–प्रीति रमण
मधेश केन्द्रीत दल राजपा र आफ्नो देशव्यापी संगठन विस्तार गर्न सफल भएको समाजवादी दलका धेरै जसो राजनीतिक एजेण्डाहरू मिल्ने भएकाले यी दुई दलहरू एकीकृत हुनुपर्छ भन्ने भावना धेरै पहिलेदेखि अभिव्यक्त हुँदै आएको सुनिन्छ । समाजवादी र राजपाबीच लामो समयदेखि एकताको चर्चा पनि चलिरहेको छ । यी दुई दलबीच थुप्रै एजेन्डाहरूमा समानता भएका कारण नै एकताको सम्भावना देखिएको हो । एकताका लागि दुवै दलका नेताहरूले आफूहरू तयार रहेको भन्दै आएका भएपनि एकता भने नहुनुलाई गम्भीर मान्न सकिन्छ । के–के आधारमा छलफल भएका छन् र कुन–कुन विषयमा कुरा नमिल्दा एकता हुन सकेको छैन भन्ने जानकारी बाहिर आउन सकेको छैन । अथवा अर्को कुनै शक्तिको कारण यी दुई दललाई एकता हुन नदिइएको त होइन ? यसबारेमा विभिन्न अड्कलबाजी पनि हुँदै आएको पाइन्छ । यथार्थमा भन्ने हो भने बाह्य स्वार्थ र बाह्य दबाबमा नलागेर चल्ने हो र नेपाल र नेपाली जनताको हितमा सोच्ने हो भने वैकल्पिक शक्ति निर्माणको आवश्यकता हाम्रो देशमा देखिएको छ । यसको परिपूर्ति गर्ने हैसियत तत्कालीन राजनीतिमा यी दुई दलबाहेक अरुसंग छैन ।
दुवै दल मधेश आन्दोलनको जगमा नेपाली राजनीतिमा उदाएका हुन् । थुप्रै पुराना तथा नयाँ नेताहरूले मधेशका जनताका इच्छा, आंकाक्षा र सपनालाई पूरा गर्ने प्रतिबद्धताका साथ यो स्थान प्राप्त गरेका हुन् । लामो समय केन्द्रीकृत शासन व्यवस्थाको मारमा मधेशका जनता पिल्सिँदै आएका थिए । भौगोलिक रूपमा सुगम भए पनि अझै पनि मधेश विकासको दृष्टिकोणले दूरदराज मान्ने गरिन्छ । मधेशका भित्री बस्तीमा अझै पनि रोग, शोक, भोक र असुरक्षाको अवस्था कायमै छ । जनता गरिबीको मारमा पिल्सिएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, यातायात, विद्युत्, सञ्चार जस्ता आधारभूत आवश्यकताहरू यहाँका जनताले अनुभूति गर्न पाएका छैनन् । राजपाले आफूलाई देशव्यापी बनाउन नसकेपनि समाजवादी दलको संगठन समानुपातिक पनि बनेको छ र देशव्यापी रूपमा विस्तार पनि भएको छ । समाजवादीसंग एकता गर्दा बित्तिकै राजपाको हैसियत पनि देशव्यापी बन्न सक्ने अवसर छ ।
तराई–मधेशमा व्याप्त समस्याहरूका कारण लामो समयदेखि यहाँका जनतामा ठूलो असन्तुष्टि थियो । जनतामा एकात्मक शासन प्रणालीप्रति ठूलो आक्रोश पनि थियो । त्यसकारण जनआन्दोलन लगत्तै भएका मधेश आन्दोलनमा यहाँका जनता सक्रिय रूपमा सहभागी भएका थिए । तिनै आन्दोलनको नेतृत्व गर्नेहरूले नै अहिले सत्ताको स्वाद चाख्न पाएका छन् । केन्द्रीय राजनीतिमा आफ्नो स्थान जमाउन पाएका छन् । जनताले लगाएको यो गुनलाई मधेशवादी दल र तिनका नेताहरूले भुल्नु हुँदैन । जनता मधेशवादी दलसँग कति आशावादी छन् भन्ने कुरा अहिलेको प्रदेश २ सरकारलाई हेरे पुग्छ । मुलुकका अन्य प्रदेशमा नेकपाको बहुमतयुक्त सरकार भइरहँदा यो प्रदेशमा भने मधेशवादी दल मिलेर सरकार चलाइरहेका छन् । जनताले मधेशवादी दल अत्यधिक विश्वास गरेको यो नमुना हो । यदि जनताको मनोभावनालाई बुझेर मधेशवादी दलले काम गर्ने हो भने अहिलेभन्दा धेरै जनमत पाउने स्पष्ट हुन सकिन्छ ।
अहिले जसरी जनमत पाइएको छ, त्यसलाई भरपूर सदुपयोग गर्न मधेशवादी दलहरू चुक्नु हुँदैन । प्रदेश २ सरकारले पनि अन्य प्रदेशभन्दा उत्कृष्ट काम गरेर जनताको मन जित्न जरुरी छ । दुई वर्ष पूरा गरिसकेको प्रदेश सरकारले बाँकी तीन वर्षमा आफ्नो सरकार गठनको औचित्य साबित गर्न सकेर मधेशका जनताको आधारभूत आवश्यकता पूरा गरी विकासको बीउ रोप्न सके मात्र पनि त्यसले पुनः जनतालाई मत दिने आधार बन्न सक्छ । तथापि प्रदेश २ को सरकारले जनताका समस्याहरूलाई अपेक्षित रूपमा सम्बोधन गर्न सकेको छैन ।
यस्तै अवसर मधेशवादी दललाई पनि छ । तर, अहिले मधेशवादी दलहरू विभाजित छन् । राजपा र समाजवादी पार्टीबीच एकता हुन नसक्दा मधेशको एजेन्डा पूरा हुन नसकेको र विखण्डनकारीहरूले आफ्नो स्वार्थ पुरा गर्ने आधार तयार भइरहेको छ । यसैकारणले तराई–मधेशका जनताका चाहना र शहीदहरूका सपना पूरा हुन नसकेको देखिन्छ । यसले जनतामाथि धोका त भएको छ नै, मधेशवादी दलको औचित्य र तिनका नेतामाथि पनि प्रश्नचिह्न खडा भएको छ । सत्ताको लोभमा परेर लामो समयदेखि मधेशवादी दलले आफ्नो अस्तित्वलाई बिर्संदै गएका छन् । विभिन्न शक्ति समूहको षड्यन्त्रका कारण मधेशवादी दललाई एकता गर्न नदिने, मधेशवादी मुद्दामा भड्काउने र असफल बनाउने कामहरू हुँदै आएका छन् । यसलाई अब समयमै बुझ्न र यस्ता षड्यन्त्रलाई असफल बनाउनका लागि पनि मधेशवादी दलहरूबीच एकता अपरिहार्य भइसकेको छ ।
शीर्ष नेताहरूले संविधान संशोधन, मधेश आन्दोलनमा जेलमा परेकाहरूको निशर्त रिहाइ र घाइते तथा मृत्यु भएकाहरूका परिवारलाई राहत लगायतका मुद्दा बोक्दै सरकारलाई सहमतिमा आउन आग्रह गर्दै आएका छन् । समाजवादी र राजपा यी दुवैले यही मुद्दालाई आफ्नो प्राथमिकतामा राख्दै आएका छन् । तर, सरकार भने यी विषयमा मौन रहँदै आएको छ । शक्ति कमजोर भएकै कारण सरकारले मधेशको हितमा संविधान संशोधन गर्न अटेर गर्दै आएको छ । किन सरकारले मधेशको एजेन्डालाई अस्वीकार गर्दै पुरानै सामन्ती सरकारको रवैया देखाइरहेको छ ? किन मधेशको मागलाई काठमाडौंको सरकारले सुन्न चाहिरहेको छैन त ? किन अझै मधेशलाई केन्द्रको शासनले हेपिरहेको छ ? यसमा मधेशवादी दलका नेताहरूले गम्भीर रूपमा विमर्श गर्न जरुरी छ । मधेशवादी चिन्तनबाट माथि उठेर समग्र नेपालको नेतृत्व गर्ने सोचका साथ शक्ति सुदृढ गर्न एकता आजको आवश्यकता हो । समाजवादी र राजपा दलहरू एकजुट नभएसम्म मधेशको आवाज सिंहदरबारले सुन्दैन भन्ने पनि अहिलेसम्मको अवस्थाले प्रस्टै पारेको छ । त्यसकारण समाजवादी र राजापाबीचको एकताको बाधक के हो ? त्यसलाई पहिचान र समाधान गरी एक भई अगाडि बढ्नु नै मधेशी जनताको माग हो र यो माग समग्र देशवासीहरूको मागका रूपमा अगाडि बढाउन यी दुई दल सफल हुनसक्नु पर्दछ । – [email protected] – जनधारणा साप्ताहिक


















