भन्नुभयो –‘शिल्ड जितेर होटलमा खाजा खाइरहेका विद्यार्थीमाथि कुटपिट भएको रहेछ, कुटपिट गर्नेलाई नियन्त्रणमा लिइसकेका छौं, उनीहरुलाई कसुर अनुसारको कारबाही हुन्छ,’
कुटपिटमा संलग्नचार जनालाई नियन्त्रणमा लिइसकेको र अन्यको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।


















