नेपाली मौलिक संस्कृतिकोे अस्तित्व र पहिचानको सवाल

508

-जित क्षेत्री

हरेक देशको पहिचान त्यस देशको संस्कृतिले दिइरहेको हुन्छ । आफ्नो परम्परा, संस्कृति, चाडपर्व, मेला, उत्सव–महोत्सव आदिको मौलिकपनमा ती संस्कृतिको गरिमा झल्किन्छ । नेपाल आफैमा विभिन्न संस्कार संस्कृतिको धनी देश हो। जुन हिमाल, पहाड र तराईको भौगोलिक विविधताले भरिपूर्ण  पनि छ ।

जसरी एक बगैँचामा सयौंथरी रङ्गीबिरङ्गी फूलहरूले शोभा दिइरहेका हुन्छन्, त्यसरी नै यहाँ बहुजाति, भाषा, धर्मको बाहुल्यता समेत रहेको छ । यसले नेपाललाई सुन्दर बगैंचाको रुपमा पहिचानयुक्त बनाएको छ । जसरी मीठो धुनले थरीथरीका चराहरूको चिरीबिरीे आवाजको प्रतिनिधित्व गर्छ अनि मनलाई आनन्दित तुल्याउँछ त्यसरी नै मेरो देशमा बोलिने १२९ किसिमका भाषाले अनेकतामा एकताको सन्देश बुलन्द गरेको छ ।

अनेकौं मठ–मन्दिर, गुम्बा–घ्याँङ, मस्जिद र गिर्जाघरबीचको निकटताले यो देश साँच्चै मनमोहक छ भन्ने सञ्चार गरिरहेको छ । यहाँ अनेकौँ चाडपर्व, रीति–रिवाज, मेला–महोत्सव र जात्राको रौनकताले त झनै हाम्रो देशको अस्तित्व विश्वसामु छलङ्र्ग पारेको छ । हिमालय पर्वतसँगै अनेकौँ मुहानबाट फुटेका पवित्र जलाधार जस्तै यहाँ अनेकौँ परम्परा र मान्यता प्रचलनमा रहेका छन् । यसै जगमा नेपाली समाजको मौलिक संस्कार–संस्कृतिले  नेपाली तनमन र भावनालाई एउटै मालासरी जोडेर राखेको छ । हामीले मनाउने अनेकौं परम्परा तथा चाडवाडहरु सच्चिकै अलौकीक छन्, जसले त्यसको महत्व र ऐतिहासिकतालाई उजागर गरिरहेको छ । नेपाली समाजको अनेकतालाई एक अर्कासँग गाँसेर राखेको छ । त्यति मात्र होइन एक देशप्रेमीे मनमा एक अर्काप्रतिको अगाध सद्भाव र भाइचारा सम्बन्ध जोगाएर राखेको छ ।

तर पछिल्लो समयमा हाम्रो मौलिक संस्कृतिमाथि पाश्चात्य संस्कृतिको प्रभाव बढ्दै गएको कारण हाम्रा मौलिक परम्परा, चाडपर्व तथा चालचलन विकृत बन्दै गएको महसुस भइरहेको छ । हामीले खाने खाना, लगाउने वेशभूषा, अपनाउने रहनसहन र बोल्ने बोलीचालीमा समेत पाश्चात्य संस्कृतिको व्यापक प्रभावले रैथाने संस्कृति ओझेलमा पर्दै गएको छ । आधुनिकता र सभ्यताको नाममा अरूको संस्कृतिको नक्कल बढ्दो छ । पूर्खाले मनाउदै आएको संस्कृतिको मर्ममाथि ठाडै प्रहार भएको हो कि भन्ने भान भइरहेको छ  ।

मौलिकता तथा संस्कृति भन्ने कुरा यस्तो हो कि, जुन भावी पिढींलाई हस्तान्तरण गर्नु पर्ने अमूल्य निधि हो । यो सस्ंकार र गहना पनि हो जुन जस्ताको तस्तै सुिम्पनु पर्ने हुन्छ । हाम्रा मौलिक गीत–संगीत आदि पनि पाश्चात्य प्रभावले गर्दा ओझेलमा पर्दै गइरहेका छन् । रैथानेपनको सट्टा अंग्रेजीमै रमाउने प्रवृत्तिले आज विद्यालयका बालबालिका भाषा शुद्ध बोल्न र लेख्न समेत नसक्ने अवस्थामा पुगेका छन् । यो आज सबैले सोच्नु पर्ने तथा गहन चिन्तन मनन गर्नु पर्ने विषय पनि हो । हाम्रो राष्ट्र भाषा नेपाली नबोली, आमा, बा, काका, काकी, भाइ, भतिजा जस्ता मौलिक लवज बोल्दा अपठित र असभ्य भइन्छ भन्ने मानसिकता बढेर गएको छ ।  आज भोलिका अभिभावकले आफ्ना नानी बाबुको मन मस्तिष्कमा अंग्रेजी भाषालाई प्रतिस्थापन गरिसकेका छन् । आफ्ना सन्ततिलाई मौलिक भाषाभेष, कला, साहित्य र परम्परा अनुसरण गराउने भन्दा अवमुल्यन गराउन प्रोत्साहित गरिरहेका हुन की भन्ने आशंका पैदा भएको छ ।

नेपालीको आफ्नै पहिचानको पर्व वैशाख १ गते नयाँ वर्ष मनाउन छाडेर अंग्रेजी नयाँ वर्ष मनाउन भने विभिन्न पार्टी गर्ने, धुमधामका साथ रमाउने गरेका छन् । यस्तै अनेकौं कारणहरुले गर्दा भावि दिनमा हाम्रो देश पहिचान नै नरहने पो हो की भन्ने कुरामा दुईमत छैन । किनकी, कुनै पनि देशको अस्तित्व त्यस देशको शनातन संस्कार–संस्कृति नै हो । जब संस्कृति लोप हुन्छ या अतिक्रमण बढ्छ त्यसबेला हामीले आफ्नोपन गुमाउँछौं । सस्ंकृति विलिन भएर जानु भनेको पहिचान लुप्त हुनु हो ।

दशैं, तिहार, माघी र शिवरात्री जस्ता चाडवाडको वास्ता त्यति सारो कसैले गरेको पाइँदैन तर क्रिसमस डे आउनुभन्दा केही दिन अगाडीबाटै निकै तामझामका साथ मनाउने जुन संस्कृतिको विकास भएको छ त्यसले हाम्रो मौलिकतामा प्रहार गरेको छ । नयाँ पुस्तालाई ठिमाहा संस्ककृतितर्फ आकर्षित गराइ रहेको छ । यस किसिमका अभ्यासले हाम्रो पूर्वीय पन र मौलिकतामाथि खतरा समेत बढ्दै गएको छ । धर्म परिवर्तन गरेकै भरमा आफ्नो देशको संस्कृतिको चटक्कै माया मारेर परसंस्कृति अपनाउनुमा सायदै कसैमा पनि हिनताबोद्य देखिदैन । देशको मुल कानुन संविधानले नै धर्म निरपेक्षताको मान्यता आत्मसात गरे पनि यतिबेला देशमा प्रलोभनमा पारेर जबरजस्ती रुपमा धर्मान्तरणको अभ्यास भइरहेको छ । धर्मका सवालमा मानवले स्वेच्छाले चाहे अनुसारको धर्म मान्न पाउने मौलिक अभिकारको प्रत्याभूति मुल कानुनमै गरिएकोे विषय हो । तर, त्यसको मतलव यो होइन कि, पाश्चात्य संस्कृतिलाई अन्धाधुन अपनाउने साघँुरो सोचको कारण हामी हाम्रा पुर्खाको नासोलाई अवमुल्यन गर्ने कोशिस त गरिरहेका छैनौं भन्ने प्रमुख प्रश्न हो ।

 नवीन र सभ्य देखिने नाममा अन्धभक्त बनेर पाश्चात्य संस्कृतिप्रति मोहित हुनुभन्दा पनि आफ्नै मौलिक र वौदिक संस्कार तथा रितिरिवाजलाई जीवन्त बनाउने कार्यमा लाग्नु हरेक आम नेपालीको पहिलो दायित्व पनि  हो । नत्र भने  हाम्रो संस्कृति र परम्परा कुनै दिन इतिहासको पानामा बाहेक दैनिक जीवनमा अभ्यास गर्न नपाउने स्थिती बन्न सक्छ ।

आज विश्वका महाशक्तिशाली देशहरुमा पनि संस्कृतका ग्रन्थ, वेद,पुराण,     गीता अध्ययन अध्यापन गरिन्छ । यस्ता दर्शनले देश दुनियालाई अग्रगमनतर्फ डोर्याइरहेको छ । तर त्यसको ठीक विपरित हामी भने आफ्नो मौलिक धर्मदर्शनका साथै परम्परादेखि चल्दै आएको भाषा, कला र ज्ञानको भण्डारलाई उपेक्षा गरिरहेका छौं । नेपाली संस्कार संस्कृतिको अनुशरणमा केही विकृति विसंगतिहरू झांगिदै नआएका पनि होइनन् । तर त्यस्ता विकृतिहरुलाई मिल्काउन छाडेर हामी भने परधर्म र संस्कारलाई आँखा चिम्म गरेर अनुशरण गर्नमा तछाडमछाड गरिरहेका छौं । कतिपय त्यस्ता रुढीवादी सोच तथा परम्पराले सिंगो नेपाली मौलिकताई दोषरोपण गर्नु मात्र समाधान होइन, त्यभित्रको असीमित ज्ञानको भण्डार पहिचान गर्न सक्नुमै पूर्खाले आर्जेको सनातन संस्कृतिको अस्तित्व जोगिने हो ।

विकृत संस्कृतिलाई शुद्ध गर्नेतर्फ सबैको हातेमालोको आवश्यकता छ । त्यस किसिमको अभ्यासले नै नेपाली समाजमा जागरण पैदा गर्छ । विद्यालय, विश्वविद्यालयका पाठ्यक्रममा देशको संस्कृति सम्बन्धी विषयवस्तु समेटिन जरुरी छ । होईन भने, ‘नेपाली हामी रहौंला कहाँ नेपालै  नरहे, उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ’ भन्ने राष्ट्रकवि माधव प्रसाद घिमिरेको उद्गारझंै किताबका पानामा खोज्नु पर्ने दिन नआउला भन्न सकिंदैन । तसर्थ, नेपाली मात्रको पहिचान भनेकै हाम्रो सनातन संस्कृति र सभ्यता हुन् ।  यिनको मौलिकता संरक्षण तथा प्रबद्र्धन गर्नु हरेक चेतनशिल नेपालीको प्राथमिक दायित्व हुन आउँछ । जसको कारण नेपाली संस्कृति सदैव चिरस्थायी र अनुकरणीय बन्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here