कोरोनाले ठप्प विकास निर्माणमा सरकारको चासो कम

93

– राज्यलक्ष्मी शाक्य

नेपालको उत्तरी छिमेकी देश चीन यतिबेला विश्वको मुख्य चासोको केन्द्रमा छ । २०१९ को अन्तिम चीनका लागि निकै दुर्भाग्य सावित भयो, जब ऊ नयाँ वर्षको उल्लासमा होमिने तयारीमा थियो, त्यही बेला चीनले कोरोना भाइरसको महामारीको सामना गर्नुप¥यो र सो क्रम हालसम्म पनि जारी रहेको छ । विश्वको बलियो देशको रूपमा उदाउने उत्कट लक्ष्यमा अग्रसर चीन २०१९ मा अमेरिकासँगको तिक्ततापूर्ण व्यापार सम्बन्धबाट ग्रुजियो । व्यापार युद्धको संघारमै आइपुगेका यी दुई देशबीच सम्बन्ध सुमधुर हुने क्रममा रहेका बेला चीनको हुवे प्रान्तको वुहान सहर डिसेम्बर अन्तिमदेखि हालसम्म नोबल कोरोना अर्थात कोभिड १९ को प्रकोपबाट आक्रान्त भएको छ ।

विश्वभर नै आतंक मच्याएको नोबल कोरोना प्रभाव नेपाली अर्थतन्त्रमा पनि देखिने सम्भावनालाई नकार्न सकिँदैन । नेपालको वैदेशिक व्यापारमा भारतपछि अग्रणी देशको रूपमा रहेको चीनसँग नेपाल धेरै कुरामा आश्रित छ । विद्युतीय उपकरणहरूदेखि कपडासम्म नभई नेपालको विकास निर्माणमा पनि चिनियाँहरूको सहभागिता उल्लेख्य पाइन्छ । नेपालका राष्ट्रिय गौरवका आयोजनादेखि रेस्टुराँसम्ममा चिनियाँ लगानी र कामदारहरू सहभागी छ ।

चीनले अहिले आफ्ना देशका नागरिकलाई चीन छाड्न रोक लगाएको छ । यसको नियन्त्रणमा चीनले गरेको प्रयास उल्लेखनीय भए पनि विश्वव्यापी रूपमा फैलिने त्रास पनि उत्तिकै देखिएको छ । नेपालका मानिसहरूमा यो भाइरसको संक्रमण नभएको भए पनि यसले मुलुकको विकास निर्माण र व्यापारमा प्रभाव पारेको छ । कतिपय आयोजनाको समय तालिका नै पर धकेलिने सम्भावना देखिसकेको छ ।

राष्ट्रिय गौरवका मुख्य दुई विमानस्थल निर्माणमा सहभागी चिनियाँ कामदारहरू नेपाल आउन नसक्दा चैतमध्यसम्म सम्पन्न हुने गौतम बुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलको काम केही महिना पर धकेलिने सम्भावना छ । त्यहाँबाट जनशक्ति नआउँदा र उपकरणहरू पनि नआउँदा निर्माणको अन्तिम तयारीमा रहेको प्रमुख आयोजना रोकिने सम्भावना देखिएको छ । नेपालका जलविद्युत् आयोजनादेखि सडक र विमानस्थल निर्माणमा उल्लेख्य रूपमा चिनियाँ कम्पनी तथा कामदारहरू सक्रिय देखिन्छन् ।

चिनियाँ नयाँ वर्ष मनाउन आफ्नो देश गएका चिनियाँ नागरिक नेपाल नआउँदा आयोजनाहरूको निर्माण कार्य नै रोकिने अवस्थामा छ । यसका साथै नारायणगढ बुटवल सडक विस्तार, रसुवागढी सडक, पोेखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजनालगायतमा चिनियाँ इन्जिनियर तथा कामदारहरू छन् । यसैगरी ठूला जलविद्युत् आयोजनाहरूमा पनि चिनियाँ लगानी तथा कामदारहरू छन् । त्यसमध्ये कतिपय कामदारहरू नेपालमै भए पनि आयोजना अघि बढाउने इन्चार्ज समेत चीनमै बन्देज हुँदा कतिपय आयोेजनाको काम हुन पाएको छैन ।

चीनमा देखिएका यो समस्या केही समयमै नियन्त्रण भयो भने विकास निर्माणमा ठूलो प्रभाव नपर्ने देखिन्छ । तर, यसले निरन्तरता पाएर नियन्त्रणमा आएन भने चीनका साथसाथै ऊसँग जोडिएको नेपालमा पनि उल्लेख्य प्रभाव पार्ने स्पष्ट छ । योजनाबद्ध पूर्वाधार विकासमा अग्रसर भएको नेपालमा ठूलाठूला आयोजनाहरू बनाउने गरी ठेकेदारको क्षमता अभिवृद्धि नगर्दा ठूला आयोजनाहरू जसलाई नेपालको गेम चेन्जर आयोजनाका रूपमा लिइन्छ, त्यस्ता आयोजनाहरू सिधै प्रभावित हुने कोरोना भाइरसले पुष्टि गरिसकेको छ । यसले गर्दा पनि नेपालले केही पूर्वतयारी गर्न पनि उत्तिकै जरुरी छ ।

विश्वमा हुने अनपेक्षित घटनाले पार्ने नकारात्मक प्रभावका विषयमा नेपालको तयारी सधैं कमजोर नै हुनेगर्छ । नेपालको व्यापार तथा अन्य विषयमा प्रत्यक्ष सम्बन्ध राख्ने देशमा केही हुनासाथ ठूलो असर पार्छ भन्ने दृष्टान्त २०७२ को नाकाबन्दीले देखाएको छ । यी घटनाहरूले नेपाल हरेक विषयमा आत्मनिर्भरता तर्फ उन्मुख हुन जरुरी देखाएको छ । अहिले नेपालमा हरेकजसो वस्तु, प्रविधि र दक्ष जनशक्तिका लागि अन्य देशको भर पर्नुपर्ने अवस्था छ । यसले मुलुकको पैसा बाहिरिने समस्या त छँदै छ, त्यसमाथि उनीहरूका मुलुकमा आइपर्ने समस्याको असर पनि नेपालले भोग्नुपर्ने जोखिम छ । वर्तमान सरकारले मुलुकको धेरै क्षेत्रमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ । त्यसलाई कार्यान्वयनमा ल्याउन भने उदासीन देखिँदै आएको छ । जसका कारण विकास निर्माणदेखि अन्य क्षेत्रमा असर पुग्दै आएको छ । – [email protected] जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here