कामपाले ६ महिनामा विकासबजेट खर्च गर्न सकेन

235

काठमाडौं – काठमाडौं महानगरपालिका (कामनपा) ले ६ महिनाको अवधिमा विकासका लागि छुट्ट्याएको बजेट खर्च गर्न सकेको छैन । यस आर्थिक वर्षमा महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत ५४ करोड ७९ लाख ६७ हजार रुपैयाँ छुट्याएको थियो । तर, पुस मसान्तसम्म महानगरले जम्मा ९२ हजार ४ सय रुपैयाँ मात्र खर्च गरेको छ । जसलाई प्रतिशतमा हेर्दा ०.०२ प्रतिशत भएको छ । जुन एकदमै न्यून खर्च हो । शहरी सुव्यवस्था विभागअन्तर्गत ०.७४ प्रतिशत मात्र खर्च भएको छ । यस विभागअन्तर्गत सार्वजनिक यातायात सुधार, सडकमा सूचना बोर्ड राख्ने, सहरमा सौन्दर्य कायम गर्ने, पार्किङ व्यवस्थापन, फुटपाथमा राखिने पसलको व्यवस्थापनलगायत कार्यक्रम राखिएको थियो । तर, बजेट खर्चको अवस्थाले कार्यक्रममा प्रगतिको अनुमान लगाउन सकिन्छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत ०.१६ प्रतिशत मात्र खर्च भएको छ ।

यस्तै, भौतिक पूर्वाधार विकासका लागि छुट्याएको रकममध्ये जम्मा १४ प्रतिशत मात्र खर्च भएको छ । महानगरका मुख्य काम भौतिक पूर्वाधारअन्तर्गत पर्छन् । सडक निर्माण, फुटपाथ व्यवस्थापन, ढल निर्माण, खोला करिडोर निर्माण, पार्क निर्माण, आकाशे पुललगायत धेरै काम यस विभागअन्तर्गत छन् । तर, खर्चको स्थिति हेर्दा यस्ता कामको अवस्था सन्तोषजनक नभएको देखिन्छ । सहकारी व्यवस्थापनमा पुस मसान्तसम्म बजेट रकम १ प्रतिशत पनि खर्च गर्न सकेको देखिँदैन । महानगरले शिक्षा, सामाजिक विकास, सहरी सेवा विकास कार्यक्रमलगायतमा अन्यको अनुपातमा बढी खर्च गरेको देखिएको छ । पुस मसान्तसम्म सबैभन्दा बढी सामाजिक कार्यक्रममा ३६ प्रतिशत रकम खर्च गरेको छ।

जम्मा बजेटमा महानगरले अहिलेसम्म करिब ३० प्रतिशत मात्र खर्च गरेको हो । यसरी ६ महिनासम्म पनि बजेट खर्च नगरेर अन्तिम असार मसान्तमा मात्र खर्च खर्दा कामको गुणस्तरमा शंका उत्पन्न हुने गरेको छ । तर, महानगरका प्रवक्ता ईश्वरमान डंगोलले खर्च कम भए पनि काम भने अगाडि बढिरहेको जानकारी दिनुभयो । धेरै काम ढिला सुरु भएकाले अहिले खर्चको अवस्था कम देखिएको डंगोलको धारणा छ । ‘खर्चको आधारमा हेरेर कामै नभएको भन्न मिल्दैन,’ उहाँले भन्नुभयो, ‘धेरै काम अगाडि बढेका छन् ।  तर, कामको रकम भुक्तान हुन बाँकी छ । जसले गर्दा खर्च कम भएको देखिएको हो ।’

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलगायत अन्य प्रदेशअन्तर्गत कार्यक्रममा भने माथिबाट बजेट निकासा ढिलो भएकाले पनि खर्च हुन नसकेको प्रवक्ता डंगोलले जानकारी दिनुभयो । धेरै काम भर्खर सुरु भएको र अबको चार महिनामा लगभग ७० प्रतिशतभन्दा माथि काम हुने उहाँको दाबी छ । तर, हरेक वर्ष राजस्व लक्ष्यअनुरूप उठाउने तर बजेट खर्च भने नहुने अवस्था देखिएको छ । महानगरसँग करिब पाँच अर्ब बैंकमा मौज्दात छ । महानगरको राजस्व विभागका अनुसार ६ महिनामा करिब ३५ प्रतिशत राजस्व संकलन गरिसकेको छ । राजस्व संकलनको अवस्था लक्ष्यअनुरूप रहेको महानगरपालिका राजस्व विभागका निर्देशक शिवराज अधिकारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here